घट्दै डेङ्गु सङ्क्रमण

आज फाल्गुनन्द जयन्ती

आज देशभरको मौसम सफा रहने

देउवाको नेतृत्वमा माझण्डहरूको दुर्घटनातर्फको राजनीतिक यात्रा

माधव, झलनाथ र प्रचण्ड अर्थात माझण्डहरूको एउटै लक्ष्य जसरी पनि केपी ओलीलाई राज्य र पार्टी सत्ताको नेतृत्वबाट विस्थापित गरेर नेपालमा भारतका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा कम्फर्टेबल सरकार बनाउनु हो। यतिखेर त्यो कम्फर्टेबल सरकार बनाउन उनीहरूले रामशाह पथको सहयोगी भूमिका खोजिरहेका छन्।  अब रामशाह पथले कसरी सघाउँछ वा सघाउँदैन् भन्ने प्रश्नमा सबैको ध्यान केन्द्रीत भएको छ।

अहिले केपी ओलीको नेतृत्वमा चुनावमा जानै सकिन्न भन्ने मान्यतामा विपक्षीहरू एकठाउँमा देखिएका हुन्। किनभने तिनलाई सत्ता बाहिर बसेर चुनाव जितिन्छ भन्ने विश्वास नै छैन्। त्यसमाथि आजका मितिसम्म नेपाली काग्रेस अरूको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा गए कै छैन्। उसलाई चुनावमा जान सत्ता चाहिएको छभने माझण्डहरूलाई आफ्नो राजनीतिक साख जोगाउनका लागि भएतापनि नेपाली काँग्रेसको साहारा चाहिएको छ। त्यसैले अहिले उनीहरू मोर्चा बनाएर अदालतमाथि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दबाव दिनुका साथै मिडियाबाट हारगुहार गरिरहेका छन्।

नेकपा एमालेमा विभाजन ल्याउन माझण्डहरूले केपी ओलीले अडान लिंदा जिद्दी भयो भन्छन् त अलि लचक भएर प्रस्तुत भए षडयन्त्र देख्छन्। माझण्ड समुहका घनश्याम भुसाल वार्ताको कुरा गरेर समय घर्काउने र केपी ओलीको अगाडिको यात्रालाई अल्झाउने काममा व्यस्त छन्। तर पनि छलफलबाट विमतिहरू हट्लान र सहमति होला भनेर अनौपचारिक छलफलहरू भइरहेका छन्। तर माझण्डहरूले यो छलफललाई रणनीतिक रूपमा प्रयोग गरेर एमालेमा ठूलो विभाजन ल्याउने योजना बनाइरहेका छन्। सायद यो षडयन्त्रप्रति एमालेको मुख्य नेतृत्व जानकार नै हुनुपर्छ। घनश्याम भुसाल भावनात्मक रूपमा एकता र आदर्शको कुरा गरेर पार्टी विभाजन गर्नुपर्छभन्ने निष्कर्षमा पुर्याउन एकता र संघर्षको राग अलाप्दै छन्। माधव नेपालका प्रचण्ड र देउवासँगको उठबसको बचाउ पनि गर्दैछन्। जबकी माधव नेपालका प्रायः सबै क्रियाकलापहरू घोर अनैतिक र विभाजनमुखी नै छन्।

अब माधव नेपाल नेकपा एमालेमा रहेनन्। देउवाका सारथी र प्रचण्डका विश्वासिला सहयोगी भैसके। हुन त माधव नेपाल २०७३ सालदेखि नै व्यावहारिक र वैचारिक रूपमा एमाले भएर क्रियाशील भइरहेका थिएनन्। अहिले नेकपा हुँदै नेकपा एमालेमा विभाजन ल्याउन पनि माधव नेपालले मुख्य पात्रका रूपमा भूमिका निर्वाह गरिरहेका छन्। हिजो २०५४ सालमा एमाले फुटाउन वामदेव र सिपी रूपमा त सारमा माधव नेपालको नै संलग्नता थियो। किनभने त्यतिखेर एमाले नफुटेको भए २०५६ को निर्वाचनबाट नेपाली काँग्रेसको सरकार बन्ने थिएन। अहिले पनि काँग्रेसका सभापति शेरबहादुर देउवा कै नेतृत्वमा सरकार बनाउन माझण्डहरू आफ्नो पूरा समार्थ्य प्रयोग गरिरहेका छन्।

