साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कुरा कोरोनाको  : घेराबन्दी चीनको

यतिबेला बिश्वमा करीब १७ करोड भन्दा बढी मानिसहरूमाथि महामारी कोरोनाको संक्रमण फैलिएको र तीमध्ये झण्डै ४० लाखभन्दा बढी मानिसहरूको इहलिला समाप्त पारीएको सम्वन्धमा फैलिएको प्रचारको कुइरिमण्डल केही महिनापिछ हटेर जाने स्थिति बन्ने देखिदैछ । यस सम्वन्धमा के चर्चा चलिरहेको छ भने बिश्वको अगुवा बनेको अमेरिका चीनको बढ्दो बिश्व प्रभावसँग टकराउँदै आएको छ । यो भाइरसको कुरामा चीनलाई फसाउन सकिने कुराहरूको खोजी गर्दै त्यसको निर्णायक स्थितिमा अमेरिका पुग्न थालेको पनि अहिले चर्चा भइरहेको छ । यस कुराका लागि अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकी गुप्तचर एजेन्सीहरूलाइ ९० दिनको समय दिएको कुरा पनि प्रकाशित छ । बितेको बर्षदेखि नै यो एउटा ठूलो बहसको  केन्द्रिय बिषय बन्दै आएको थियो । कतिपय पश्चिमेली र भारतीय बिशेषज्ञहरूले पनि यो भाइरस चीनको वूहान ल्याबमा तयार भएको भन्ने सन्देह पनि गर्दै रहेका हुन्  । पछिल्लो अमेरिकी कदमले यो बिषयलाई अझ बढी चर्चामा ल्याइदिएको छ । त्यसै क्रममा भर्खरै बृटेनमा सम्पन्न बिश्वका सात सम्पन्न देश जी–७ को शीर्ष बैठकको कुरा पनि वास्तवमा यसै कुरामा केन्द्रित रहेको देखियो ।

चीनले पनि यो अमेरिकी सन्देहप्रति तीब्र प्रतिकृयाका साथ खण्डन गरेको छ । अमेरिकाले चीन बिरूद्ध षडयन्त्र रचिरहेको भनेर चीनले खणडन गरेको मात्र छैन, अमेरिकाका सबै त्यस्ता ल्याबहरूको पनि जाँचबुझ गर्न खोलिनुपर्ने माग पनि चीनले गरेको छ । तर चीन बिरोधी भारतीय एकथरी बिश्लेषकहरू भने यस पटकको चीनको प्रतिकृयामा तीखोपनको साटो हडबडी बढी छ भनेर चीनका बिरूध्द मनोबैज्ञनिक दबाब दिइरहेका छन् । यसको एउटा कारण के पनि हुन सक्छ भने गएको बर्षसम्म यस बिषयमा चीनको साथमा खडा हुँदै आएको बिश्व स्वास्थ्य संगठनले पनि यो बर्ष यू–टर्न लिनथालेको देखिदैछ । त्यस संठनका महानिर्देशकले यो भाइरसको उत्पत्तिका बारेमा अझ थप अध्ययन अगाडि बढाइनु पर्ने पश्चिमा देशहरुको मागमा सहमति जनाएर एक किसिमले चीनको “खुट्टामुनिका जमिन डगमगाइदिने“काम गरेको देखिदैछ ।

चीनले गएको बर्ष मार्चमा नै विश्व स्वास्थ्य संगठन र आफ्ना देशका बैज्ञानिकहरुका तर्फबाट संयुक्तरुपमा ‘क्लिन चिट’ पाइसकेको हो । त्यस संयुक्त प्रतिबेदनमा भाइरस कुनै  ल्याबमा बन्ने संभावना एकदमै कम रहेको बताएर कुन मान्यतालाई बल प्रदान गरेको थियो भने चमेरो  जस्तो कुनै संक्रमित पशुपन्छीको संपर्कमा आउनाले यो भाइरस मानिसमा फैलिएको हुन सम्छ । तर अब बिश्व स्वास्थ्य संगठनको बद्लेको मनोदशाले चीनको पल्ला अलि कम भएकोजस्तो देखिन्छ । अब बिश्व स्वास्थ्य संगठनको परिबर्तित मनस्थितिले गर्दा सम्भव छ कि त्यस संगठनले चीनको वूहान ल्याबोरेटरीको छानबिनका लागि नयाँ किसिमले दबाब सिर्जना गरोस् र  सबै डाटाहरू छानबिनमा आए भने चीनमाथि लगाइएको फत्तुर सही पनि ठहरिन सक्छ भन्ने एकथरीको अनुमान छ । तर आफ्नो फत्तुर प्रमाणित नहुने भए पछि चीनले सबै प्रमाणहरु मेट्ने षडयन्त्र गरिसक्यो होला भन्ने कपोलकल्पित प्रचार पनि उनीहरूले गर्दै रहेका छन् र यस्तो स्थितमा कुनै थप प्रमाण यो छानबिनबाट आउन सक्ने सम्भावना एकदमै कम छ भनिरहेका छन् ।

