साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रचण्ड कथनको शल्यक्रिया : प्रधानमन्त्री ओली यसकारण पूर्व प्रमभन्दा फरक      

​​​​​​​प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध शेरबहादुर देउवा नेतृत्वको प्रचण्ड, माधव नेपालसहितको विपक्षी गठवन्धनले असार ९ मा अर्को आन्दोलनको घोषणा गर्यो । त्यसको आरम्भभने असार १० मा छानिएका संपादकहरुसँगको संवादबाट भयो । पहिला समयलाई हेरौं । आन्दोलनको घोषणा यस्तो बेला गरिएको छ, जतिबेला प्रतिनिधिसभा बिघटनसँग सम्वन्धित मुद्दामा सर्वोच्चमा सुनुवाई भइरहेको छ । प्रधानमन्त्री र प्रधानन्यायाधीशबिच ‘सेटिङ’ भएको भ्रामक प्रचार गरी अदालतलाई दवाव दिन गठवन्धनका नेताले पहिला जुन कार्यनीति लिनुभयो, अहिले पनि त्यही दोहोर्याउनुभयो । पहिला, देउवा अदालतलाई प्रभावित गर्नुहुँदैन भन्नुहुन्थ्यो, अहिले देउवा फैसला प्रभावित पार्न आन्दोलनको नेतृत्व गरिरहनुभएको छ ।  

वहसलाई प्रभावित पार्न उहाँहरुले योजनाबद्धरुपमा यो अस्त्र रोज्नुभयो । अदालतलाई संविधानभन्दा विपक्षी गठवन्धनलाई हेरेर फैसला गर्न दवाव दिइएको छ । अदालतप्रति बिश्वास हुँदा महामारीको यो जोखिममा सडकबाट तर्साउने नीति अख्तियार गर्नुपर्ने थिएन । वास्तविक लोकतन्त्रवादीले अदालतको फैसला पर्खन्छ, त्यसलाई धम्की दिदैन । त्यसैले प्रथम दृष्टिमै यो गलत छ । अव त्यहाँ व्यक्त तीनपूर्वका धारणालाई हेरौं । त्यसमा पनि मुलत् प्रचण्डले सबैका तर्फबाट राखेका केही प्रतिनिधिमूलक भनाइमाथि वहस चलाऔं ।  

प्रचण्ड कथन १ . ‘राष्ट्रपति कार्यालय बदनाम् भएको छ । यो भन्दा राजा हुँदा शान थियो । अहिले शान, मान, इज्जत केही छैन ।’
यो कथन र निसाना दुबैको आशय हुन्छ – राष्ट्रपति भन्दा राजा राम्रो । गणतन्त्रभन्दा राजतन्त्र राम्रो । राष्ट्रपति बिद्यादेवी भण्डारीभन्दा तत्कालिन राजा ज्ञानेन्द्र राम्रो । राप्रपा अध्यक्ष कमल थापाले यो भनाइको स्वागत गर्दै राजतन्त्र स्थापनामा जुट्न प्रचण्डलाई आब्हानसमेत गर्नुभयो । राजतन्त्र पक्षधर राप्रपाले गणतन्त्रवादी नेताको यो तहको बैचारिक स्खलनलाई ‘रेडकार्पेट’ स्वागत गर्नु सामान्यनै भयो ।   २०४७ सालको बहुदलीयता र संवैधानिक राजतन्त्रसहितको संविधानबिरुद्ध २०५२ फागुन १ मा प्रचण्डले जनयुद्ध थाल्नुभयो ।  १७ हजारको हत्या र ठूलो भौतिक क्षतिपछि सातदल र माओवादीको संयुक्त आन्दोलनबाट राजतन्त्र फालेर नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो । प्रचण्डको सशस्त्र बिद्रोह र हिंसा बहुदलीय व्यवस्थाबिरुद्ध  र सर्वहाराबर्गको अधिनायकत्व स्थापनाका लागि थियो । तर यो सम्झौतामा टुँगियो । 

जनताले ल्याएको सर्बोच्च संस्थाप्रतिको यो मानमर्दन र उखेलिएको राजतन्त्रप्रतिको प्रचण्डको मोहको अर्थ गणतन्त्र र जनताले बनाएको संविधानप्रतिको अबिश्वास हो ? हो भने खुलारुपमा राजतन्त्र ब्यूँताउने अर्को आन्दोलन गर्दा हुन्छ । सत्तास्वार्थले व्यक्तिको सोच र बिचारलाई कति स्खलित गर्छ भन्ने एउटा दृष्टान्त हो राष्ट्रपतिभन्दा राजा ठिक भन्ने सोच । त्यसोभए प्रश्न उठ्छ–अव १७ हजारको बलिदानीको हिसाव खोज्नुपर्छ कि पर्दैन ?  

