प्रिय छोरी,
तिमी ज्ञानि हुनु तर केवल आज्ञाकारी नहुनु,
भनेको केहि नमाने पनि हुन्छ तर सबै मान्ने गल्ती कदापी नगर्नु,
यो संसारिक माया जालमा महात्मा कोहि छैनन्,
हरेकका आफ्नै स्वार्थमा रोमल्न खोज्नेछन् तिमीलाई,
सिद्धार्थ गौतमले पनि समाजको र परिवारको लागि ठूलो गल्ति गरेरै बुद्ध बनेका हुन्,
सबैले आ-आफ्नो अनुभवबाट सिकेका कुरा नै तिमिलाई सिकाउने छन्,
समाज जस्तो छ तिमिलाई त्यस्तै बन्न सिकाई रहने छन्,
तर छोरी !
सधैँ एउटा कुरा सम्झिनु,
तिमी ती होईनौ र ती कहिल्यै तिमी हुन सक्दैनन्,
सबैको आफ्नै बाटो छ,
समय त केवल धैर्य गर्न नसक्नेले कल्पना गरेका हुन्,
तिमी त अनन्त छौ,
यो चक्रमा लामो समय देखि घुमिरहेकि छौ,
तिम्रा हरेक निर्णयको महत्व छ, अस्तित्व छ,
ठिक र बेठिक त केवल परिस्थिति हुन्छ,
तिम्रा हरेक विचारको कारण छ,
तिम्रा हरेक प्रश्नको उत्तर छ,
भौतिक संसारको उत्तर खोज्न भौतिक वस्तु मै खोज्नु,
तर शान्तिको उत्तर केवल तिमी आफैले दिन सक्छौ,
शरिर त नाशवान् छ छोरी,
रहन्छ त केवल ज्ञान उर्जाको माध्यमबाट,
छोरी !
अब भन,
मेरा यी सबै अर्तिहरु चुपचाप मान्छ्यौ कि आफ्नै तवरले जीवन अनुभव गर्दै जाँदा प्रश्न गर्दै जान्छौ ?
प्रकाशित मिति : १५ असार २०७८, मंगलबार ३ : ४६ बजे
प्रतिक्रिया