तर यी सबै कुरा भइरहँदा पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनका बिरूद्ध  ’नहलमा दहल जोड्ने सही समय छानेका छन्’ भनेर उनीहरू दंग पनि छन्   । हुन त बाइडेनका पूबबर्ती राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै पहिलादेखि नै यो भाइरस चीनको ल्याबमा तयार गरेर संसारभरी फैलाएको भनेर हल्ला मच्चाइरहेका थिए । त्यतिबेला भने डेमोक्रेटिक खेमाले ट्रम्पको त्यो चीन बिरोधी कुरा गैर–जिम्मेवार बक्तब्यबाजी भनेर बिरोध जनाउने गरेको थियो । झूटो बयान र गलत जानकारी फैलाएका कारण ट्रम्पको छबि पहिला नै एक बिबादास्पद नेताको जस्तो बनेको थियो । त्यसैले राष्ट्रपति चुनाबमा धाँधलीको आरोपहरू जस्तै चीनलाई कठघरामा उभ्याउने कुरामा पनि उनले कुनै सबूत प्रमाणा पेश गर्न सकेका थिएनन् । अहिले डेमोक्रेटिक पार्टी लगायत सबैले उनकै कुरा दोहोर्याइरहेका छन् । त्यसैले ट्रम्पले अरू सबैले उही आफैले पैरबी गर्ने गरेको कुरा गरेर उनकै कुरामा सही छाप ठोकिरहेका छन् भन्ने मौका पाएका छन् । कुनै बेला उनको कुरा सिधै खारेज गरिदिने ह्वाइट हाउसका प्रमुख बैज्ञानिक सल्लाहाकार एन्थोनी फाउचीको राय पनि बद्लिसकेको छ । अब उनले पनि के भन्न थालेका छन् भने कोरोना भाइरसलाई प्राकृतिक मान्ने उनको बिचार शतप्रतिशत सही नहुन पनि सक्छ ।

त्यसकारण छानबिनको एउटा छेउ त्यस प्रश्नसँग पनि जोडिएको छ कि जो बाइडेनको फैसला अमेरिका समेत दुनियाँको बढ्दो दबाबको परिणााम हो या उनको हातमा कुनै बलियो सबूत प्रमाण पनि फेला परेको छ र उनी एकाएक यो मुद्दा उठाउन अग्रसर भएका हुन् ? एकथरी बिश्लेषकहरू त चीनमाथि  तेश्रो बिश्व युध्द छेड्ने गोप्य दस्ताबेजसँग यस कोरोना भाइरसको सम्वन्ध त छैन भन्ने प्रश्न पनि यतिबेला उठाइरहेका छन् र चीन तेश्रो बिश्वयुध्द गर्ने तयारीमा लागिरहेको जस्तो भान पार्न खोजिरहेका छन् । तिनीहरू के भन्दैछन् भने चीनको कथित बिस्तारबादी महत्वाकांक्षाको प्रभाव अमेरिकामा मात्र होइन त्योभन्दा बाहिर अष्ट्रेलिया, क्यानाडा, इजरायल, डेनमार्क, नर्बे, जापान र कोरिया जस्ता १३ प्रमुख देशहरूले पनि नयाँ ढंगले कोरोना भाइरसको छानबिन हुनु पर्छ भन्दै अमेरिकाको पक्षमा खडा भएको कुराले पनि प्रष्ट पार्दछ पनि भनिरहेका छन् । उल्लेखनीय छ कि भारतले पनि कोरोना भाइरसको उद्गमको पुनः छानबिन गर्नु पर्दछ भन्ने कुरा उठाइरहेको छ ।

