दमौली । मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ ।
पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।
लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो । “पहिरो झरे पनि साना सवारी सञ्चालन भइरहेका थिए, १२ चक्के गाडीले जबरजस्ती हालिदिएपछि लेदो माटोका कारण सवारी फस्यो,” उहाँले भन्नुभयो, “त्यसलाई हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको छ ।”
उक्त सवारी हटाउन जेसीभीका लागि सडक कार्यालयसँग समन्वय गर्न खोजे पनि सम्पर्क हुन नसकेपछि स्थानीय व्यक्तिको जेसीभी ल्याएर काम गर्न शुरु भएको उहाँले बताउनुभयो । रासस
प्रकाशित मिति : १६ असार २०७८, बुधबार ८ : २४ बजे
प्रतिक्रिया