समकालिन नेतामा अव फेरी संसदीय निर्वाचन लड्दिन र पार्टी अध्यक्षमा उठ्दिन भनेको ओलीले मात्र हो । नेकपाकै नेतृत्व गरिरहँदा उहाँले सार्वजनिक रुपमा उद्घोष गर्नुभएको थियो । तर नेकपानै नरहेपछि त्यो च्याप्टर स्थगन भएको हो, बन्द भएको होइन । अव पद छाड्न तयार छु भन्ने ओली र पद प्राप्तीका लागि गठवन्धन बनाउने पूर्वप्रमहरु उस्तैउस्तै हुन् त ? सत्तास्वार्थले व्यक्तिको सोच र बिचारलाई कति स्खलित गर्यो भने पूर्वप्रमहरु राष्ट्रपतिभन्दा राजा ठिक भन्दै सार्वजनिक मंचमा उत्रन थाल्नुभयो ।  

प्रधानमन्त्री ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीप्रतिको आक्रोसमा व्यवस्थाप्रति धावा बोलिएको हो भने यो झन आपत्तीजनक छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई हटाउने व्यवस्था संविधानमै उल्लेख छन् । व्यक्ति मन नपर्दा राजतन्त्रमै फर्किन्छु भन्न प्रचण्डले व्यक्तिका रुपमा पाउनुहुन्छ तर संविधान र व्यवस्थाबिरुद्ध भड्काववादी उक्साहटपूर्ण बक्तब्य दिन पाउनुहुन्न ।

राष्ट्रपति भण्डारी एमालेको नेता हुनुहुन्थ्यो र त्यही हैसियतमै राष्ट्रप्रमुख बन्नुभएको हो । हरेक व्यक्तिका राजनीतिक लिगेसी हुन्छन्, बिचारप्रति आग्रह र पूर्वाग्रह हुन्छन् । तर राष्ट्रपति भएपछि उहाँ पार्टीका नेता रहनुहुन्न । उहाँले संविधानले दिएको भूमिकामा सिमित रहनुपर्छ । अहिलेसम्म राष्ट्रपति भण्डारीले कार्यकारीका सिफारिस अनुमोदन गर्नुभएको छ, जो संवैधानिक छ । प्रतिनिधिसभाको बिघटन कार्यकारीको सिफारिसमा भएको हो । र, ७६ (५) को प्रधानमन्त्रीमा ओली र देउवाको दावी नपुगेको निर्णय पनि संविधानले दिएको अधिकार प्रयोटबाटै भएको छ । राष्ट्रपति कार्यालयले दिएको जवाफमा यो राष्ट्रपतिको स्वबिवेकीय अधिकार भएको उल्लेख छ । अव हामीले भनेको राष्ट्रपतिले नमानेको भन्दै गणतन्त्रको हुर्मत लिन मिल्छ ? शायद शान र मानका लागि राजनीति गरेका प्रचण्डलाई त्यसको प्रतिक राजतन्त्र फालेकोमा पछुतो भएको हुनसक्छ । 

कथन २. ‘केपी ओली र हामीलाई तपाईहरुले उस्तैउस्तै भन्नुभयो । हामी त अन्यायमा पर्ने भयौं । त्यसैले उस्तैउस्तै भन्दा लिमिट बन्दा बढी नभनिदिनुहोला ।’
प्रचण्डको दोश्रो यो बक्तब्य प्रधानमन्त्रीसँग उहाँहरुको (देउवा, माधव र आफ्नो) तुलनासँग सम्वन्धित छ । यहाँ तीनजनाकै प्रतिनिधित्व प्रचण्डले गरेको रुपमा बुझ्नुपर्छ । देउवा चारपटक, प्रचण्ड दुइपटक र माधव नेपाल एकपटक प्रधानमन्त्री बन्नुभएको हो । पार्टी अलग छन्, बिचार अलग छन् र संगठन फरक छन् भने सबै उस्तै नेता कसरी हुन्छन् ? सबै उस्तै हुने भए पार्टी फरकफरक हुनैपर्दैन । ओली र प्रचण्डसहितका यी पूर्वप्रमका बिचमा केही मौलिक फरक छन् । प्रचण्डले ओलीभन्दा आफूहरु मौलिक रुपमै फरक के केमा हो प्रष्ट पार्नुभएको छैन । पार्टी अध्यक्ष, प्रधानमन्त्री र राजनीतिक बिरासतका आधारमा प्रचण्डसहितका पूर्वप्रमहरु ओलीभन्दा मौलिक रुपमा फरक हो ?  फरक हो तर देश र जनताका निम्ति प्रचण्डसहितका पूर्वप्रमले के गर्नुभयो । ओलीले के गर्नुभयो ? त्यसको मुल्याकंन हुनुपर्छ ।