पछिल्लो समय ब्रिटेनले यो चीनको घेराबन्दी गर्ने कुरामा बिशेष सकृयता देखाइरहेको देखिन्छ । उसले नाटोदेखि लिएर बृटेनका मित्र देशहरूलाई चीनबाट सुरक्षा दिने उदेश्यले आफ्नो  नौसेनाको सबैभन्दा शक्तिशाली जहाजी बेडा हिन्द–प्रशान्त क्षेत्रका लागि  रवाना नै गरिसकेको छ । त्यस बेडामा ३२ वटा एयर क्रयाफ्टकासाथ ३ हजार ७०० नौ–सैनिक सवार रहेको बताइएको छ । यसले आउँदा सात महिनासम्म भू–मध्यसागर र हिन्दमहासागर क्षेत्रमा २ हजार ६०० सामुद्रिक माइलभरीको यात्रा पार गर्ने छ । यो क्षेत्र कब्जा गर्न चीनले आक्रामक शैली अपनाउदै आएको भन्ने उनीहरूको आरोप छ । भनिन्छ कि अब त्यहाँ बृटेनले भारत समेत अरू कयौं देशहरूको साथमा ७० भन्दा बढी युद्ध अभ्यासहरू गरेर चीनका बिरूद्ध बिश्वका देशहरू लामबध्द भएको सन्देश दिन खोजिरहेको प्रतित हुन्छ ।
    
अनि यसो हुनुलाई भारतले निकै राम्रो ठानिरहेको छ । उसले चीन यसरी घेराबन्दीमा पर्नुलाई ठूलो  राहत मानिरहेको जस्तो छ । भारत वरिपरीका प्रायः    सबै छिमेकीहरू कि कोरा महत्वाकांक्षाले कि चीनका सामु नतमस्तक हुन बिवस भएका कारणले (रु) भारतको बिरूध्द खडा भएको उ ठान्दछ । कोरोनाको बिपत्तिमा अवसरको खोजी गर्ने षडयन्त्रमा चीन लागिरहेको फत्तुर पनि भारतले चीनलाई लगाइरहेको छ । कोरोनाको पहिलो लहरका बेला चीनले उत्तर तिरबाट टेढा आँखाले हेर्दैथियो अब दोश्रो लहरका बेला दक्षिण सीमातिरबाट नजर लगाएको कोरा आक्षेप पनि भारतले लगाएको छ । यस सम्वन्धमा उसले श्रीलंकाको हम्बनटाटा बन्दरगाह लीजमा लिए पछि चीनले कोलोम्बो नजिकै एउटा पोर्ट सिटी बनाउन लागिरहेको उदाहरण दिने गरेको छ । यस्तो स्थितिमा बृटेनको ठूलो जहाजी बेडा त्यस क्षेत्रमा तैनाथ गर्दा तनाब र संघर्षको अबस्था खडा होला तर पनि त्यसले चीनमाथि पेच कस्ने काम पनि गर्दछ भनेर भारतीय सत्ता खुशी छ ।

यतिबेला कोरोना भाइरस उद्गमको यो बल भने बिश्व स्वास्थ्य संगठनको हातमा छ भन्ने भारतको बिश्लेषण छ । अमेरिकाले त उसको तर्फबाट भाइरस छानबिनको बिगुल चीनका बिरूध्द बजाइनै सकेको छ । सम्भव छ, ९० दिनभित्र उसका गुप्तचर एजेन्सीहरूले कोरोनाको उद्भवसँग जोडिएका महत्वपूर्ण जानकारीहरू प्रकाशमा ल्याउँदा पनि होलान् । तर चीनले त्यसलाई सकार्छ भन्ने कुरामा उनीहरूको बिश्वास छैन । चीनले त्यसको प्रामाणिकता माग्छ र प्रश्न उठाइरहन्छ भन्ने कुरा पनि उनीहरू पहिलेदेखिनै भनिरहेका छन् । कोरोनाको सत्यता प्रकाशमा आउनका लागि बिश्व स्वास्थ्य संगठनले छाप लगाएमा चीनलाई बढ्दो उसको बिश्व प्रभावबाट अलग्याउन सकिन्थ्यो भन्ने उनीहरूको योजना  रहेको देखिन्छ । कोरोना भाइरसको बहानामा चीनको घेराबन्दी गर्ने चक्रब्यूह यसरी बनेको देखिदैछ । पछिल्लो जी–७ राष्ट्रहरुको बैठकको निशाना पनि यसै दिशामा केन्द्रित रहेको देखिएको हो ।

 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ७ : ४१ बजे