साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

जननेताको डाहा गर्नेहरू

नेकपा (एमाले) का तत्कालिन महासचिव जननेता मदनकुमार भण्डारी २०५० साल जेठ ३ गते चितवन जिल्लाको दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा नपरी जीबित रहनु भए अहिले ७० वर्षको हुनुहुन्थ्यो । जननेताको भौतिक अनुपस्थितिका २८ वर्षहरू राजनीतिक तथा सामाजिक दृष्टिले उल्लेखनीय रहेका छन् । उहाँ हुनुभएको भए यहाँका राजनीतिक घटना तथा परिघटनामा उहाँले के कस्तो भूमिका निर्वाह गर्नु हुन्थ्यो होला भन्ने अड्कलबाजी पनि विश्लेषकहरूले गर्दै आएकै छन् । त्यसो त उहाँको भौतिक शरीर हामीबीच नभए पनि उहाँका मार्गदर्शनहरूले नेपाली राजनीतिक परिवेशलाई जनमैत्री बनाउन योगदान पु¥याइरहेको सर्वत्र महसुस गरिएकै विषय हो । विहानको झुल्के घामले त्यस दिनको मौसमको बारेमा अड्कल गर्न मद्दत गर्छ भनेझैँ युवावयका नवीन विचारकले देशप्रेमप्रति जागरण, राष्ट्रियताको सम्बद्र्धन, २०४६ सालको ऐतिहासिक संयुक्त जन–आन्दोलनको सफल उठान तथा वैठान एवं आमूल सामाजिक परिवर्तनको आन्दोलनलाई मार्गदर्शन गर्न मौलिक सिद्धान्त प्रतिपादन गरेर जनसमक्ष प्रस्तुत गर्नुभएको व्यवहारबाट नै उहाँ एक अद्वितीय र परिपक्व राजनेताको रूपमा हाल कार्यसम्पादन गरिरहनु भएको हुन्थ्यो भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ । 

नेपालको इतिहासमा अभूतपूर्वरूपमा मानव सागर उर्लेर उहाँको अन्तिम संस्कारमा सामेल भएको परिदृष्य, उहाँको स्मरणमा देशका गाउँगाउँ, टोलटोल र कुनाकुनासम्म स्वस्फूर्तरूपमा भएका श्रद्धाञ्जली तथा शोकसभामा प्रकट जनसमुदायको संकल्प, उहाँको अवसानपछि रिक्त निर्वाचन क्षेत्रमा सत्तारुढ दल नेपाली कांगे्रसका प्रमुख नेतालाई पराजय गर्दै एमालेका उम्मेद्वारको शानदार विजय, उहाँको निधनमा भुइँमान्छेदेखि टाकुरामा बसेका मानिसले समेत देखाएको सहानुभूति र समवेदना, उहाँको हत्या नै भएको हो भन्ने आम जनसमुदायको दृढ विश्वास, उहाँको मृत्युमा अन्तर्राष्ट्रिय जगतको गम्भीर ध्यानाकर्षण र सहानुभूति, उहाँले प्रतिपादन गर्नुभएको नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) को सत्यापन भुसको आगो झैँ जनमानसमा फैलावट, एमालेको बढ्दो लोकप्रियतासहित व्यापक संगठन विस्तारजस्ता आयामहरूले जननेता नेपाली समाजको कायापलटको कुशल नेतृत्व गर्नसक्ने व्यापक संभावना भएको जनप्रिय नेता हुनुहुन्थ्यो भन्ने कुराको सुस्पष्ट संकेत गर्दछन् । 

जननेताको सक्रिय नेतृत्वसहित बलिदानीपूर्ण संघर्षबाट प्राप्त बहुदलीय राजनीतिक प्रणाली जनस्नेहपूर्वक वामे सर्दै जबजको मार्गदर्शनमा नेपाली कम्युनिष्ट आन्दोलन लोकप्रियताको शीखरमा उक्लिरहेको परिवेशमै अर्थात् उहाँको निधन भएको दुई वर्षपछि नै उग्रवामपन्थी जडसुत्रवादी तप्काले कथित ‘जनयुद्ध’ नामको हिंसात्मक क्रियाकलापको शुरुवात गर्नु संयोग मात्रै थिएन । बरु यो त सोभियत मोडेलेको समाजवादले गम्भीर धक्का खाएपछि माक्र्सवादको सिर्जनात्मक प्रयोगको रूपमा विकसित भई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा नै नयाँ आयाम थप्न सफल जबजको विस्थापनका विरुद्धको प्रपञ्च र षड्यन्त्र थियो । अनि थियो त– जननेताले स्थापित गर्नुभएको राष्ट्रियता, देशप्रेम र सामाजिक सहिष्णुताको भावनाद्वारा ओतप्रोत धरोहरहरूलाई विश्रृङ्खलित तुल्याएर मुलुकलाई राजनीतिक अस्थिरता, अविकास र हिंसाको दक्षिणन्थी भासमा जकडाइरहने कुटिल चाल ! 

