धरहराबाट उपत्यका नियाल्ने रहर

स्वरोजगार  दम्पतीको सफलताको कथा : २० हजार लगानीबाटै स्वरोजगार बन्यौँ  

 गोरखा । उमेरले ४० बर्ष पुगेकी टोकमाया विश्वकर्मा सिलाइ सम्बन्धी कार्य गर्नुहुन्छ । गोरखा  जिल्ला सिरानचोक–२ खाल्जोङ निवासी टोकमायाले आजभन्दा ६ बर्ष अघि २० हजार रुपैयाँले सुरु गरेको टेर्लस व्यवसाय यत्तिखेर उनका लागि गतिलो व्यवसाय बनिसकेको छ । 

जोस, जाँगर र अठोट भए सानो रकमले पनि नेपालमै केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेकी टोकमायाले २० हजार बाट काम सुरु गरेको कुरा धेरैले पत्याउँदैनन् पनि ।  श्रीमान रोजगारको सिलसिलामा मलेसिया पुग्नु भएको थियो । राम्रो कमाई गर्न सक्नु भएको थिएन । यता हुर्कँदै गरेका दुई बच्चालाई लालन पालन र शिक्षा दिक्षाको जिम्मेवारी पुरा गर्ने  पर्ने थियो । सिपका नाउँमा सिलाइ गर्ने सिप त थियो तर व्यवसाय सुरु गर्न टोकमायासँग रकम थिएन । ‘आफूसँग व्यवसाय सुरु गर्न कुनै रकम थिएन त्यो बखत’,टोकमायाले सुनाइन् । ‘त्यतिखेर लघुवित्तबाट २० हजार लिएर सिलाइ मेसिन लिएर काम सुरु गरे, पछि स्वरोजगार कोषले समेत १ लाख दिएपछि त्यही सुरुवातले नै उभ्यायो’,उनले सुनाइन् । लघुवित्तको २० हजारले सामान्य ढँगबाट सिलाइको काम गरेकी  टोकमाँयाले केही आधुनिक मेसिन र लगानी थप्न पाए व्यवसाय राम्रो हुने देखेपनि रकम अभावका कारण आफ्नो ईच्छ्यालाई दुई बर्ष त माया मार्नुपर्यो । 

मलेसियामा पैसाको बोट नै होला भनेर बिदेसिएका श्रीमान सुकबहादुर विश्वकर्मा पनि खानसम्मको गोता खाएर नेपाल फर्कनु भएको थियो ।  श्रीमान श्रीमतीले गाउँमै बसेर व्यवसाय गर्ने सोँच बनाए पनि पैसा नभएर जसोतसो गुजारा गर्नु परिरह्यो टोकमायाले सुनाइन् । सोंचकै बीचमा विभिन्न मिडियाबाट सरकारले युवा स्वराेजगरा कोषबाट सस्तो ब्याजमा ऋण दिंदैछ भन्ने  थाहा पाएपछि हामीले गाउँमै रहेको सहकारीबाट कोष मार्फतको १ लाख ऋण लियौँ’ विश्वकर्माले भनिन् । कोषबाट लिएको रकमबाट टोकमायाले टेर्लसका लागि इलेकट्रोनिक्स मेसिन,आइरन र फेन्सी पसलका लागि सामान हालिन् भने श्रीमानले पनि २ सय कुखुराका चल्ला लिएर व्यवसाय सुरु गरे । 

टोकमायाले टेर्लस र फेन्सी पसलमा समय दिने र फुर्सदको समयमा श्रीमानको काममा पनि सहयोग गर्न थालिन् । बिस्तारै कुखुरा पालन व्यवसाय पनि विस्तार हुँदै गयो । अहिले टोकमाया र सुकबहादुर गाउँमै स्वरोजगार मात्र भएका छैनन् गरे नेपालमै सुन फल्छ भन्ने उदाहरण बन्नीरहनु भएको छ । ‘कुखुरा पालन व्यवसायसँगै सुकबहादुरले गाउँमै बङ्गुर पाल्न सुरु गर्नुभयो । सँगसँगै हामीले कफीको बिरुवा पनि लगाउन थाल्यौ । आज हामीलाई काम गर्न भ्याई नभ्याई छ’, श्रीमान सुकबहादुरले भने ।  ‘विदेशमा पाउनु नपाइनु गोता खाए, आज परिवारसँगै बसेर आफ्नै माटोमा स्वरोजगार बनेको छु, खसी छु’, सुकबहादुरले सुनाए । 

