सुनको मूल्यमा नयाँ कीर्तिमान

चितवन आसपासका नदीमा पानीको बहाब बढ्यो

काठमाडौं । अविरल वर्षाका कारण चितवनको नदी तथा खोलाहरुको सतह वढ्दा नदी तटीय क्षेत्रका बस्ती तथा होटलहरुमा जोखिम बढेको छ । सबैभन्दा ठूलो जोखिम पर्यटकीय क्षेत्र सौराहामा छ भने सौराहा नजिकैको बाघमाराका २० घर अहिले डुबानमा छन् । बुढी राप्ती खोलाले डुवानमा परेका वाघमाराका बासिन्दाको उद्धार भैसकेको जनाइएको छ ।

सौराहा हुँदै बगेका राप्ती, बुढी राप्ती, ढुँग्रे लगायतका नदी तथा खोलामा पानीको सहतह बढ्दा सौराहामा जोखिम बढेको हो । खोलाहरुमा पानीको सतह बढ्दै गएसँगै सौराहाका होटलहरुल भुइँतलामा रहेका समान अहिले सुरक्षित गर्नेतर्फ लागेका क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलियाले बताउनुभयो ।

”अहिले हामी हाम्रा समान डुबानबाट कसरी वचाउन सकिन्छ भन्ने सतर्कता अपनाउँदै समानहरु सुरक्षित ठाउँमा सार्ने काम गरिरहेका छौ”, उहाँले भन्नुभयो, “यदि डुवान भै हालेमा उद्धारकालागि नेपाली सेनाले डुङ्गा सहितकोे जनशक्ति तयारी अवस्थामा राखेको छ ।”

सौराहामा ११० वटा पर्यटकीय होटल रहेका छन् । यस्तै राप्ती नदी तटमा रहेका मेघौली, जगतपुर र पटिहानीका होटलहरु पनि अहिले डुवानको जोखिममा छन् । नारायणी नदी तटमा रहेका नाराणगढ, गैडाकोटदेखि शिवघाट, मेघौलीसम्मका नदी तटीय क्षेत्रका होटल तथा बस्तीहरु पनि डुबानको जोखिममा छन् । चितवनमा पछिल्लो तीनदिन दखि अविरल पानी परिरहेको छ । रत्ननगर—८, बाघमारामा सुकुम्बासी बस्तीमा बुढी राप्तिखोला पस्दा त्यहाँ फसेका सबैको उद्धार गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी उपरिक्षक इन्द्र रानाले बताउनुभयो । यस्तै, रत्ननगर—१६ स्थित कयर खोलामा आएको बाढीमा बगेको स्कुटर र महिलाको स्थानीयले उद्धार गरेका छन् ।
 

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  १२ : ५९ बजे