‘नेशनल डे कन्सर्ट’ सम्पन्न

दर्जा दोस्रो सरि परिचय दिँउ म किन ?

परिचय दिँउ म किन ?

दर्जा दोस्रो सरि,

अस्तित्व फेरूँ किन ?

तिम्रै पेवा सरि ।

 

फगत बेहोसिमा चेत् गुमाएकाहरू,

होसियार 

देख्छौ कि उर्लिएको वेग,

तिमीले पोतिदिएको पाखण्ड पखाल्न,

प्रकृति विध्वशं मच्चाउँछे,

हो प्रकृति विध्वशं मच्चाउँछे,

अनि पालुवा पलाउँछे त्यहीँबाट ।

 

कति जले यहाँ सती,

कति दबाइए योगमायाहरू,

कति लुटिए निर्मलाहरू,

लावारिश छोडिए सिताहरू,

कति कर्ण त्यागे कुन्तीहरूले,

अपसोच, 

गल्तीहरूका पल्ला नाप्दै तिमी उभिई रह्यौ ।

 

तर पनि,

उदाई रहे द्वारिका देवी,

लेखिरहे पारिजात,

चम्किरहेछन् भृकुटी,

उचाइ चुमिरहेछन् पासाङ्ग,

काल टेक्दै जुरमुराइ रहे देवी,

बदलिँदो युग सरि रूप फेर्दै ।

 

तिमीले पहिराएको चुरा घन्काउँदै जुट्दै छन्,

होसियार,

उठ्दै छन् हातहरू, बज्दै छन् ताली,

थेग्न नसकी कम्पन,

फुट्दै छन् चुराहरू, उघारिँदै छन् दृष्टि ।

 

लक्ष विहीन निराधार सपना छैनन्,

दरिलो पाइला धर्ती मै टेकी,

जिम्मेवार नागरिकको दायित्व बोकी,

जुट्दै छन्,

सहअस्तित्व अँगाल्ने समतामूलक समाजका निम्ति ।

 

प्रकृति र समाजको अभिन्न अङ्ग म,

अब भन, 

दर्जा दोस्रो सरि परिचय दिँउ म किन ?  

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ४ : ३५ बजे