साफ यू–१७ च्याम्पियनसिप आजदेखि

धरहरा नेपालको परिचय, गौरव र इतिहास हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा नेपालको परिचय, गौरव र इतिहास भएको बताउनुभएको छ ।  नवनिर्मित धरहरा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले  भन्नुभयो ‘‘धरहरा ढल्दा किन हामी आफैँ ढलेजस्तो लाग्छ। र धरहराको भग्नावशेष हेर्दा आफ्नो इतिहास नै एउटा खण्डहर भएकोजस्तो लाग्छ। किन हामी धरहरा उठ्दा आफै फेरि बौरिएजस्तो लाग्छ ? किनकी यो हाम्रो भावना र गौरवसँग जोडिएको छ।’

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले ‘पुननिर्माण गर्दा भरसक हाम्रो इतिहास र गौरव झल्कियोस् र आजका आधुनिकता पनि टल्कियोस् भन्नेमा ध्यान दिइएको बताउनुभयो । ओलीले अहिले बनेको धरहरा बलियो तरिकाले बनाइएकोले अब नढल्ने बताउनुभयो । 

सरकारका तीन बर्ष पुर्ननिर्माण र विकासमा बितेको बताउँदै प्रधानमन्त्री ओलीले सरकार हरेक क्षेत्रमा अन्यन्त तीव्र गतिमा काम गर्न लागिरहेको प्रस्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले भूकम्पका कारण धरहरा ढल्दा हुन पुगेको क्षतिको पुनः उत्थान गर्ने  र दुर्घटनामा परी दिवङ्गत हुने परिवारलाई धरहरा संरक्षणको काममा प्राथमिकताका साथ रोजगारी दिइने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ का कारण विकास निमार्णका कार्यमा केही समस्या भए पनि स्वास्थ्यका मापदण्ड पालना गर्दै पुनःनिमार्णको कामलाई नरोकिने बताउनुभयो  ।

प्रधानमन्त्री ओलीले नेपाललाई आकर्षक देशको रुपमा विकास गर्दै कोही पनि भोकै बस्न नपर्ने अवस्था सिर्जना गरिने बताउनुभयो । प्रधानमन्त्री ओलीले यो वर्षदेखि सडक मानव नदेखिने बताउनुभयो ।प्रधानमन्त्री ओलीले मुलुकमा पर्याप्त स्रोतसाधन रहेको भन्नुहुँदै तेल खानी, फलाम खानी लगायतका खानीहरू उत्खनन गरी परनिर्भरताको अन्त्य गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जनताको अथक प्रयासले लोकतन्त्र प्राप्त भएको बताउनुहुँदै  लोकतन्त्रलाई कमजोर पार्न खोज्ने तत्त्वहरू सफल नहुने बताउनुभयो ।प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई संस्थागत गर्न सबैले इमानदारिताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । 

भूकम्पको ६ वर्षपछि ठडिएको २२ तले धरहराको शनिबार (वैशाख ११) गते लोकतन्त्र दिवसको दिन ओलीले उद्घाटन गर्नुभएको हो । उहाँले सम्उद्घाटनको सुरुमा धरहराको प्रवेशद्वारमा राखिएको शिलालेख अनावरण र त्यसपछि ढोकामा राखिएको रिवन काटेर धरहराको २० औं तलामा रहेको बाल्कुनीमा पुगेर पुष्पवृष्टि गर्नुभएको थियो । 

६ वर्षमा भत्किएको धरहरा यथावत् राखेर नजिकै अर्को धरहरा बनाइएको छ। विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । विसं। २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो । पहिलोपटक प्रधानमन्त्री बनेको बेला २०७२ फागुन ४ गते केपी शर्मा ओलीले ‘मेरो धरहरा मै बनाउँछु’अभियान शुरु गर्नुभएको थियो । 

२०७२ वैशाख १२ को भूकम्पले ध्वस्त बनाएको ऐतिहासिक धरहरा जीआईईटीसी–रमन जेभीले धरहराको पुनर्निर्माणको काम भ्याटसहित तीन अर्ब ४८ करोडमा बनाइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। अब बन्ने धरहरा क्षेत्र करिब ४२ रोपनी क्षेत्रफलमा फैलिनेछ। 

अहिले बनेको धरहराको उचाई जमिनमाथिबाट गजुरसहित  ८३.८५ मिटर छ। भूमिगत तलासहित ९२.२५ मिटरको छ । धरहराभित्र २ वटा लिफ्ट हुनेछन्। एकपटकमा १० जनाले यात्रा गर्न सक्नेछन्। यसबाट वृद्धवृद्धा एवं  अपांगता भएका व्यक्ति धरहरामाथिको पहुँचमा सहजता हुनेछ। साथै फलामको भर्‍याङ पनि रहनेछ। धरहराबाट वरिपरिको दृश्यावलोकनका लागि २० औं तल्लाबाहिर २.५ मिटर चौडाइको बार्दली रहेको छ।  

२२ औँ तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ स्थापना गरिएको छ। धरहरामुनिको दुई तले भूमिगत संरचनामा दुईवटा विद्युतीय स्वचालित भर्‍याङ’बाट तलमाथि गर्न सकिनेछ।

समारोहमा राष्ट्रिय पुनःनिमार्ण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले सबैको साथ र सहयोगले धरहराको पुनःनिमार्ण सफल भएको बताउनुभयो ।

निर्देशक ज्ञवालीले बगैँचा निमार्ण, पार्किङ लगायतको काम अझै बाँकी रहेकाले सर्वसाधारणलाले धरहरा अवलोकन गर्न केही समय पर्खिनु पर्ने बताउनुभयो ।

 

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ३ : ४७ बजे