शताब्दीनायक तथा जननेताको भौतिक अनुपस्थितिका पाँच वर्षमा नै जननिर्वाचित प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको रूपमा उपस्थिति भइसकेको जनआधारित कार्यकर्ता भएको उहाँले नेतृत्व गरिसक्नुभएको एमालेको विभाजन गराइयो, केही वर्षभित्र विभाजित दुई दलको एकीकरण त गरियो तर अहिले फेरि यो पार्टीभित्र विवाद चुलीमा पु¥याइएको छ । जननेताको नासोको रूपमा प्राप्त भएको पार्टीको प्रतिष्ठा र प्राणलाई धुलिसात पार्न पार्टी बाहिर रहेको उग्रवामपन्थी धङ्धङी भएको एउटा तत्व क्रियाशील छ भने एमालेको सुन्दर भविष्यमा बुुर्जुवा सुधारवादी दलको भविष्य कमजोर देख्नेहरू समेत फुटाउ र शासन गर भन्ने योजनामा सामेल भएको देखिन्छ । यस्तो बेलामा जननेताले हुर्काएको आदर्श, मूल्य र मान्यतामा विश्वास गर्ने तथा जबजका हिमायतीहरूले अभूतपूर्व एकता दर्शाएर सबै किसिमका षड्यन्त्रहरूलाई विफल पार्न अग्रसर हुनुपर्ने आवश्यकता सर्वत्र महसुुस गरिएको छ । 

विशिष्ट किसिमको राजनीतिक, आर्थिक, सामाजिक तथा भौगोलिक परिवेश भएको देशमा आमूल सामाजिक परिवर्तन गर्न अवलम्बन गरिएको विचारलाई अन्धानुकरण गर्दै त्यसैलाई ‘माओवाद’ भनेर हिंसात्मक द्वन्द्वमा यस मुलुकलाई एक दशकसम्म फसाइयो । फलस्वरूप हजाराँै हजार नेपाली नागरिकको अनाहकमा ज्यान गुम्यो, व्यापक भौतिक संरचना तथा पूर्वाधारको क्षति भयो, हजारौँ बाबु आमाको कोख रित्तियो र हजारौँले अपाङ्ग बन्नु प¥यो । वर्गीय समस्या समाधान हुँदै जाँदा नै जातिय समस्या र लैङ्गिक विभेद पनि अन्त्य हुँदै जान्छ भन्ने माक्र्सवादको सार्वभौमिक सच्चाइलाई नजरअन्दाज गरियो र ‘माओवादी क्रान्तिकारीता’ को नाममा जातीय तथा साँस्कृतिक सहिष्णुता र सद्भाव भड्काउने असफल प्रयास गरियो ।  जननेताको व्यक्तित्व र उहाँद्वारा प्रवद्र्धित एमालेप्रतिको ईश्र्या र डाहा तथा सत्ताप्राप्तिको चरम महत्वाकांक्षा जस्ता मनोवेगहरूले सामाजिक सद्भाव भड्काउन तथा हिंसा चर्काउन मलजल गरेपनि अन्ततः यी कुराहरू उनीहरूका निम्ति प्रत्युत्पादक बन्दै गएका थिए । जननेतासँग भेटघाट त भूमिगत कालमा नै भएको हो तर अलि राम्ररी कुरा हुन पाएको भए यो उग्रवामपन्थी भड्कावमा मुलुक फस्दैनथ्यो भन्ने कुरा अभिव्यक्त भएको कुरा सबैले बुझेकै हो । वास्तवमा यो भनेको जननेताको विराट व्यक्तित्व र बदलिएको विश्व परिवेशमा जबजले हासिल गरेको निर्विकल्पताको परिणति नै हो । 

