सुनको मूल्यमा नयाँ कीर्तिमान

रोजगारीका लागि भौँतारिएका मगर बने नमुना कृषक, आफु मात्र हैन परिवार नै बन्यो स्वरोजगार

ओखलढुंगा । नैनाबहादुर मगर सुनकोसी गाउँपालिका वडा नं. १ का अगुवा किसान हुन् । सानो लगानीमा व्यवसाय सुरुवात गरी सफलता प्राप्त गरिरहेका मगर गाउँपालिका भित्रका नमुना कृषकमा गनिन्छन् । परम्परादेखि पाल्दै आइरहेको बङ्गुर पालनलाई सुधार गरी मगरले बङ्गुर, कुखुरा र माछा पालन गरिरहेका मात्र छैनन् यसै पेसाबाट मनग्य आम्दानी गर्नसमेत सफल भइरहेका छन् । 

केही बर्ष अघिसम्म गरिबीको रेखा मुनी रहेको मगरको परिवारलाई घर खर्च धान्न गाउँका साहुँहरुसँग महँगो ब्याजमा ऋण काट्नु पर्ने समस्या थियो । परिवारको ऋण बढेपछि मगरले १० बर्ष अघि गाउँ नै छोडेर विदेश भासिनु पर्‍यो । ५ वर्षसम्म कतारको गर्मीमा लेभरको काम गरेका मगरले विदेशमा कमाएको पैसाले साहुँहरुको ऋण तिरे । लामो समयसम्म घरपरिवार नभनी विदेशमा काम गरेका मगर सानैदेखि आफ्नै खेतबारीमा केही गर्ने सोच भएपनि रकम अभावकै कारणले विदेश भासिनु परेको बताउँछन् । 

 

‘पाँच वर्षसम्म विदेशमा काम गरेर केही कमाएर गाउँमा लिएको ऋण तिरेपछि स्वदेशमै केही गर्ने सोचले म नेपाल फर्किए’ मगरले भने । गाउँमै सानो पसल राखेर खेतबारीको काम गर्न थाले । गाउँको पसलले पनि भनेजस्तो आम्दानी दिएन । बरु परम्परागत कृषि पेसाबाटै आम्दानी हुने देखेपछि मगरले आफ्नै जग्गामा व्यवस्थित तरिकाले माछा र बङ्गुर पाल्ने सोच बनाए । युवा स्वरोजगार कोषबाट आफु र आफ्नो आफ्नो भतिज देवेन्द्र मगरले दुई– दुई लाख ऋण लिएर उनले आफ्नै बारीमा बङ्गुरको लागि खोर र माछाको लागि पोखरी बनाए । बाँकी रहेको ठाउँमा उनले लेर्यस जातका कुखुरा समेत पाल्न सुरु गरे ।  आज यही पेशाले मलाई आनन्द दिएको छ, कुनै समय रोजगारी खोज्न भौँतारिएको म र मेरो परिवार अहिले स्वरोजगार भएको मगरले सुनाए । 

माछा पालनसम्बन्धी त्यति राम्रो ज्ञान नभएका कारण अघिल्लो पटक हालेको माछाले लगानी मुस्किलले मात्र उठेको बताउने मगर यत्तिखेर भने धेरै खुसी छन् कारण यसपालि उनले पालेको माछा धेरै राम्रोसँग हुर्किरहेका छन् । प्राविधिकहरूको कुरा नसुन्दा अघिल्लो पटक झण्डै घाटा नै व्यर्होनु पर्ने अवस्थामा थिए तर यसपालि धेरै राम्रो आम्दानी हुने अवस्था छ उनले भने । 