हिंसात्मक आन्दोलनबाट साम्यवाद स्थापना गर्न प्रचण्डले भूमिगत आन्दोलन थाल्नुभन्दा २० बर्षअघिनै हिंसाबाट साम्यवादी सत्ता आउँदैन भन्ने निश्कर्षमा ओली पुग्नुभएको हो । राजनीतिक लक्ष्य र त्यसलाई प्राप्त गर्ने तात्कालिक कार्यनीति र रणनीतिका दृष्टिकोणमा प्रचण्ड ओलीभन्दा दुइदशक पछि पर्नुभयो । आखिर सम्झौतामै आउनुभयो र अरु दलभन्दा फरक केही गर्न सक्नुभएन । यो राजनीतिक बिरासतको बिषय भयो । प्रधानमन्त्री हुँदा प्रचण्डसहितका पूर्वप्रमले के फरक गर्नुभयो ? दुइपटक गरी प्रचण्डले १८ महिना सरकारको नेतृत्व गर्दा देश र जनताले सम्झने के काम गर्नुभयो ? गरेको भए शायद सार्वजनिक गर्नुहुन्थ्यो । नयाँदिल्ली सम्झदै बेइजिङ पुग्नुभयो, फर्कनेबित्तिकै बेइजिङ गएकोमा पछुतो मान्नुभयो र भारतबाटै राजनीतिक भ्रमण गर्ने उद्घोष गर्नुभयो । ‘राष्ट्रवादी’ नेताले नयाँदिल्लीलाई प्रष्टीकरण दिइरहनुपथ्र्यो ? 

प्रधानमन्त्रीका रुपमा प्रचण्डले प्रधानसेनापति कट्वाललाई हटाएर कुलबहादुर खड्कालाई नियुक्त गर्नुभयो । यसले सेनाभित्रको व्यवस्थालाई कस्तो असर पथ्र्यो, त्यो फरक हो तर कार्यकारीको निर्णय राष्ट्रपतिले रोक्नुहुँदैनथ्यो । आखिर त्यहाँपनि प्रचण्डले पछि भारतीय संस्थापनालाइ स्पष्टीकरण दिनुभयो– प्रधानसेनापतिबारे छलफल गर्न खोजेको थिएँ, तर कोही भारतीय अधिकारी सम्पर्कमा आउनुभएन ।’ भूमिगत अवस्थामै भारतीय चाहना विपरित नजाने लिखत गरेको सार्वजनिकनै छ । देउवाले दरबारलाई प्रजातन्त्र बुझाएको र नेपालले प्रधानमन्त्रीका लागि दरवारमा दरखास्त हालेको देखि प्रतिगमन आधा सच्चिएकोसम्मका घटना स्मरण गर्दा पुग्छ ।   त्यसैले प्रचण्ड र पूर्वप्रमहरु भन्दा ओली फरकनै हुुनुहुन्छ । नाकाबन्दीबिरुद्ध लड्नु, चीनसँग पारवहन र यातायात सम्झौता गर्नु, मोदीको चारपटक र सी चिनफिङको भ्रमण गराउनु फरक हुन् । सार्वभौमिकत समानताको ओलीको नीति फरक हो । चुच्चे नक्सा जारी सबैको सहयोगमा भयो तर नेतृत्व ओलीकै हो । राष्ट्रिय स्वार्थको यो मुद्दामा पूर्वप्रमहरुको पनि समर्थन हुनु सकारात्मक हो । 

कथन ३. हामीभन्दा गलिता नेता ल्याउनुहुन्छ भन्ने छाड्न तयार छौं । नेता जमिनमुनिबाट निकाल्न सकिन्न । आकाशबाट खसाउन पनि सकिन्न । जस्ता भएपनि यो देशका नेता हामी हौं । हामीलाई धोइ–पखाली गर्नुपर्यो ।

