साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

भारतीय किसानको अभूतपूर्व आन्दोलन र यसको भविष्य

भारतको मोदी सरकारले बनाएका किसान बिरोधी तीन  नयाँ कृषि कानुनहरुका बिरुद्ध भारतीय किसानहरु दिल्ली वरिपरीको सीमामा गत बर्षको २६ नोभेम्बरदेखि लगातार आन्दोलनरत रहँदै आएका छन् । कुनै राजनीतिक नेतृत्वको प्रत्यक्ष  हस्तक्षेप बिनै स्वतःस्फूर्तरुपमा यो आन्दोलन चलिरहेको देखिन्छ । बिभिन्न बामपन्थी र लोकतान्त्रिक किसान संगठनहरुका नेता मिलेर संयुक्त मोर्चाले यस आन्दोलनलाई  दिशा र गति दिइरहेको छ । तर घोषितरुपमा आन्दोलनको कुनै नेता देखिदैन ।

बास्तबमा किसान आन्दोलनको इतिहासमा यो अनौठो दृष्य नै हो । किनभने यो आन्दोलनमा भारतभरीकै किसानहरु सामेल भइरहेका छन् । अनि यसमा बुढाखाडा किसान, महिला किसान र यूवा किसानहरु प्नि उत्तिकै संलग्न देखिएका छन्  । बितेको सात महिनायता यो किसान आन्दोलनलाई भारतक अनेकौं समाजसेवी संस्थाहरुले र स्वयंसेवी कार्यकताहरुले पनि बिभिन्न किसिमले सहयोग गरेर समर्थन गरिरहेका छन् । एकदमै कडा जाडो, भतभत पोल्ने गर्मी जस्तो सुकै कठीन मौसमको पनि सामना गर्दै भारतीय किसानहरु आफ्नो मागमा दृढतापूर्बक डटिरहेका छन् ।

गएको २६ जनवरीको किसान आन्दोलनलाई षडयन्त्रमा फँसाएर बद्नाम र दमन गर्न खोजेको घटनालाई बिर्सिदिने हो भने भारतको यो अभूतपूर्ब किसान आन्दोलन पूर्णतः अहिंसक र शान्तिपूर्ण रहेको छ ।

यद्यपि मोदी सरकारले प्रहरीको डर देखाउने, आन्दोलनलाई समाज बिरोधी करार गर्ने, देश बिरोधी देखाउने र साबित गर्ने कुटील हत्कण्डा अपनाउने सबै प्रयत्न गरेको छ र गरिरहेको छ । तिनै फत्तुरको आधारमा आन्दोलनकारीहरुमाथि पानीका फोहोरा छोड्ने, अश्रुग्यास हान्ने, डकमा खाल्डा खनाउने, किला ठोक्ने आदि अनेक दमनकारी हत्कण्डा अपनाउँदे आएको छ । तर यति गर्दा पनि किसान आफ्ना मागबाट टसका मस यताउता भएका छैनन् । यस प्रकारको अद्भूत आन्दोलनमाथि अर्को एक पटक पुनः हिसाको दाग भर्खरै  लगाउन खोजिएको छ ।

यस क्रममा गएको बुधवार जूनको अन्तिम दिन दिल्लीको गाजीपुर सीमानामा आन्दोलनरत किसान र सत्ताधारी भारतीय जनता पार्टीका समर्थकहरु बीच हात हालाहाल भयो भने कतिपय बाहनहरु प्नि तोडिए । त्यो परिदृष्यलाई भारतमा निकै भाइरल पनि गराइयो । यस सम्वन्धमा के भनिन्छ भने त्यस दिन बिहान १० बजेतिर भाजपाका केही कार्यकर्ता तिनका नेता अमित बाल्मिकीको स्वागतमा आन्दोलन स्थल नजिकै खडा भएका थिए । ढोल नगरा आदि बजाएर स्वागत गर्दै थिए ।

किसानले प्रदर्शन स्थलको नजिकै डिस्टर्भ भयो भनेर आपत्ती जनाएका थिए र कालोझण्डा देखाउन शुरु गरेका थिए । हेर्दा हेर्दै दुबै तिरबाट मारपिट शुरु भयो । भाजपवालाहरुले आन्दोलनरत किसानहरुमाथि यसको दोष थोपर्न थाले र भने कि हामीले आफ्ना नेतालाई स्वागत गरिरहँदा किसान नेता राकेश टिकैत आफ्ना साथीहरु लिएर आए र उनीहरुका हातमा भएको फलामका डण्डाले गाडीहरु तोडफोड गर्न थाले । उनीहरुले किसानमाथि करीब ७०÷८० वटा गाडी तोडफोड गरेको आरोप लगाए ।

