इतिहासको धर्मभकारी अभियान

पंक्तिकारका पिताको वास्तविक नाम अर्कै भएपनि उहाँलाई ‘समिति’, ‘समिति दाजु’, ‘समिति सान्दाई’, ‘समिति बा’, ‘समिति बाजे’ जस्ता उपनामद्वारा मानिसले संबोधन गर्दा किन त्यसो भनेको होला भन्ने जिज्ञासा बाल्य अवस्थामा नै त खासै भएन । माध्यमिक शिक्षा अध्ययनतर्फ उक्लिएर ज्ञानको स्तर बढ्दै गएपछि भने ‘दिनानाथ’ नाम भएका शिक्षाको प्रसार र समाजसेवामा योगदान गर्दै आएका बुबालाई किन अर्कै ढंगले संबोधन गरिएको रहेछ भन्ने कौतुहल भएको थियो । एकदिन किन तपाईलाई ‘समिति’ भनिएको हो भनेर जिज्ञासा राख्दा उहाँले आफू धर्मभकारी व्यवस्थापन गर्ने समितिको सदस्य भएकाले चिनजानका मानिसले ‘समिति’ भनेका होलान् भन्दै त्यस धर्मभकारीको कार्यसमितिले विगतमा प्रयोग गरेका तर च्यातिएका, मुसाले खाएका केही कागजात घरको कोठामा थन्क्याएर राखेको टिनको बाकस खोलेर देखाउनु भयो । औचित्य समाप्त भएर कामनलाग्ने भएका ती कागजलाई ओल्टाइ पल्टाई हेर्दा केही चिनेका मानिसबाट धान लिएको अनि केहीलाई दिएको जस्ता कुराहरू पनि देखेकै हो । 

संयोग पनि कस्तो हुँदो रहेछ भने जुन दिन विहान यो आलेख तयार पार्न केही पंक्ति तयार गरिँदै थियो, जन्मस्थानको परिवेश स्मरण हुँदै थियो, बालक हुँदा देखेको धर्मभकारी घर सम्झनामा आउँदै थियो, एक्कासी आमा विरामी भएको खबर आयो । यत्तिकैमा लेखनमा विश्राम लगाउनु प¥यो । साँझमा त आमाको देहान्त भएको खबर पाएकाले पीडाले छटपटिँदै आमाको अन्तिम संस्कारका निम्ति त्यतैतिर लाग्नु प¥यो । यसै कारण डेढ वर्षदेखि हरेक हप्ता शुक्रबार चक्रपथ डटकममा आलेख प्रकाशित हुँदै आएकोमा अस्थायी रूपमा विराम लगाउनु प¥यो । त्यसैले जुन अधुरो आलेखमा पंक्तिकारले पूर्णविराम लाउनु परेको थियो त्यसैलाई पूरा गर्नु नै उचित लागेर यो सामग्री पस्किइएको हो । 

झापा जिल्लाको साविक तोपगाछी–४, जोगिचौन र हाल कमल गाउँपालिका वडा नं.–४ जन्मस्थानको निकटवर्ति छिमेकीको आँगनमा भुइँतले घरमा बारेका काठहरू मक्काउँदै र टीनको छानामा खिया लाग्दै गएको एउटा भकारीको धुमिल संझना पंक्तिकारलाई अहिले पनि भइरहेको छ । त्यो संरचना धर्मभकारीको अवधारणालाई त्यस क्षेत्रमा मूर्तरूप दिन किसानहरूबाट स्वेच्छापूर्वक संकलन गरीखाद्य सामग्री मुलतः धान भण्डारण गर्न निर्माण गरिएको भकारी घर थियो । यसको काम के हो भनेर जिज्ञासा राख्दा खासगरी हुनेबाट यस भकारीमा धान बचत गर्ने र समस्या परेको बेला वा अनिकाल परेको समयमा नहुनेलाई सस्तोमा धान वा खाद्यान्न उपलब्ध गराउने हो भन्ने जवाफ बुबाबाट पाएपछि यो एक लोककल्याणकारी संस्था रहेछ भन्ने छिपछिपे ज्ञान ऊ बेला नै भएको थियो । अहिले आएर खाद्य न्याय र खाद्य सुरक्षाका निम्ति स्थापित भएको ऊ बेलाको धर्मभकारीको असाध्यै ठूलो योगदान रहेको कुरा महसुस भइरहेको छ । 