सुरुमा दुई वटा बङ्गुरबाट व्यवसाय सुरु गरेका मगरको खोरमा यत्तिखेर ८ वडा माउ र एउटा भाले बङ्गुरहरू छन् । मगरले विशेषगरी बङ्गुरका बच्चाहरू उत्पादनको काम गरिरहेको बताए । सुरुमा एउटा माउ बङ्गुरका लागि ६० हजार रुपैयाँसम्म पर्ने मगरले बताए । माउ बङ्गुरले एक पटकमा दुई देखि १५, १६ बटा सम्म बच्चा नजमाउने गरेको उनले सुनाए । एउटा हुर्कँदै गरेको बङ्गुरको बच्चा तीनदेखि पाँच हजार रुपैयाँसम्ममा विक्री गर्ने गरेको मगरले सुनाए । बच्चा बिक्री नभएमा पनि बङ्गुर मासुका लागि सजिलै बिक्ने गरेको मगर बताउँछन् । बजारको कुनै समस्या छैन महिनामा एक दुई वटा त यही गाउँमै मासुका लागि काटेर बेच्न सकिन्छ, कहिल्यै काहीँ बढी नै उत्पादन भयो भने काठमाडौँबाटै अर्डर आइरहेको हुन्छ उनले सुनाए । बङ्गुरले भाले लागेको चार महिना पुगेर पाँच महिना लाग्दा बच्चाहरू नजमाउने गरेको मगरले बताए । सानो रकम हुनेहरूका लागि बङ्गुर पालन व्यवसाय अति नै उपयोगी हुने मगर बताउँछन् । 

पहाडको ठाउँमा माछा पालनका लागि पोखरी बनाउँदा भने धेरै नै खर्चिलो हुने मगरको अनुभव छ । माछाका लागि चाहिँ धेरै नै खर्च भयो तर यसपालि माछा राम्रो उत्पादन भएकाले गरेको लगानी नडुब्ने उनले सुनाए । कोरोनाको कारण लकडाउन भएपछि पाल्दै आइरहेको कुखुरा व्यवसायलाई भने मगरले केही समयका लागि रोकेको सुनाए । बरु यो समयमा कुखुराको सट्टा भैँसी पाल्ने सोंचमा छु,मगरले भने । दुई वटा लैनो भैँसी पाल्ने योजनाका साथ काम गरिरहेको मगरले बताए । युवा स्वरोजगारको सानो रकमले यत्ति धेरै परिवर्तन ल्याउँला भन्ने आफूले सुरुमा नसोचेको मगर बताउँछन् । सानो रकमबाट पनि आफु र आफ्नो ७ जनाको परिवार स्वरोजगार भएकोमा मगर दङ्ग छन् । रोजगारीका लागि परिवारसँग विछोटिएर हजार रुपैयाँ कमाउनु भन्दा १००,५० कम नै भएपनि गाउँमै आनन्द हुने मगरको अनुभव छ । खेर गइरहेको बाँझो जमिनलाई पौरखी हातहरूको मेहनत परे सफलता निकाल्न कुनै गाह्रो नभएको मगरको बुझाई छ । मगरको कामले उनी मात्र हैन उनका वरपरका सबै जना प्रशंसा गर्छन् । गाउँपालिकाले उनको काम देखेर अनुदान समेत दिएको मगरले सुनाए । राम्रो गर्न सके सबैले वाहवाह गर्ने रहेछन् यत्तिखेर मलाई सबैले प्रशंसा गरिरहेका छन्, खुसी लाग्छ मगरले भने । 

कामको खोजीमा रहेका युवाहरूलाई मगर युवा स्वरोजगार कोषले सहकारी मार्फत वितरण गरिरहेको सस्तो ब्याजको रकम लिएर काम गर्न सुझाव दिन्छन् । सानो रकम भनेर खेलाँची गर्नु हुँदैन, सस्तो ब्याजमा उपलब्ध हुने सानो रकमले पनि ठुलो परिणाम दिनसक्ने मगरको सुझाव छ । मगरले सञ्चालन गरेको श्रीकृष्ण कृषि फर्म यस क्षेत्रकै नमुना फार्म रहेको कोषका कर्मचारी हरिप्रसाद लुइँटेल बताउनुहुन्छ ।

​​​​​​​

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १ : ४४ बजे