अर्कातिर आन्दोलनरत किसानहरुले भने त्यहाँ आन्दोलनस्थलमा पुगेका भारतीय जनता पार्टीका कार्यकर्ताहरुले किसान बिरोधी नारा लगाउन थालेपछि मात्र मारपिटको स्थिति पैदा भएको बताए । भाजपाका कार्यकर्ताहरु किसानलाई अपमानजक शब्द बोल्दै थिए र किसानहरुले त्यसको प्रतिबाद गर्दै थिए । अनि भाजपावलाहरुले किसनाहरुमाथि ढुंगा हान्न शुरु गरे । जसले गर्दा त्यहाँ घटना घट्न गएको हो ।

यस सम्वन्ध संयुक्त किसान मोर्चाका प्रबक्ता जगतार सिंह बाजवाले के प्रष्ट  गरेका छन् भने गाजीपुर सीमानमा किसानहरले जिल्ला प्रशासन तथा सरकारी अधिकारीहरुलाई समेत भाजपा कार्यकताहरुलाई आन्दोलन स्थलबाट हटाइनु पर्ने सूचना पनि दिइसकेका थिए । किनभने तिनले स्वागत र्यालीको नाममा त्यहाँ आन्दोलनरत किसान बिरोधी हंगामा मच्चाउन थालेका थिए ।

पहिला लाल किल्लामा किसान आन्दोलनलाई बदनाम गर्ने यस्तै षडयन्त्र गरिएको थियो । यो दोश्रो त्यस्तै षडयन्त्र हुनसक्छ र आन्दोलनरत किसानमाथि दमन र दबाव सिर्जना गर्ने निहुँ बनाउन खोजेको हुनसक्ने किसानहरुले सन्देह प्रकट गरेका छन् । किनभने पहिला पनि गाजीपुर सीमा क्षेत्रबाट आन्दोलनरत किसानहरुलाई हटाउने सरकारले पूरै तयारी गरिरहेको थियो तर राकेश टिकैतको आखाँमा छचल्किएको आँशुले किसान आन्दोलनलाई नयाँ किसिमले ऊर्जा र जीबन्तताको संजीवनी दिएको थियो ।

यो सालको जनवरीदेखि लिएर जून महिनासमेत बितिसक्यो तर पनि किसानहरु आफ्ना जायज माग लिएर सरकारसँग बार्ता हुने र समस्या समाधान हुने अपेक्षाकासाथ प्रतिक्षा गर्दै आन्दोलनमा डटिरहेका छन् । सरकारले किसानहरुसँग बार्ता गर्ने कुरा पनि गर्ने गर्यो । प्रधानमन्त्री मोदीले त बार्ता एक कल फोन जतिको दूरीमा मात्र रहेको समेत दाबी गरेका हुन् । तर भारतीय मोदी सत्ताको यो कस्तो हठी प्रबृत्ति  हो अहिलेसम्म त्यो एक कल फोनको दूरी समाप्त भएको छैन । अन्दोलन सातौ महिनामा पुगिसकेको छ भन्ने प्रश्न पनि उठिरहेको छ ।

शायद मोदी सरकारले मानेको थियो होला कि सत्ताले तिरष्कार र  उपेक्षा गरिरहँदा आन्दोलनरत किसानहरु थाकेर हैरान भएर फर्किनेछन् । तर पटक पटक किसानहरुले आन्दोलनमा खडा भइरहने दम देखाइदिए र देखाइरहेका छन् । बास्तबमा सरकारको किसानप्रतिको उपेक्षाको असर पश्चिम बंगालको प्रान्तीय र उत्तरप्रदेशका स्थानीय निकाय पञ्चायतका चुनावहरुले पनि देखाइदिएको थियो ।

अब उत्तरप्रदेशको बिधान सभाको पनि चुनाव हुने बताइदैछ । त्यसमा पनि भारतीय किसानहरु पश्चिम बंगालमा जस्तै एकताबद्ध हुने धेरैको अनुमान छ । यो गाँजीपुर सीमामा हिंसा भड्काएर किसान आन्दोलनलाई तितरबितर पार्ने षडयन्त्र बिरुद्ध किसानहरु जसरी प्रस्तुत भए त्यसले मोदी सरकार तिल्मिलाएर किसान बिरुद्ध हिंसामा उत्रिएको भारतका बिश्लेषकहरु औंल्याइरहेका छन् ।