एकताकाका अभियन्ता हुँदा हुँदै पनि पिताको ज्ञानको दायरा र हाल प्रौढताका कारणले धर्मभकारी सम्बन्धी आवश्यक पर्ने सबै कुराको जवाफ त पाउन गाह्रो हुन सक्थ्योतर पनि उहाँसँग केही न केही बुझ्ने उत्सुकता र व्यग्रता रहेकै थियो । २०७८ जेठ ४ गते आकस्मिक रूपमा हाल उहाँ रहनु भएको झापामा जानुपर्ने अवस्था उत्पन्न भएकाले त्यहाँ गएपनि उक्त कुरा बुझन सक्ने अवस्था भने भएन । ८३ वर्षको उमेरमा पंक्तिकारकी ममतामयी माता नर्वदादेवीको आकस्मिक रूपमा निधन भएकाले भावविव्हल भएर पुगेको अवस्था रह्यो । अनि ९३ बर्षका बृद्ध पिता ७१ वर्षे लामो वैवाहिक जीवनबाट एकल भई वियोगमा रहनु भएको र उहाँमा अल्जाइमरको प्रारम्भिक समस्या समेत भएकाले यसै बखत धर्मभकारीको बारेमा कुरा उप्काउनु प्रासंगिक पनि हुँदैनथ्यो । तर यसबारेमा बुबासँग केही बुझ्ने इच्छा भने बाँकी नै छ । धर्मभकारी अभियानमा बुबा संलग्न हुँदा आमाले पनि व्यावहारिक जीवनमा घटेका घटनाबारे निश्चय नै केही भन्न सक्नु हुन्थ्यो होला तर अब त्यो अवसर कहिल्यै नजुर्ने भएकोमा असाध्यै दुःख लागेको छ । बुझ्न ढिलो गरेकोमा ठूलो पछुतो पनि भएको छ । 

नेपालमा धर्मभकारीको अवधारणा कहिले आयो, त्यो कार्यान्वयनको संरचना कस्तो थियो, प्रभावकारीता कत्तिको रहेको थियो जस्ता कुरा बुझ्न बहुतै इच्छुक भएर केही प्रयास पनि गरियो । सायद वि. सं.२०१५/२५ को दशकमा स्थापित भई मुलुकभर विस्तार भएको यस संस्थाको संख्या, सामथ्र्य र सेवाको बारेमा बुझेर बताउने व्यक्तिहरू कोको हुन सक्छन् भनेर केही प्रबुद्ध व्यक्तिहरूसँग कुुरा पनि राखियो । तर यसको उद्भव, विकास र विघटनका बारेमा सत्य तथ्य बताउन सक्ने मानिस पंक्तिकारले अहिले सम्म पनि फेला पार्न सकेको छैन । 

धर्मभकारी भन्ने नामबाट नै सामान्यतया यो संकेत मिल्छ कि धार्मिक भावनाद्वारा अभिप्रेरित त्यस्तो संस्था जसले खाद्यान्न संग्रह गरेको हुन्छ र विपत्ति परेका बेलामा समस्या परेकालाई त्यसले अन्न वितरण गर्दछ । हाम्रो देशसँग समृद्धमौलिक साँस्कृतिक परम्परा छ, जसले मानिसलाई औपचारिक वा अनौपचारिक रूपमा संगठित बनेर समाजकल्याणमा लाग्ने प्रेरणा प्रदान गरिरहन्छ । यसकारण भन्न सकिन्छ कि– धर्मभकारी नेपाली समाजमा हुर्के बढेको परोपकार गर्ने भावनालाई मूर्तरूप दिने एउटा संयन्त्रको रूपमा विकसित भएको थियो । 