नेकपा एमाले भित्रको शत्रुतापूर्ण अन्तरसंघर्षलाई माधव र झलनाथ अर्थात माझहरू कायम राख्न चाहन्छन। संस्थापन पक्षभने त्यो मनोविज्ञान त्यागेर मित्रतापूर्ण अन्तरसंघर्षमार्फत पार्टीभित्रको एकता बलियो बनाउन माझहरूसँग निरन्तर संवादमा छ। माझहरूले संस्थापन पक्षको त्यो प्रयासलाई कमजोरीका रूपमा बुझेर सार्वजनिक अभिव्यक्ति दिने र विपक्षीहरूसँग मिलेर एमाले नेतृत्वमाथि दबाव बढाउन माधव नेपालको नेतृत्वमा गतिविधि गरिरहेका छन्। माधव नेपालका त्यस्ता गतिविधिहरूले विपक्षीहरूको मनोबलमात्र बढेको छैन्, गणतन्त्र विरोधीहरू पनि उत्साहित भएका छन्। कमल थापाका पछिल्ला अभिव्यक्तिहरूले त्यहि संकेत गरेको छ। यतिखेर नेकपा एमालेको एकता जोगाउन पछिल्लो पुस्ताहरूले स्वतन्त्र हुन सिक्नुपर्छ र दास मनोविज्ञान त्याग्नुपर्छ। नवौं महाधिवेशनको जगमा पार्टी नेतृत्वको हस्तान्तरण र पुस्तान्तरणको मुद्दालाई प्राथमिकताका साथ उठाएर ओली र माधव पुस्तालाई सक्रिय राजनीतिबाट विश्राम लिने वातावरण तयार गर्नुपर्छ। केपी ओलीलाई अस्वभाविक तरिकाबाट पार्टी र राज्य सत्ताको नेतृत्वबाट विस्थापित गर्न खोज्दा नेकपा हुँदै नेकपा एमालेभित्र विग्रहपूर्ण स्थिति बनेको होभन्ने यथार्थलाई स्विकार्ने होभने आधाभन्दा बढी विवाद आफै समाधान हुनेछ।

तर पछिल्लो समय लुम्बिनी, वागमती र एक नम्बर प्रदेशहरूमा देखिएको एकताको वातावरणले माधव नेपाल खुसी छैनन्। अष्टलक्ष्मी शाक्य र भिम आचार्यका पछिल्ला अभिव्यक्तिहरू एकजुट एमालेको पक्षमा देखिएपछि माधव नेपालले आफ्ना पक्षमा हिजो देखिएका नेता तथा कार्यकर्तालाई कित्ता स्पष्ट गर भनेर धम्की नै दिएका छन्। झलनाथ खानालको पछिल्लो विज्ञप्तिले त झन माझ खेमामा अन्तरविरोध र अविश्वास बढ्न खोजेको देखियो। संकट सधैं समस्या बनेरमात्र आउँदैन। यदि ठीक समयमा ठीक निर्णय गर्न सक्यौंभने त्यसले विराट सम्भावना र उपलब्धिपूर्ण पनि हुन सक्छ भन्ने विश्वासका साथ अहिलेको अन्तरविरोधलाई पछिल्लो पुस्ताले अवसरको रूपमा लिनुपर्छ। वर्षौंसम्म आफ्नो र पार्टीको राजनीति बलियो बनाउन नेकासँग प्रतिस्पर्धा गरेर स्थापित भएका नेताहरू अहिले नेका सभापति देउवाको नेतृत्वको गठबन्धनमा समाहित भएर नेकपा एमालेका विरूद्ध उभिन सक्ने कुरै भएन। त्यसैले समय घर्किदै जाँदा हिजो विद्रोहको पक्षमा उभिएका नेता तथा कार्यकर्ताहरू मूल घर फर्किने छन्। त्यो परिस्थिति बन्दैछ।

“नीतिहरूको राजा राजनीति हो भने असल शिक्षा राजनीतिको जननी हो।” त्यसैले शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्दै राजनीतिमा देखिएका विकृतिहरूको अन्त्य गर्न सकिन्छभन्ने मान्यतामा टेकेर अघि बढ्न राजनीतिक नेतृत्व तयार हुनुपर्छ। तर यो कोणबाट चिन्तन मनन भएको पाईंदैन्। जसले गर्दा नेपालको राजनैतिक तथा संवैधानिक व्यवस्था गतिशील बनाउन सकिएन र अस्थिर बन्दैछ। जुन नेपालमा नियन्त्रित अस्थिरता चाहने तत्वको चाहाना पनि हो। त्यो चाहाना पूरा गर्न अहिले माधव, झलनाथ, प्रचण्ड र देउवाको माझण्डवा गठबन्धन बनेर सडक आन्दोलनको धम्की दिंदैछन्। सम्पादकहरूसँगको उनीहरूको सम्वाद जसरी पनि नेपालमा भारतका लागि देउवाको नेतृत्वमा कम्फर्टेबल सरकार बनाउन अदालतले सहयोग गर्नुपर्छ भन्ने नै हो।

