काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेबाट हटाइएका नेता माधवकुमार नेपाललाई दायाँबायाँ राखेर प्रचण्डले बिहीबार नागरिकद्वारा स्थापित सर्वोच्च संस्थाको मानमर्दन गरे । आफूलाई चर्को गणतन्त्रवादी ठान्ने र त्यसैका लागि देशलाई ५० बर्षपछि धकेलेका प्रचण्डले राष्ट्रपतिभन्दा राजा ठिक भन्नुलाई सामान्य ठान्नुहुँदैन । प्रचण्डको राजनीतिक स्खलनको यो एउटा प्रमाण हुँदै हो, जनताप्रतिको घोर अपमानसमेत हो । त्यसमा पनि अझ महिलाप्रतिको उनको दृष्टिकोणमा देखिएको खोट हो ।
प्रचण्ड र उनको मोर्चामा दायाँबायाँ रहेका तर जनताको अपमानको क्षणलाई वाह भन्दै गद्गद् गरेकाहरुको राजनीतिलाई हेरौं ।
प्रचण्डले दशबर्षको जनयुद्ध र १७ हजारको हत्या उनीहरुकै दस्तावेजलाई हेर्दा सामन्ती राज्यब्यस्था फाल्न र नेपालमा गणतन्त्र ल्याउन गरेका थिए । सामन्तवाद र सामन्ती राज्यव्यवस्थाका नाइके राजा हुन र त्यसलाई उखेलेर नफालेसम्म गणतन्त्र स्थापना गर्न सकिदैंन भन्ने उनको जनयुद्ध नीति थियो । हिंसाद्वारा सत्ताकब्जाको उनी र माओवादीको उदेश्य थियो तर असफल भयो ।
प्रचण्डले बिहीवार राष्ट्रपतिभन्दा राजा नै ठिक रहेको बताउनुको अर्थ सामान्य छैन । राजासँगको शान थियो, मान थियो, अहिले राष्ट्रपतिसँग केही छैन । राष्ट्रपतिभन्दा राजा त कति ठिक, कति ठिक । दायाँ एमालेले कारवाही गरेका नेता पूर्वप्रधानमन्त्री माधव नेपाल र बायाँ कांग्रेस सभापति शेरबहादुर देउवालाई राखेर प्रचण्डले राष्ट्रपतिभन्दा राजा ठिक भनिरहँदा अलिकति पनि लज्जा महसुस नहुनु पनि गज्जव नै देखिदोरहेछ ।
पहिलो, राजनीतिक र सत्ता नेतृत्वका दृष्टिकोणमा खासमा प्रचण्ड र राजतन्त्रबीच मौलिक भिन्नता छैन । एउटा राजाले बरु आफ्नो बंशलाई निरन्तरता दिन युवराजधिराजलाई सत्ता छोड्छ । तर प्रचण्डले माओवादी नाम गरेको पार्टीको नेतृत्व नछाडेको ३३ बर्षभयो । बिचबिचमा भएका उतारचढावलाई छाडिदिने हो भने करिव ६० बर्षका बिचमा नेपालमा त्रिभुवन, महेन्द्र, बिरेन्द्र र ज्ञानेन्द्र राजा भए तर माओवादी भन्ने पार्टी सुनेका दिनदेखि त्यसका अध्यक्ष प्रचण्ड हुन । माओवादीका राजा, प्राधिकार, कमाण्डर सबै उनी हुन र उनले बिशेषसेवा आफ्नै बंश, नातागोताको मात्र गर्छन् । त्यसैले उनको मोह राजतन्त्रप्रति हुनु स्वभाबिक हो ।
दोश्रो, राजा बिरेन्द्रको बंशनाश भएपछि प्रचण्ड र बाबुरामहरुले प्रजातन्त्र सिध्याउने र राजासंग मिलेर सत्ता हत्याउने भूमिगत प्रयास गरेका थिए । उनीहरुले राजा ज्ञानेन्द्रसँग पहिला एजेण्ट पठाएर, दुत खटाएर र पछि आफैं वार्ता गरेर प्रजातान्त्रिक शक्तिहरुलाई जनयुद्धमार्फत् ठिक लगाउने तर त्यसवापत् सत्ता आफूहरुलाई हस्तान्तरण गर्न राजा तयार हुनुपर्ने बताएका थिए । त्यसबेलासम्म माओवादीहरुको हिंसाको निसानामा कांग्रेस र एमालेका नेताहरु परेका थिए । राजाका मान्छेसँग सन्देश आदानप्रदान गर्ने, प्रजातन्त्र समाप्त पार्न सहकार्य गर्ने लगायतका मुद्दामा सहमतिपछि मुख्य प्रजातान्त्रिक शक्तिमाथि हिंसात्मक आक्रमण भएका थिए । तरपछि माओवादीभित्र राजतन्त्रसँग गठवन्धन गर्ने प्रचण्ड नीतिको बिरोध बैद्य, बादल र बिप्लवहरुले गरेपछि प्रजातान्त्रिक शक्तिसँग सहकार्य भएको थियो । त्यसैले प्रचण्डलाई गणतन्त्र मन नपर्नु, त्यसका प्रमुख राष्ट्रपतिभन्दा राजा प्रिय लाग्नुलाई आश्चर्य ठान्नुहुँदैन ।