२०१७ सालमा निरंकुश पञ्चायती व्यवस्था लादिएपछि त्यसलाई समाप्त पारेर लोकतन्त्र स्थापना गर्ने बारेमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टीले नेपाली कांग्रेससँगै मिलेर आन्दोलन अगाडि बढाउन सकिन्छ भन्ने दृष्टिकोण लिएको थियो तर नेपाली कांगे्रसले वामपन्थीहरू सँगसँगै आन्दोलनमा जान सकिँदैन भन्ने धरणा राख्दै आएको थियो । परिणामस्वरूप संयुक्त आन्दोलन सञ्चालन हुनसकिरहेको थिएन । नेपालको वामपन्थी आन्दोलन सँधै मानव अधिकार, नागरिक स्वतन्त्रता र लोकतन्त्रको पक्षमा रहेको यथार्थता जननेताले सशक्तढङ्गले प्रस्तुत गर्दै निरंकुशता विरोधी आन्दोलनलाई कम्युनिष्ट–कांगे्रसले संयुक्त रूपमा अगाडि बढाउनु पर्छ भन्ने निष्कर्ष २०४६ सालमा निकाल्नु भएको थियो । उहाँले भूमिगत रूपमै कांग्रेसका नेताहरू गणेशमान सिंह तथा कृष्णप्रसाद भट्टराईसँग सम्पर्क कायम गर्दै अब लोकतन्त्रका निम्ति आन्दोलन गर्ने बेला आएको कुरा बताउँदै सशक्त पहलकमी लिनु भयो । उहाँकै नीतिगत अगुवाइमा वाममोर्चाको निर्माण भयो र काग्रेससँग मिलेर निर्दलीय पञ्चायती व्यवस्था विरोधी संयुक्त जन–आन्दोलन चर्काइयो र सफलता मिल्यो । संघर्ष उठान गर्ने र त्यसलाई विकास गरेर सफलताको निर्णायक तहमा पु¥याउने श्रेय पनि जननेतालाई नै जान्छ । यसरी नेपालमा संयुक्त जन–आन्दोलनको उठानसम्बन्धी दृष्टिकोण प्रष्टसँग राखेर त्यसको सफल कार्यान्वयनमा जननेताको ऐतिहासिक योगदान रहेको सबैलाई ज्ञात भएकै विषय हो । 

करिब तीन दशक अघि भएको रहस्यमय जीप दुर्घटनाको अहिले सम्म पनि सत्य तथ्य पत्ता लाग्न सकेको छैन । यो दुःखको विषय हो । यस विषयमा जननेताले नेतृत्व गर्नुभएको पार्टी एमाले द्वारा रहस्य पत्ता लाउन ठोस पहल नगरेको आरोप विपक्षी दलहरूले ऐन मौकामा लगाउँदै संवेदनशील भावनामाथि प्रहार गर्न खोजेको देखिन्छ । वास्तवमा कतिपय यस्ता रहस्यमय हत्याका घटना हुन्छन् जसको यथार्थता वर्षौ पत्ता नलागको इतिहास पनि विश्वमा छ । त्यसैले यो विषय कसैका पक्ष र विपक्षमा प्रहार गर्नलाई उपयोग गर्नुभन्दा पनि सबै दलको साझा विषय हो भन्ने ठान्नु पर्दछ । यस दायित्वबाट कोही पनि पन्छिन मिल्दैन । अनुसन्धानबाट आएका निष्कर्षहरूलाई केलाउँदै र आवश्यक पर्दा शुरुकै अवस्थाबाट पनि अपराधको अनुसन्धानमा लाग्नु सम्बद्ध सबैको जिम्मेवारीको विषय हो । आशा गरौँ, जननेताको जन्मजयन्ती मनाइरहँदा यस विषयमा सबैको थप ध्यान पुगेको खण्डमा जननेताप्रति न्याय र सम्मान नै गरेको ठहरिनेछ । 

नेपाली कम्युनिष्ट आन्दोलनको सफलतासहित यस देशलाई एक स्वाधीन र समुन्नत राष्ट्र बनाउन तथा सामाजिक न्याय प्रदान गर्दै शोषणरहित समाज निर्माण गर्न जबजलाई अँगाल्दै सबै कम्युनिष्टहरू यसैको वरिपरि एकजूट हुनुको विकल्प छैन । अब जननेताको भौतिक शरीर छैन, उहाँ प्रतिष्पर्धामा आउने होइन, नेतृत्व लिने होइन, अनि उहाँद्वारा प्रणीत विचार पनि सहि छ भने कम्युनिष्ट पार्टीका नाउँमा अलग चुला चौका खडा गर्नुको कुनै औचित्य छैन । अन्यत्र भौतारिएर काल्पनिक शान र मान खोज्दै हिँड्नुको साटो जननेताको योगदानको सम्मान गर्नुमा नै कम्युनिष्ट आन्दोलन, देश र जनताको भलो हुने निश्चित छ । 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ३८ बजे