साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मदनस्मृति दिवस र सम्भावित भगौडाहरूको कुलद्रोह

मदन स्मृति दिवस सप्ताह अहिले चल्दै छ !  मार्क्सवादको नेपाली माटो र विश्व परिवेश अनुरुप सिर्जनात्मक प्रयोग गर्ने महान् नेताको जन्म दिन ! बन्दुकको नालबाट सत्ता ल्याउँछु भन्दै संसदीय व्यवस्थाका समर्थकहरूको हत्या शृङ्खलामा १७ हजारको नरसंहार खरबौँको भौतिक सम्पत्तिको विनाश गर्नेहरू पनि लोत परेर र आफ्ना सन्तान र नाइके आफूहरूकोज्यान जोगाउन बहुदलीय जनवादकै विचार पथलाई पछ्याइ संसदीय खेलमैदानमा खेल्छु भन्दै लुरुलुरु आएको ६२/ ६३ को त्यो घटना पनिआजको दिनमा झल्झल्ती याद आइहाल्दो रहेछ !  यद्यपि बारबुँदे नामको गद्दारी गरेर नेपालको आत्मनिर्णयको अधिकारलाई दिल्ली दरबारमा बुझाई कागज गरेर आउने कुलाङ्गारहरू गणतन्त्रको मसिहा भन्दै उफ्रन छाडेका छैनन् र त्यसैको नुनको सोझो गर्दै कम्फर्टेबल सरकारका लागि निर्वस्त्र भएर नाचिरहेछन् ! 

विचित्रको कुरो के छ भने, यस घडीमा बहुदलीय जनवादकै प्रवर्तक मदन भन्डारीका सहकर्मी र उहाँको रहस्यमय अवसान पछिका तत्कालीन बम्परचिट्ठे उत्तराधिकारी माधव कामरेडलाई आज कम्फर्टेबल गठबन्धनको एक लडाकूका रूपमा नियुक्त गरेको खबर सुन्नु परेको छ ।हालसालैका पत्रकार सम्मेलनहरूको बोडी ल्याङ्ग्वेजबाट कामरेड प्रचन्डको नेतृत्वका एक मामूली कार्यकर्ता झैँ देखिनु भएका देउवाज्यूले माधव नेपाललाई आफ्नो सङ्गठन अर्थात् “भूतपूर्व प्रधानमन्त्री संगठन”को लडाकू बनाएदिनु भएछ । बधाइ छः कामरेड !  वयोवृद्ध लडाकु हुनुभएकामा ! ! !  जे भएपनि त्यहाँबाट निस्कँदा अयोग्य लाडाकूको बिल्ला भिर्न नपरे हुन्थ्यो उहाँले, तर त्यो त उहाँले नभिरी सुखै नहोला !  आफ्नो सहकर्मी आज यसरी सम्भावित अयोग्य लडाकुपथमा यात्रा गर्दै गरेको दृश्यले मदनको आत्मा कस्तो भयो होला! 

उहिलेउहिले आफूलाई बहुदलीय जनवादका व्यख्याता भन्न रुचाउने एकजना पीध नभाको लोहोटाजस्तो नेतो र राष्ट्रिय सभा सांसद पनि छन् क्यारे !   अझै आश्चर्यको कुरो के छ भने बहुदलीय जनवादमा पिएच् डी गरेका भनिएका तिनै भुसालले आजै मदनस्मृति दिवसका दिन एमाले छाडेको घोषणा गरे रे !  सायद भुसालजीको पिएच् डी पनि दाना बिनाको भुस, पपटा वा पतइ पो थियो क्यार !  कामरेड प्रचन्डको माधव कामरेडसँग ‘डिपलभ’परेको त लभरले नै उहिल्यै सर्वजनिक गर्नु भएकै हो !  आज त्यै लभ कतै विवाहमै रूपान्तर पो हुन लाग्या हो कि भन्ने प्रशस्त कुलक्षणहरू निज पिएच् डीको पार्टी परित्याग लगायतका घटनाबाट देखिएका छन् । बेहुलारबेहुलीसहितको जन्तीको लर्को जानभन्दा पहिला भत्खौरू गएझैँ यो राजीनामा मार्फत्  भुसालजी दहीको ठेकी बोकेर भत्खौरू पो गएका हुन् कि भने जस्तो देखिँदो छ !  ओलीले एमाले कुनै हालतमा जेठ दुईमा फर्काउँदैनन् भनेर त्यै माग गरेका उनलाई जेठ दुईमा फर्कनै लाग्दा चाहिँ ऐठन भएर सारै पासो पो परे जस्तो छ !  

