साफ यू–१७ च्याम्पियनसिप आजदेखि

गरिब देशहरूमा खोपको चरम अभाव : डब्ल्यूएचओ

काठमाडौँ । विश्वव्यापी साझेदारी कार्यक्रममार्फत कोभिड-१९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो सङ्ख्याका गरिब देशहरूसँग आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने गरी पर्याप्त मात्रामा खोप नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ।

बिबिसीका अनुसार डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डा.ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रम मार्फत ९ करोड खोप १ सय ३१ वटा देशमा वितरण भएको बताए। तर उनले विश्वभर फैलिरहेको भाइरसबाट मानिसहरूलाई संरक्षण गर्न उक्त सङ्ख्या अपर्याप्त रहेको बताए।

अफ्रिकाका देशहरूमा सङ्क्रमणको तेस्रो लहर देखा पर्दा खोपको अभावका विवरण आएका हुन्। सोमवार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले धनी देशहरूले खोपलाई जम्मा गरेर राख्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका थिए।

महादेश स्तरको कुरा गर्दा हालसम्म अफ्रिकामा ४ करोड मानिसहरूलाई मात्र खोप दिइएको छ जुन त्यहाँको जनसङ्ख्याको दुई प्रतिशतभन्दा कम भएको रामापोसाको भनाइ छ । यसलाई सम्बोधन गर्न दक्षिण अफ्रिकामा नै थप खोपहरू उत्पादन गर्ने हिसाबमा आफ्नो सरकारले काम गरिरहेको उनले बताए।

अघिल्लो वर्ष धनी देशहरूले गरिब देशहरूलाई खोपको मूल्यमा छुट सुनिश्चित गर्ने सहितको प्रतिबद्धता जनाएपछि विश्वभर खोपको पहुँच पुर्याउन कोभ्याक्स अभियान थालिएको थियो।

डब्ल्यूएचओको नेतृत्वमा अरू सङ्गठनहरू पनि सहभागी रहेको उक्त अभियानले सन् २०२१ भित्र दुई अर्ब मात्रा खोप उपलब्ध गराउने लक्ष्य लिएको थियो।

त्यस मध्ये अधिकांश गरिब देशहरूलाई चन्दा दिइने भनिएको थियो र ती देशमा कम्तीमा करिब २० प्रतिशत जनसङ्ख्यालाई खोप उपलब्ध गराउने अपेक्षा कोभ्याक्सको छ।

तर खोपको वितरण उत्पादनमा भइरहेका ढिलाइ र आपूर्तिको अवरोधले प्रभावित भइरहेको छ जसले कोभ्याक्समा मात्रै निर्भर देशहरूमा सङ्कट निम्त्याएको छ।

युगान्डा, जिम्बाब्वे, बाङ्ग्लादेश र ट्रिनिडाड एण्ड टोबागो हालैका दिनमा खोपको अभाव सामना गर्ने केही देशहरू हुन्।

डब्ल्यूएचओले जिनिभामा गरेको ब्रिफिङ्‌मा सोमवार डाक्टर एलवर्डले अहिले देखिएको खोपको अभाव गम्भीर रहेको बताए।

उनले कोभ्याक्समा ८० न्यून आय भएका देशहरू आबद्ध रहेको जानकारी दिँदै उनले कम्तीमा आधा देशहरू आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने अवस्थामा नरहेको बताए।

उनले कतिपय देशहरूले अभावसँग जुझ्न बजार मूल्यभन्दा बढीमा खोपको खरिद् जस्ता कठिन विकल्प रोजिरहेको उल्लेख गरे।

खोपको आपूर्तिमा असहजता देखिएसँगै कतिपय धनी देशहरूले आफूलाई बढी भएको खोपको मात्रा कोभ्याक्स र अरू माध्यमबाट वितरण गर्ने प्रयास अघि बढाउन थालेको देखिन्छ।

सोमवार अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले ५ करोड ५० लाख खोप वितरणको योजनाबारे घोषणा गरेको छ।

त्यसमध्ये ४ करोड १० लाख कोभ्याक्स अभियानमार्फत बाँडिनेछ भने बाँकी १ करोड १० लाख सिधै प्राथमिकतामा रहेका देशहरूलाई दिइनेछ।

यो अमेरिकाले कोभ्याक्सलाई उपलब्ध गराउने भनेर घोषणा गरेको ५० करोड खोपको मात्रा भन्दा अलग्गै किसिमको सहयोग हो।

धनी राष्ट्रहरू सम्मिलित जी-सेभेनको सम्मेलनमा बाइडनले अमेरिकाले आधा अर्ब खोपको मात्रा उपलब्ध गराउने बताएका थिए।

उक्त समूहका देशहरूले कूल मिलाएर गरिब देशहरूलाई यो वर्ष भरिमा १ अर्ब खोपको मात्रा दिने घोषणा गरेका थिए।

तर अभियानकर्ताहरूले उक्त प्रतिबद्धतामा कुनै महत्त्वाकाङ्क्षा नझल्किएको र त्यो एकदम सुस्त किसिमले कार्यान्वयन भइरहेको टिप्पणी गरेका थिए।

उनीहरूले एक शताब्दी यताकै खराब महामारीसँग जुझ्न विश्व नेताहरू गम्भीर नभएको पनि बताइरहेका छन्।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ९ : १२ बजे