प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ सुरु

काठमाडौँ । सर्वोच्व अदालतमा प्रतिनिधिसभा विघटन सम्बन्धी परेको मुद्दामा सुनुवाइ सुरु भएको छ । कांग्रेस सभापति एवं प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालगायत १४६ सांसदले दायर गरेको रिट माथि सुनुवाइ सुरु भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

सुनवाई सुरुहुनुअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बहसको तयारीमा रहेका दुवै पक्षका अधिवक्ताहरूलाई समयसीमाबारे स्मरण गराउनुभयो । मुद्दाको सुनुवाइका लागि पक्ष र विपक्षी वकिलहरुका लागि १५–१५ घण्टाको समय छुट्टाइएको छ । प्रधानन्यायाधीश जबाराले छुटाइएको समयभन्दा १ मिनेट पनि बढी दिन नसक्ने जनाउँदै त्यसै अनुसार बहसमा भाग लिन अनुरोध गर्नुभयो । ‘निवेदकका लागि हामीले अहिले १२ घण्टा राखिदिन्छौं,’ उहाँले भन्नुभयो, ‘कसले कति घण्टा बहस गर्ने हो, आफू छुट्याउनुहोला ।’

त्यसलगत्तै निवेदकका तर्फबाट बहस शुरू भएको हो । बहस शुरू गर्दै खम्बबहादुर खातीले मुद्दासँग सम्बन्धित तथ्यबारे इजलासलाई जानकारी गराउनुभएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १ : ०६ बजे