सुनको मूल्यमा नयाँ कीर्तिमान

देउवासहित १ सय ४६ सांसदको रिट निवेदन खारेज गर्नुपर्छ : एमीकस क्युरी पाठक

काठमाडौँ । संवैधानिक इजलासले झिकाएको एमीकस क्युरीकी सदस्य उषा मल्ल पाठकले रिट निवेदन खारेज गरेर निर्वाचनमा जानु उत्तम विकल्प रहेको बताउनुभएको छ ।  

प्रतिनिधिसभा विघटन विरुद्ध शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिट निवेदनका सुनुवाइका लागि गठित इजलासमा स्वतन्त्र राय दिनुहुँदै पाठकले संसद विघटन संवैधानिक भएको भन्दै रिट निवेदन खारेज गर्नु पर्ने राय दिनुभएको हो 

संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री नियुक्त हुन नसकेको अवस्थामा काम चलाउ प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको सिफारिस र राष्ट्रपतिको निर्णय संवैधानिक दायित्व भएकाले संवैधानिक नै रहेको उहाँको राय थियो । सरकार गठनको विकल्प रहेसम्म प्रतिनिधिसभा विघटन नहुने सर्वोच्च अदालतले यसअघि भनिसकेकाले त्यसमा थप भनिरहन नपर्ने पनि पाठकको भनाइ थियो ।  

संविधानको ७६ को उपधारा ५ को व्यवस्थालाई स्वतन्त्र रूपमा मान्न नहुने पाठको राय थियो । उहाँले केपी शर्मा ओलीले एमालेको तर्फबाट प्रधानमन्त्रीमा दाबी गरेको अवस्थामा एमालेका सांसदहरू प्रतिपक्षी दलका सांसदलाई समर्थन गर्नु ठीक नभएको बताउनुभयो  । उहाँले संविधानको धारा ७६ को उपधारा ५ लाई स्वतन्त्र मान्ने हो भने दलीय व्यवस्थाको अवमूल्यन हुने राय दिनुभयो । उक्त व्यवस्थाले राजनीतिक दलहरूलाई एकपटकका लागि सरकार गठन गर्न संसद्मा अन्तिम अवसर दिएको रूपमा व्याख्या हुनुपर्ने उहाँको राय थियो । 
संवैधानिक इजलासमा एमीकस क्युरीले राय दिने क्रम जारी रहेको छ । 
 

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ४ : ०७ बजे