नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, महत्वपुर्ण निर्णय हुनसक्ने

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बिहान ११ बजे बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तयारी गरिएको छ । बैठकबारे कुरा गर्दै एमाले नेता सुबासचन्द्र नेम्बाङ्गले पार्टी एकताका लागि वार्ता र पहलहरु भईरहेको र यो निरन्तर चल्ने पनि बताउनुभयो ।

आज बस्ने दशौं महाधिवेशन आयोजक कमिटीको बैठकको सन्दर्भमा पार्टीको आगामी कदमबारे  टुंगो लगाउन सकिने भनाइ नेम्वाङको छ। उहाँले विगतदेखि नै पार्टी एकता नभएसम्म दुवै पक्षबीचमा निरन्तर छलफल र संवाद जारी रहने बताउनुभयो ।

यस्तै निवर्तमान मन्त्री एवम् एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पार्टी एकताका लागि हर तहको प्रयास जारी रहने बताउनुभयो । पार्टीमा शतप्रतिशत नेता, कार्यकर्ता समेट्ने लक्ष्य रहेको तर शतप्रतिशत नसमेटिए पनि अधिकतम् नेताहरु समेट्दै पाटी अघि बढ्ने तामाङले बताउनुभयो ।

पार्टीको आगामी बैठक र कदमहरुबारे दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले नै तय गर्ने उहाँको भनाइ छ। नेपाल पक्षले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र आफ्नै पार्टीको बहुमतको सरकारलाई हराउने जस्ता पार्टीको विधान विपरीतका कामहरु प्रदेश सरकारहरुमा समेत फ्लोर क्रस गराउनेसम्मका कामहरु हुँदा समेत पार्टी अध्यक्ष ओलीले हदैसम्मको लचकता अपनाएर पार्टी एकता जोगाउन खोजेको तामाङले भन्नुभयो । 

 यस्तै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले स्थायी कमिटी बैठकले पुरानो केन्द्रीय समिति ब्यूँताउने निर्णय लिएको जानकारी दिनुभयो । २०७५ जेठ २ कै संरचनामा पार्टीलाई फर्काउँदै असार १८ गते केन्द्रीय कमिटीको बैठक डाकिएको छ । सो बैठकमा तत्कालिन सबै केन्द्रीय सदस्यलाई डाकिने जनाइएको छ । 

एमाले एकताका लागि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका दोस्रो तथा युवा पुस्ताका नेताहरुले पार्टी एकताका लागि प्रयास गर्दै आउनुभएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ८ : ०८ बजे