एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाउनुभएको छ । बैठक आज १ बजे बालुवाटारमा बस्ने तयारी भएको छ ।

निवर्तमान स्वास्थ्यमन्त्री तथा पार्टी कार्यालय सचिव शेरबहादुर तामाङकाअनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टी एकता तथा अदालतको अन्तरिम अदेशपछिको उत्पन्न वस्तुस्थितिबारेमा केन्द्रीत भएर छलफल हुनेछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तयारी भएको र नेताहरु बालुवाटार पुग्नेक्रम जारी रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जेठ २१ र २७ गते दुई चरणमा विस्तार गर्नुभएको मन्त्रिपरिषदलाई मंगलबार सर्वोच्चको इजलासले बदर गर्ने अन्तरिम आदेश गरेको थियो । सो अदेशपछि उत्पन्न परिस्थति र अगाडि बढ्ने कार्यनीतिबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले मंगलबार साँझ नै पदमुक्त हुनुभएका मन्त्रीहरुसँग पनि छलफल गर्नुभएको थियो ।

आजको बैठकमा स्थायी कमिटीका सदस्य तथा पदमुक्त हुनुभएका मन्त्रीहरुको समेत सहभागीता रहने कार्यालय सचिव तामाङ्ले जानकारी दिनुभयो । सर्वोच्चले महाधिवेशन आयोजक कमिटीले गरेको निर्णयलाई मान्यता नदिने यसअघि आदेश गरेपछि एमाले भ्याकेटमा गएको छ । सोबारे सर्वोच्चमा वहस जारी छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १ : २० बजे