काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयलाई राजनीतिक विवादको निरुपण गर्ने थलो बनाउन खोजिएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत गएको प्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राजनीतिलाई जनतामा पनि जान नदिने, संसद्मा पनि राजनीतिको टुंगो नगर्ने राजनीति अन्तै लगेर टुंगो गर्ने ? राजनीतिक फैसला, प्रधानमन्त्री छान्ने ठाउँ पनि अदालतलाई बनाउन खोजेपछि । राजनीतिक विषयहरूको टुंगो राजनीतिक संस्थाहरूले वा राजनीतिक पार्टीहरूले लगाउनुपर्ने ठाउँमा अदालतबाट राजनीतिको फैसला खोजेपछि । अदालतले त संविधान र कानुनको कुरा गर्ने हो, राजनीतिक होइन ।’
राजनीतिक निर्णयहरू राजनीतिक संस्थाहरूले नै गर्नुपर्ने ओलीको भनाइ थियो । उहाँले मन्त्रीहरू हटाउने निर्णयमा ‘सेटिङ’ भएको आशंका पनि व्यक्त गर्नुभयो ।
‘मन्त्रीहरू सबै हटाइदिएर प्रधानमन्त्रीलाई काम गर्न अप्ठ्यारो भयो खुच्चिङ पर्यो भन्ने होला,’ प्रतिनिधिसभा विघटनपछि जेठ २१ र २७ मा नियुक्त मन्त्रीहरूलाई हटाउने सर्वोच्चको आदेश लक्षित गरेर ओलीले भन्नुभयो, ‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो पनि एउटा गजबको छ । धादिङमा अघिल्लै दिन भने, मन्त्रीहरू भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु । अथवा न्याय निष्पक्ष निरुपण भयो कि अरु नै हिसाबले ? एउटा हल्ला छ नि सेटिङ भन्ने ?’
प्रधानमन्त्री ओलीले प्रणाली जोगाउनका लागि सबैले लाग्नुपर्ने बताउनुभएको छ । यस्तै, प्रधानमन्त्री ओलीले अहिले राष्ट्रपतिको आलोचना गर्ने प्रतिस्पर्धा भइरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले एकपल्ट भनेको थिएँ रिसाएको बिरालोले खाँबो चिथोर्छ । राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ । जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो त्यो ठूलो हुने कम्पिटिसन चल्या छ ।’
प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार ८ : ५३ बजे
प्रतिक्रिया