बाउँबाजेहरुले फलाम सम्बन्धी काम गरे पनि सुकबहादुर कृषि कर्मामा छन् । उनकी श्रीमती त झन् टेर्लस व्यवसाय गर्छिन्  । ‘स्वरोजगार कोषबाट लिएको  १ लाख रुपैयाँले के नै होला भन्ने लाग्थ्यो, त्यतिखेर नहुनु मामा भन्दा कानुमामा जाती जस्तै लागेर ऋण लिएका थियौँ’ आज त्यही रकमबाट व्यवसाय विस्तार हुँदै गएको छ धेरै खुसी छु सुकबहादुर खुसी देखिए । 

यत्तिखेर सुकबहादुरको बारीमा ४ सय ५० बोट कफीका बोट हुर्किएका छन् । सामान्य तीन वर्षमा फल्ने कफी सुकबहादुरको लगनशीलता र हेरचाँहाले दुई वर्षमै फल्न थालेको छ । आफूले लगाएको कफी खेतीदेखि आकर्षित भएर अहिले गाउँलेहरुले पनि कफी खेती सुरु गरेका छन् । सुकबहादुर यत्तिखेर कफीका विरुवाहरु हुर्काउँदै विक्री पनि गरिरहेका छन् । विश्वकर्माले यो सँगसँगै घर नजिकै बङ्गुर पालन पनि गरिरहेका छन् । केही समयअघि त ६ बटा बङ्गुर थियो । अहिले दुई बटा माउ मात्र बाँकी छ । यस्का बच्चाले पनि मलाई राम्रै आम्दानी दिएको छ, सुकबहादुरले सुनाए । अहिले त विश्वकर्माले माछा पाल्न समेत सुरु गरेका छन् ।  

‘बुढा र बुढी मिलेर गरेको दुःख र मेहनतले बिस्तारै प्रतिफल दिंदैछ । छोराले भर्खरै ब्याचलर पास गरेका छन् । बुहारी भित्रिएपछि उनले पनि काममा सघाउन थालेकी छिन्, हामी धेरै खुसी छौ’, टोकमायाले सुनाइन् । 

कतिपयले स्वरोजगार कोषबाट रकम लिएर काम नै नगरी घर खर्च गरेर सकेको देख्दा भने धेरै नै दुख्ख  लाग्ने गरेको उनले सुनाइन् । ‘काम गर्ने सोच भए सानो रकमबाट पनि केही गर्न सकिँदो रहेछ, अनुत्पादक क्षेत्रमा खर्च गरे त सकिहाल्छ नि’ उनले सुनाइन् । 

‘हामीलाई अहिलेसम्म कसैले अनुदान दिएको छैन, आफ्नै पौरखमा व्यवसाय बढाइरहेका छौ’, उनले सुनाइन् ।  केही अठोट हुँदा पनि त्यसै हात बाँधेर बस्नु परेको बेला स्वरोजगार कोषले धेरै राहत दियो, म यो गुन कहिल्यै भुल्दिन टोकमायाले भनिन् । 

सुकबहादुर पनि यत्तिखेर दङ्ग छन्, आफ्नै घर बारीमा यत्रो रोजगार रहेछ, म किन दुःख पाउन मलेसिया हानिएछु उनले भने । 

 बिना क्षमता विदेश हानिएर दुःख पाउनु भन्दा  आफ्नै खेतबारीमा पुर्खाले गरी आएको पेसालाई आधुनिक तरिकाबाट गर्ने हो भने धेरै राम्रो आम्दानी गर्न सकिने उनले बताए । आफ्नो माटोलाई चिनेर आफै स्वरोजगार बन्न खोजौँ, स्वरोजगारले पक्कै सहयोग गर्छ, उनले भने केही गर्छु  भन्ने सोच भएकाहरूका लागि स्वरोजगार कोष धेरै नै उपयुक्त हुने उनीहरूले बताए । 

 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १ : ४३ बजे