पछिल्लो र युवापुस्तमा राजनीति जानुपर्ने माग पार्टीभित्रपनि छ र बाहिरपनि । ओलीभन्दा फरक हौं भन्ने प्रचण्ड, देउवा, माधव नेपालले ‘हामीले पार्टीको नेतृत्व पनि गर्यौं, सरकारको नेतृत्व पनि गर्यौं, हामीले क्षमताले भ्याएसम्म देश र जनताका लागि गर्यौ । तर अव पछिल्लो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहान्छौं भन्नुपथ्र्यो तर त्यसो भन्नुभएन । प्रचण्डको माथिको उत्तर पछिल्लो र युवापुस्ताप्रति आपत्तीजनक छ । आफूबाहेक पार्टीभित्रका कसैलाई सक्षम र योग्य उहाँहरु देख्नहुन्न । देउवा फेरी कांग्रेस सभापति बन्ने घोषणा गर्दै तयारीमा लाग्नुभएको छ । माधव नेपाललाई एमालेको अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा, नभए नयाँ पार्टीकै भएपनि अध्यक्ष बन्ने इच्छा छ । खै कहाँ देखियो ओलीभन्दा मौलिक फरक ?

समकालिन नेतामा अव फेरी संसदीय निर्वाचन लड्दिन र पार्टी अध्यक्षमा उठ्दिन भनेको ओलीले मात्र हो । नेकपाकै नेतृत्व गरिरहँदा उहाँले सार्वजनिक रुपमा उद्घोष गर्नुभएको थियो । तर नेकपानै नरहेपछि त्यो च्याप्टर स्थगन भएको हो, बन्द भएको होइन ।  

अव पद छाड्न तयार छु भन्ने ओली र पद प्राप्तीका लागि गठवन्धन बनाउने पूर्वप्रमहरु उस्तैउस्तै हुन् त ? साँच्चै, फरक हुन चाहनुभएको हो भने प्रचण्ड, देउवा र माधवले संयुक्त बक्तब्य निकालेर ‘हामी अव राजनीति दोश्रो पुस्तालाई सुम्पन चाहान्छौं, तयार हुनुहोस्’ भन्नुपथ्र्यो । किनकी उहाँहरु संयुक्त बक्तब्य निकाल्न माहिर हुनुहुन्छ । पूर्वप्रमले यति भनेमा ओलीमाथि झन दवाव पथ्र्यो र सबै पार्टीमा अर्को पुस्ताको नेतृत्व आउनसक्थ्यो । अझैपनि फरक हुने यो ऐतिहासिक कामको श्रीगणेश गर्दा हुन्छ । तर सत्ताका लागि राजनीति गर्ने यी पूर्वप्रममा यस्तो सकारात्मक सोच आउँदैन ।  

३३ बर्षदेखि नेतृत्वमा रहेका प्रचण्ड अझैं अध्यक्ष नछाड्ने, चारपटक प्रम भएका देउवा अझै प्रधानमन्त्री बन्ने, १५ बर्ष पार्टीका प्रमुख भएका माधवलाई अझै अध्यक्ष र प्रधानमन्त्री बन्नुपर्ने । तीन दशकदेखि तपाईहरुलाई नै पद र सत्तामात्र चाहिएको छ, कसरी आउँछ नयाँ पुस्ता नेतृत्वमा ।  सम्झौं त प्रचण्ड, देउवा र माधवभन्दा गतिला नेता ती पार्टीमा छैनन ? प्रचण्डले चूनौती दिनुभयो । प्रचण्ड भन्नुहुन्छ– कोही छैनन् गलिता, हामी नै हौं । हामीलाई धोइपखाली गर्नुहोस् ।’ ओलीलाई समर्थन गर्नेलाई दास करार गर्ने माधव, प्रचण्ड र देउवा पक्षधर सक्षम भनिएका युवा नेता यो भनाइमा मौनता साँध्छन् । स्विकार्छन्– प्रचण्ड, देउवा र माधवभन्दा हामी गतिला छैनौं ।’ के युवापुस्ता धोबीमात्रै हुन ?  जनताले बुझेका छन् लडाइ बिचार र सिद्धान्तको होइन । झगडा देश बनाउन र जनताका आवश्यकता संवोधन गर्न होइन । ओली हटाएर देउवा, प्रचण्ड वा अरु कोही प्रधानमन्त्री बन्न हो । फेरी यी बैकल्पिक उम्मेद्वार ओलीभन्दा कुनैपनि कोणमा सक्षम र योग्य छैनन् । यदी वास्तवमै प्रचण्डले भनको जस्तो अरुभन्दा फरक हुन राजनीतिक नेतृत्वले चाहेको हो भने स्वेछिक् राजनीतिक निस्क्रियता रोज्दै पछिल्लो र युवापुस्तालाई नेतृत्वका लागि बाटो खोलिदिनुपर्छ । 
       

      
 

     
  
 
  

 
   

 
  

 
  
 
 

 
   
   
 
  
 
  

 
 
 
   
  
 

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १० : ११ बजे