तेश्रो, प्रचण्डलाई राष्ट्रपति मन नपर्नुको अर्को कारण पनि छ । हत्याहिंसा गैरसंबैधानिक थियो भने बन्दुकको राजनीतिलाई जनताको मतको अर्थ भएन । प्रचण्डलाइ लागेको थियो उनले चाहँदा उनी नेपालका पहिलो राष्ट्रपति हुनसक्थे । तर त्यस्तो भएन । उनी भित्ते राष्ट्रपतिमात्र भए । कार्यकारी राष्ट्रपति हुने उद्घोष गर्दै आंतक फैलाएका प्रचण्डलाई जनताले लालबत्ती देखाएपछि आफू नहुने राष्ट्रपति संस्थाप्रति उनको शुरुदेखिनै बिश्वास रहेन । जसरी भएपनि यो नागरिकहरुको सर्बोच्च संस्थालाई बदनाम गर्न उनी लागे । बिहीवार राष्ट्रपतिभन्दा राजा धेरै ठिक भन्ने अभिव्यक्तिपछको यो पृष्ठभूमी बिर्सनुहुँदैन । मानिस मारेर, अर्काको सम्पति लुटेर, पार्टीभित्रका विपक्षीलाई श्रमशिबिरका नाममा सफाया गरेर र पींडा दिएर प्रचण्डको आजको खतरनाक बिरासत बनेको हो । केपी शर्मा ओलीका फेला परेपछि बल्ल प्रचण्डले आफ्नो वास्तविक धर्ती बुझेको हुनुपर्छ ।
चौथों, प्रचण्डको चरम सत्ताकाँक्षा । प्रचण्डले नेकपाको दोश्रो अध्यक्ष पाएको पनि हैसियतभन्दा बढी थियो । त्यसमाथि ओली प्रथम अध्यक्ष र प्रधानमन्त्री बनेपछि प्रचण्डलाई छटपटी भयो । किनकी उनले माओवादीमा बसेर उनको नातावाद र कृपावादको राजनीतिको बिरोध गर्नेहरुलाई लखेटेर सिध्याएका थिए, पार्टी छाड्न बाध्य बनाएका थिए । बाबुराम, मोहन बैद्य, बिप्लव र बादलहरु त्यसका प्रमाण हुन् । तीन दशकभन्दा बढी एकछत्र पार्टी शासन चलाएका प्रचण्ड स्वभाबिक रुपमा ओलीपछिका दोश्रो भए, तर उनमा प्राधिकार चलाएको धङधङी गएको थिएन । त्यसैले अर्का कुण्ढाले भरिएका माधव नेपालको साथ लिएर नेकपा कब्जाको षड्यन्त्र गरे । तर असफल भए । असफल भएपछि प्रधानमन्त्रीलाई जसरी पनि हटाउने मिसनमा रहेका प्रचण्डले त्यसमा स्वम ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीलाई बाधक देखे । त्यसैले राष्ट्रपतिमा जनताको छोरी हुनुभन्दा, जननेता मदन भण्डारीको धर्मपत्नी हुनुभन्दा बरु ज्ञानेन्द्रलाई नै राजाका रुपमा फर्काउन पाए हुन्थ्यो भन्ने लाग्यो ।
पाचौं, राष्ट्रपतिले संविधानको रक्षाको नेतृत्व संरक्षकको रुपमा र राष्ट्रको अभिभावकत्व लिनुभयो । प्रचण्ड, देउवा र माधव नेपाल चाहन्थे, राष्ट्रपतिले संविधानले दिएको अभिभावकको भूमिका खेल्नुहुँदैन, कार्यकारीको सिफारिस कार्यान्वयन गर्नुहुँदैन । तर त्यसो गर्न सम्भव थिएन र गर्नुभएन । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिस अनुमोदन गर्नुभयो, संविधान विपरित गएर प्रधानमन्त्री ओलीलाई असहयोग गर्नुभएन । प्रचण्डको मोर्चा चाहान्थ्यो, राष्ट्रपति भण्डारीले उनीहरुले जे चाहेका थिए, त्यो गरिदिनुपथ्र्यो । ओलीलाई सत्ताबाट हटाउन सहयोगी भूमिका खेलिदिनुपथ्र्यो, प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपथ्र्यो, माधवलाई नेकपाको अध्यक्ष बनाउनुपथ्र्यो, यस्ता नाजायज काम राष्ट्रप्रमुखबाट गराउन चाहनुहुन्थ्यो तर त्यो भएन । जव आफूले चाहे अनुसारको काम राष्ट्रपतिबाट हुँदैनभने किन चाहियो राष्ट्रपति संस्था ? यस्तो आफ्ना नाजायाज प्रस्ताव र शर्त नमान्ने राष्ट्रपतिभन्दा त राजा ज्ञानेन्द्र नै ठिक भन्ने प्रचण्डलाई लाग्नु स्वभाबिक नै हो ।
प्रचण्डले दायाँबायाँ राखेका आफूलाई प्रजातन्त्रवादी ठान्ने नेताहरुको पनि राजतन्त्रप्रतिको मोह बिगतमा देखिएकै हो । कांग्रेस सभापति शेरबहादुर देउवाले दुइदुइ पटक प्रजातन्त्र दरवारलाई बुझाएका हुन । एमाले तीन कार्यकालका प्रमुख माधव नेपालले प्रधानमन्त्री हुन पाउँभन्दै दरबारमा निबेदन हालेका हुन भने ज्ञानेन्द्रको पाउमा दाम चढाएका हुन । प्रतिगमन आधा सच्चिएको भन्दै दरबारसँग मित्रता कायम राख्नै खोजेका हुन् । त्यसैले प्रचण्ड, देउवा र माधवले जनताको छोरी राष्ट्रपति भएको मन नपराएर ज्ञानेन्द्रजस्तै राजा खोज्नुलाई किन अनौठो मान्नु ।
प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार २ : ३५ बजे
प्रतिक्रिया