अझ अनौठो कुरो के छ भने आज मदन भन्डारीको स्मृति दिवसका दिन कोटश्वरबाट मदन भण्डारी प्रति सम्झना गर्दै बृहत् कम्युनिस्ट गठबन्धन बनाउने भनेर खोक्दै वक्तव्य पनि आएछ ! हिजै मात्र मेरा लडाकू भनी शेरबहादुरजीले आफ्नो लडाकूका रूपमा नियुक्त गरेका व्यक्तिले बृहत् कम्युनिस्ट गठबन्धन बनाउने कुरा गर्दा र संसदीय व्यवस्थाका बेला सो व्यवस्था मार्न त्यसका होनहार कार्यकर्ता र गरिब देशका भौतिक संरचना सखाप पार्नेबाट लोकतन्त्रको ट्युसन पढ्दै गृहकार्य बोकेर भौँतारिएको लोकतान्त्रिक पार्टीको दुर्दशा देख्दा विडम्बना नमान्ने को होला ! 

काङ्ग्रेससँग “भवति भवति भिक्षाम् मे देही” भन्दै गिडगिडाएर भिख मागेका दुईचार सिटको आकास खेतीबाट उब्जेको बृहत् कम्युनिस्ट गठबन्धनको झार चर्को घामले लल्याकलुलुक भएपछि बल्लचेत खुल्ने होला क्या र ! 

मदन भन्डारीद्वारा प्रतिपादित बहुदलीय जनवादमा हुर्केका र त्यसैलाई मलजल गरेका केही मालीहरू अहिले पार्टी मिलाउने नाममा धम्मरधुससँग लागे पनि अलिक धरमरका अवस्थामा नै देखीन्छन्  । होलान् !  उनीहरूको मिसनद्वारा प्रतिपादित यो पथबाट विचलित हुने छैनन् । पहिले पार्टी फुटाएर फुटानी गर्दै बुर्कुसी मार्दै हिँडेकाहरूलाई फेरि बोसो लागेर पुनः पार्टी फुटाउने फुटानी गर्दै हिँड्नु त उनीहरूको नानीदेखि लागेको बानी नै हो क्यारे !  जजसको जे अनुभव छ त्यसत्यसले त्यही त गर्ने हो क्या र !  आफ्नो घरको भान्सामा पाकेको भात खान वा पकाएर खान नसकेर कलोको लोभमा पटकपटक भौँतारिनेहरूलाई सुम्सुम्याउनु सम्म सुम्सुम्याएर पोहो कि सारै बेसुरमा  बोल्न थालेजस्तो छ ! 

अन्त्यमा बहुदलीय जनवादको विचारपथ र नेकपा एमालेको गौरवमय कुलमा कालो दल्ने कुलाङ्गारहरू कोही नजन्मून् भनी आशा गर्नेहरूको जपना पूरा होस् । जेठ दुईमा पार्टी फर्कनु पर्छ भनेर भन्ने तर जब पार्टी जेठ दुईमा फर्कने भए पछि फेरी नयाँनयाँ बखेडा झिक्ने कार्यले यो केबल सकेसम्म एमालेका केही चौटा लगेर मांसाहारी जनावरलाई ख्वाउन गरिएको षडयन्त्र थियो भन्नेमा आशङ्का रहेन !  त्यसैले धेरै वा थोरै भ्रममा रहनु भएकहरूले अब त बुझ्नु पर्ने नै हो !  यो बुझेर नेकपा एमालेको जहाजबाट कोही ननिस्कून् भन्ने आम जनताको सपना पनि पूरा होस् । 

र अन्त्यमा, बतुराएका, बर्बराएका र धर्मराएकाहरू जे जति छन् आज मदनस्मृति दिवसका दिनती सबैको सद्बुद्धि पलाओस् !  केपी ओलीको तावाले पोल्यो भनेर उफ्रँदा धुन्धुकारीका आगाका भट्टीमा पुगेर सेकिएर सेकुवा बनी अर्कैको ज्युनार बनेपछि मात्र अर्को जन्ममा चेत खुल्ने होला, तर त्यतिबेला चेत खुलेर केही हुने वाला छैन समयमै चेत खुलोस् । अस्तु ! ! ! ! 

 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : १७ बजे