सुनको मूल्यमा नयाँ कीर्तिमान

स्वरोजगार कोषले ‘जिरोबाट हिरो’ बनायो

पुर्व माओवादी लडाकु राजकुमार चापागाई यतिबेला जिल्लाकै चर्चित बेकरी व्यवसायी बनेका छन् । विर्तामोड नगरपालिका वडा नम्बर ४ मा रहेको लक्ष्मी बेकरी उद्योगमा अर्डर लिने र दिने कार्यमा उनलाई भ्याइ नभ्याई छ । माओवादी जनयुद्धताका राजकुमारपनि लडाकु बनेर हिँडे । श्रीमती रुपा चापागाईका अनुसार उनीहरु दुबै श्रीमान श्रीमतीनै पुर्व लडाकुमा लागेका थिए । माओवादीबाट शैक्षिक अवकास पाएपछि के गर्ने भन्ने रनभुल्लमा थियौं रुपाले भनिन् । ‘लडाकु भएर हिडदा के गर्ने, के नगर्ने सवै मेलोमेसो हराएको थियो, आफुसँग कुनै विकल्पपनि थिएन, साना नानीहरु थिए धन्न स्वरोजगार कोषले दुईलाख ऋण दियो र व्यवसाय शुरु भयो ।’

अहिले बेकरीको बजार राम्रो छ । बेकरीबाट नै चारजनाको परिवार पालेर मासिक डेढलाखभन्दा बढि आम्दानी हुने गरेको रुपाले बताईन । उनी भन्छिन,‘ जागिर थिएन, कसैले ऋण पत्याएनन्, बेकरी तालिम लिएर स्थानिय धौलागिरी पारिजात बहुउदेश्य सहकारी संस्थाबाट लिएको दुइलाख ऋण नै हाम्रा लागि उद्यमी बन्ने बाटो बन्यो ।’ अरुबाट ऋणलिँदा व्याजकै समस्या हुनेथियो तर स्वरोजगारकोषले दिलाईदिएको सस्तो व्याजले कामगर्न सजिलो भएको उनले सुनाईन् । 

रुपाको बेकरीमा केक, ब्रेट, बिस्कुट, पप, डुनट, पाउरोटीका विभिन्न प्रकारका बेकरी मिठाइ बन्छन् । बजारमा डुनट, ब्रेट र केकको बढी माग रहेको छ । झापाको स्थानिय बजार विर्तामोड, चन्द्रागिरी, सुरुङ्गा, खुदुनावारी, धुलावारी, हडिया बुधवारे लगायतको बजारमा उनीहरुले बनाएका बेकरी आइटमहरु विक्रि हुने गरेका छन् । उनीहरुले उत्पादन गरेका बेकरीका सामानहरु बेच्नका लागि टाढा–टाढाबाट साइकल, ठेलागाडा, बाइक, सिटीहरु होलसेल दाममा लिन आउँछन् । 

अहिले राजकुमार र रुपाले बेकरी उद्योगमा ७ जना युवालाई रोजगारी पनि दिएका छन् । मासिक २० देखि ३५ हजार तलब दिएर उनीहरुले कामदार राखेका छन् भने बेकरी व्यवसायको आम्दानीले विराटनगर र इटहरीमा दुईवटा घडेरी पनि जोडेका छन् । ताजा र मिठो बेकरीका नामले चर्चित लक्ष्मी बेकरीबाट नै उनीहरुले मनग्गे आम्दानी गरेको सुनाउँछ् । रुपा भन्छिन, हामी त पुरै हराएका थियौ , स्वरोजगार कोषले दिएको पैसाले ‘जिरोबाट हिरो’ भयौं । 

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ५ : ११ बजे