नेकपाको विवाद र विकृतिले पार्टीभित्र धेरै क्षति नहोस् भन्नेमा हामी सचेत हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट मात्र बाँकी उपलब्धि हासिल गर्न सकिने हुनाले सबै नेता त्यसमा संवेदनशील हुनुपर्ने बताउनुभएको छ । पार्टी एकता अपरिहार्य रहेको र नेताहरूबीच नियमित छलफल, वार्ता भइरहेकाले छिट्टै केही न केही निष्कर्षमा पुगिने उहाँले बताउनुभयो ।

पार्टी एकताका लागि भावनात्मक कुरा गरेर मात्र पुग्दैन, ठोस कदम चाल्नुपर्ने कुरामा जोड दिँदै महासचिव पोखरेलले ‘विचारमा स्पष्टता र व्यवहारमा लचकता’ अनिवार्य रहेको बताउनुभयो ।

आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध विपक्षी गठबन्धनसँग मिलेर पार्टीभित्रका केही नेताले अक्षम्य अपराध गरिरहेको उहाँले टिप्पणी गर्नुभयो । व्यक्तिगत कुण्ठा र ईष्र्याकै कारण पार्टीभित्र टकराव बढेको धारणा उहाँले व्यक्त गर्नुभयो ।

पार्टीभित्रको विवाद र विकृतिलाई समाधान नगर्ने हो भने दूरगामी असर पुग्ने चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो, “एमालेभित्र अहिले दुर्भाग्यपूर्ण बिग्रहको अवस्था छ, यसले पार्टीलाई धेरै क्षति नहोस् भन्नेमा हामी सबै सचेत हुनुपर्छ । पार्टी एक रह्यो भने मात्र बाँकी उपलब्धि प्राप्त हुन्छ ।”

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आआफ्नै काम र कर्तव्य भए पनि एउटाको काममा अर्को निकायबाट हस्तक्षेप हुन थालेपछि देश सङ्कटतर्फ उन्मुख भएको उहाँले टिप्पणी गर्नुभयो । “सर्वोच्चले संविधानको किटानी व्यवस्था र राजनीतिक दलसम्बन्धी ऐन प्रबन्ध हेर्नुपर्ने हो, राजनीतिक मुद्दामा प्रवेश गर्दा समस्या निम्तियो,” महासचिव पोखरेलले भन्नुभयो । उहाँले बाढीपहिरो, प्राकृतिक विपत्तिका बेला मुलुकले गृहमन्त्री नपाउनु, कोभिड महामारीका बेला स्वास्थ्यमन्त्री राख्न नपाइनु दुर्भाग्यपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । न्यायपालिकाको काम आमनागरिकले पनि बुझिरहेको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले न्यायपालिकाले लोकतन्त्रसम्मत काम गरिरहेको छ कि छैन, नागरिकले मूल्याङ्कन गरिरहेको बताउनुभयो ।

“न्यायालयमाथि राजनीतिक दलले हस्तक्षेप गर्नुहुँदैन, राजनीतिक दलको विषयमा न्यायालयले हस्तक्षेप गर्नु हुँदैन,” भन्दै उहाँले यस्तो गतिविधिले मुलुक गलत बाटोमा जाने बताउनुभयो । पार्टीको आन्तरिक समस्या बाहिर छताछुल्ल गरेर समाधान नहुने भन्दै महासचिव पोखरेलले आन्तरिक विवाद आन्तरिक छलफल र संवादबाटै समाधान हुने बताउनुभयो । 

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ६ : ५१ बजे