भारतको रणनीति हामीलाई विभाजित गरेर नेपालमा नियन्त्रित अस्थिरतामार्फत देशको विकासमा केन्द्रीत हुन नदिन कमजोरहरूको मोर्चा बनाएर केपी ओली नेतत्वको सरकार विस्थापित गरेर शेरबहादुर देउवाको नेतृत्वमा कम्फर्टेबल सरकार बनाउने नसके राजनीतिक अस्थिरता बढाएर नेपाललाई सम्वृद्ध हुन नदिने नै हो। त्यहि रणनीतिमा माझण्डवा समुहले गतिविधिहरू गरिराछन्। अहिले माझण्डवाहरूले गरिरहेका गतिविधिहरू रूपमा हेर्दा एउटा देखिन्छ भने सारमा बुझ्दा अर्को बुझिन्छ। तर सञ्चार जगत र सामाजिक सञ्जालमा रूप पक्षलाई मात्र हेरेर विश्लेषण तथा प्रतिक्रियाहरू आइरहेका छन्। त्यसले जनमन भ्रमित हुँदा माझण्डवा समुहले सरकारका विरूद्धमा उठाएका मुद्दा ठीकै हो जस्तो पनि लाग्दैछ। तर यसको सार पक्षमा गइयोभने मात्र सरकार विरोधीहरूको असली रूप चिन्न चिनाउन सकिन्छ। दुर्भाग्य नै भन्नुपर्छ, सार पक्षलाई केन्द्र भागमा राखेर न समाचार बनेका छन् न त आलेखहरू नै संप्रेषण भएका छन्। जति आएका छन्, ति पर्याप्त पनि छैनन्। जसले गर्दा जनमनमा पर्न गएको भ्रमहरू हट्न सकेको छैनन्। जसका कारणले नेपालमा नियन्त्रित अस्थिरता कायम गर्न खोज्नेहरूको मनोबल बढेको छ।

पाँच भूतपूर्व प्रधानमन्त्रीहरूको संयुक्त वक्तव्य र नेपाली काङ्ग्रेसको विपक्षी गठबन्धनलाई कसिलो बनाउने राजनीतिक प्रस्ताव भारतको सरकार विरोधी मोर्चा बलियो बनाउने प्रयासको अर्को रूप हो। नेपालका राजनीतिक दल र तिनका नेतालाई उपयोग गरेर नेपाल कै विरूद्धमा गतिविधि गर्न विगतमा भारत सफल भएको थियो। यो पटक सफल होला नहोला भन्ने कुरो सर्वोच्च अदालतको फैसला र नेकपा एमालेको एकतामा निर्भर हुनेछ। नेकपा एमाले एकजुट भयोभने भारतको त्यो रणनीति असफल हुनेथियो। तर माधव नेपाल जसरी पनि एमाले विभाजन गर्ने गरी गतिविधि गरेर भारतको रणनीति सफल बनाउन खोज्दैछन्।

वामपन्थीहरूलाई विभाजित नगरीकन दक्षिणपन्थीको नेतत्वमा सरकार बन्ने सम्भावना नभएपछि उनीहरू माझण्ड मोर्चा बनाएर नेकपामा विभाजन ल्याउन सफल भएका थिएभने अहिले एमालेमा विभाजन ल्याउन प्रयास गरिरहेका छन्। उनीहरूको बुझाई केपी ओलीलाई कमजोर नबनाई नेपालको वामपन्थी आन्दोलन कमजोर बनाउन सकिन्न भन्ने नै हो। त्यहि निष्कर्ष र बुझाईका साथ उनीहरूले गएको एकवर्षदेखि ओली विरोधी नेता तथा कार्यकर्तामाथि लगानी गरिरहेका छन्। नेपालका केही मुख्य मिडियाहरूले पनि माझण्डवा मोर्चाका पक्षमा लेखिरहेका छन्। 

कम्न्युनिष्ट विरोधी शक्तिहरूका लागि माझण्डले रणनीतिक रूपमा काम गरिरहेका रहेछन् भनेर अहिले थाहा हुँदैछ। तर पनि एमाले तथा माओवादीका केही नेता तथा कार्यकर्ताहरू माझण्डहरूलाई नै आदर्श मानेर आफ्नो राजनीतिक भविष्य धरापमा पार्दैछन्। अब पनि माझण्डलाई नचिन्नु भनेको आफैलाई धोका दिनु र कम्न्युनिष्ट आन्दोलनलाई दुर्घटनामा पार्नु हो। त्यसैले नेपालमा वामपन्थी आन्दोलनले निर्णायक फड्को मार्ने बेलामा माझण्डहरूले नेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिरहेका हर्कतहरूको जति निन्दा गरेतापनि कम नै हुन्छ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १० : ४१ बजे