नेकपा एमालेका प्रभावशाली नेता डा. बेदुराम भुसालले पार्टी त्याग्नुभयो

काठमाडौं । नेकपा एमालेका नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन संसद सचिवालयमा सूचना दर्ता गर्नुभएको छ । उहाँले पार्टी परित्याग गरेको जानकारीसहितको पत्र आइतबार संघीय संसद् सचिवालयमा दर्ता गराउनु भएको हो । सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलापछि आफू एमाले र माओवादी केन्द्रको संसदीय दलको सदस्य नभएको उहाँले पत्रमा उल्लेख गर्नुभएको छ ।

भुसालले लेख्नुभएको छ ,सर्वोच्च अदालतको फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट निर्वाचित मसहितका जनप्रतिनिधिहरु दलविहीन अर्थात स्वतन्त्र हुन पुगेको सर्वविधितै छ,तत्पश्चात म नेकपा एमाले वा नेकपा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा रहेको छु र आगामी दिनमा पनि स्वतन्त्र सदस्यकै रुपमा रहनु चाहान्छु ।

राष्ट्रिय सभाको बाँकी कार्यकाल पनि स्वतन्त्र रुपमा नै बिताउने उल्लेख गर्दै भुसालले आफूलाई स्वतन्त्र सांसदको रुपमा व्यवहार गर्न पनि आग्रह गर्नुभएको छ । सभामा आफुलाई स्वतन्त्र हैसियत प्रदान गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । आफूले पाउने पारिश्रमिकबाट कुनै पनि रकम लेबी वा अन्य कुनै पनि रकम कुनै पनि दलको खातामा जम्मा नगरिदिन समेत भुसालले आग्रह गर्नुभएको छ ।

अर्घाखाँची स्थायी घर भएका भुसाल माधव गुटका बलिया नेता मानिनुहुन्छ । भुसालले पार्टी परित्याग गर्नुलाई निक्कै महत्वसाथ हेरिएको छ । आइतबार दिउँसोसम्म उहाँ माधव गुटकै गतिविधिमा सक्रिय हुनुहुन्थ्यो । 

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ९ : ५९ बजे