गाजीपुरको त्यो घटनामा आफुहरुले कुनै गाडी तोडफोड नगरेको र ढुंगामुडा नगरेको तर अब यसरी कोही गाडी लिएर किसानलाई जिस्क्याउन र आन्दोलन भाड्न आउँछ भने तिनका गाडी यो बाटोबाट छिर्न दिइने छैन भनेर आन्दोलनकारी किसानहरु आन्दोलन अझ तेज बनाउने दिशामा अडिग देखिदैछन् । उनीहरु गोली, लठीको सामना गर्न तयार रहेको र किसानको मञ्चतिर आउने भाजपाई कार्यकर्ताहरुमाथि एक्शन लिइने बताएर आन्दोलन अझ चर्काउने सुर कसिरहेको देखिदैछ ।

किसान नेता राकेश टिकैतका अनुसार किसानहले आफ्नो मञ्चमा भाजपाका को झण्डा फहराउन् र भाजपा नेताको स्वागत गरुन् भन्ने चाहन्थे । उनीहरु यसरी किसान आन्दोलनको मञ्च आफ्नो कब्जामा लिन चाहन्थे । तीन दिनदेखि बेग्ला बेग्लै क्षेत्रबाट उनीहरु त्यहाँ आइरहेका थिए र भारतीय पुलिसले पनि सबै त्यो देखे जानेकै कुरा थियो र तिनकै साथ दिइरहेको थियो ।

किसान नेताले एकदमै प्रष्ट के पारेका छन् भने उनीहरुले कसैको गाडीमा डुंगा फालेका र तोडफोड गरेका छैनन् । यस्तो आरोप लगाउने र किसानको मञ्च कब्जा गर्ने कसैले पडयन्त्र गर्छ भने किसान रमिता हेरेर बस्ने छैनन् । किसानले जे प्रतिबाद गरेका छन् त्यको छानबिन हुनु पर्दछ भन्ने माग भारतमा उठिरहेको छ । पुलिसले सरकारी पार्टीको साथ दिएर किसानलाई दबाउने र उनीहरुमाथि भिडाउने कुरा गरेको हो भने यसको छानबिन हुनु पर्ने कुरा पनि त्यहाँ उठिरहेको छ । कुरा स्पष्टै छ कि त्यहाँ आन्दोलनरत किसानहरु छन् । अनि त्यही भाजपाका कार्यकर्ताहरु एकत्र हुन किन दिइयो,किन रोकिएन भन्ने किसान नेताहरुको आरोपलाई सिधै कसैले खारेज गर्न पनि सक्तैन ।

यस्ता जनताका आन्दोलनहरुमा घुसपेठ गराउने, भड्काउने र अन्ततः दबाउने सरकारी रबैया भारता पहिला पनि भएको भनेर शाहीन बागदेखि लिएर जामिया मिलिया तथा जवाहरलाल बिश्वबिद्यालयसम्ममा यस्ता प्रकरण भएको औंल्याउने गरिदै आएको शान्ति भंग गर्ने कोशिश गरेर आन्दोलनलाई बद्नाम गर्ने प्रयत्नहरु सरकारले गर्दै आएको उदाहरणहरु दिइने गरिएको छ ।
    
अहिले पछिल्लो समयमा एसीको चीसोमा गद्दीमा सुतिरहेको राकेश टिकैतको फोटो हालेर किसान आन्दोलमा प्रश्न पनि उठाइएको थियो । यसबाट किसान सधैं गरीब र दीनहीन नै रहिरहनु पर्दछ भन्ने भारतीय समाजको एक सानो अभिजात बर्गीय तप्का रहेको  देखिन्छ भने किसानका मागहरु पूरा गरेर किसान र राष्ट्रको हित हुने कुरासँग यो बर्ग सधै किन तर्सिन्छ र तर्किन्छ  भन्ने गम्भीर प्रश्न पनि खडा भइरहेको छ । बिश्लेषहरु यो कर्पोरेट पूँजीको किसान बिरोधी कसरतकै करामत हो भन्ने निष्कर्श निकालिरहेका छन् । यसमा परिबर्तन बिना किसान आन्दोलन नरोकिने स्थिति र अझ सशक्तरुपमा उठ्ने देखिदैछ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १२ : ३७ बजे