हाम्रो देशमा किसानको उत्थान गर्न, कृषि उपजको उत्पादकत्व बढाउन र भोकमरीको समस्या समाधान गर्न एकताका अस्तित्वमा आएको धर्मभकारीको अवधारणा र यसको क्रियान्वयनका बारेमा विस्तृतरूपमा बुझ्ने पंक्तिकारलाई अभिरुची छ । किनकी समुदायमा आइपर्ने अनिकाल हटाउन के–कस्ता किसिमका नीति, रणनीति तथा कार्यक्रमहरू विगतमा अपनाइएका रहेछन्, तिनका  प्रभावकारीताहरू कस्ता रहेका थिए र आगामी दिनमा विगतबाट सिक्नुपर्ने विषयहरू केके हुन सक्दछन् भनेर सबैले बुझ्नु पर्ने हुन्छ । यो आलेख तयार पार्न अग्रसर हुुनुको उद्देश्य यसबारेमा विद्वान, नीति निर्माता र कतिपय कार्यान्वयनकर्ताका तर्फबाट आफूले जानेका, भोगेका, देखेका र लागेका कुराहरूप्राप्त हुनेछन् भन्ने पनि हो । आशा गरौँ, सम्बन्धित व्यक्तिको यसउपर गम्भीर ध्यान पुग्नेछ र यस सम्बन्धि सामग्री, तथ्य, तथ्याङ्क जस्ता कुराहरू प्राप्त गर्न मद्दत मिल्नेछ । र, आगामी दिनमा धर्मभकारीका बारेमा स्पष्ट हुन सकियोस् । 

सायद संसारका विभिन्न कुनामा भविष्यमा पनि कुनै न कुनै रूपमा अनिकाल आइरहला ! न्याय, समानता, वर्गविहिनताको अवस्था सिर्जना हुँदा त भोकमरीले नसताउँदो हो भन्ने पनि लाग्न सक्छ । वास्तवमा अनिकाल र भोकमरी जस्तोसुकै अवस्थामा पनि समतामूलक समाजले निर्मूल पार्नसक्ने विषय होइन । प्रकृतिलाई जबसम्म मानिसले बसमा राख्न सक्दैन तबसम्म यस्तो अवस्था आइरहन्छ । त्यसो त प्रकृतिलाई बसमा राख्न सक्ने क्षमतामानिसमा कहिल्यै पनि हुने छैन । बरु प्राकृतिक नियमलाई बुझेर त्यस अनुरूपकृषि प्रणाली सञ्चालन गरी खाद्यान्न उत्पादनमा संलग्न भई भोकमरीबाट जोगिन लाग्नु नै आफूलाई सर्वश्रेष्ठ प्राणी ठान्ने मानिसको बुद्धिमानी हो । 

जब प्राकृतिक विपत्ति आउँछ त्यस बेला भोक मेटाउनका निम्ति मानव समाजले पहल गर्नैपर्छ । मनकारीहरूले विपत्तिमा परेकाको भोक प्यास मेटाउनका लागि प्रयास जारी राख्नै पर्छ । अर्थात् खाद्यान्नको जोहो मानव समाज रहेसम्म अपरिहार्य छ । सामुदायिक प्रयास नै त्यस्तो माध्यम हो जसले तत्क्षण र प्रभावकारी रूपमा स्थानीय तबरमा काम फत्ते गर्न मद्दत पु¥याउँछ । धर्मभकारी,सहकारी, साझाजस्ता हाम्रो समाजका परम्परागत मानवीय मूल्यहरूलाई प्रतिविम्बित गर्नेधरोहरहरू नै त्यस्ता परोपकारी सामुदायिक संस्थाहरू हुन् जसले आपत विपतमा प्रभावकारी रूपमा भूमिकानिर्वाह गर्न सक्दछन् । 

धर्मभकारी मानव समुदायले खाद्य प्रणाली सञ्चालन तथा व्यवस्थापनका क्षेत्रमा अतीतमा अवलम्बित कल्याणकारी कार्य हो भन्नेमा विवादछैन । सामुदायिक कृषि अर्थतन्त्रको एउटा महत्वपूर्ण पाटोको रूपमा समेत रहेको यस संस्थाको विकास र विघटनको बारेमा सत्य तथ्य पत्ता लगाउँदा नै आगामी दिनमा यस प्रकारका संस्थाहरूको दिगोपना कायम राख्न सकिन्छ । 

वैश्विक कोभिड–१९ महामारीले पटकपटक लपेटिसकेर न्यून आय भएका तथा दैनिक ज्यालादारीबाट जीवन गुजारा गर्ने मानिसहरूलाई भोकले सताइरहेको कथा व्यथा दिनानुदिन सार्वजनिक भइरहेकै छ । त्यसो त कृषि प्रधान मुलुक भएकाले त्यसको पीडा यहाँ ठूलो जनसंख्याले व्यहोर्नु परेको छैन । यति हुँदा हुँदै पनि सरकारी निकाय, परोपकारी संस्था, जनप्रतिनिधिमूलक निकाय, सामुदायिक संगठन र व्यक्तिले पनि सडक पेटी, विश्रामस्थल, उद्यान, सार्वजनिक भवन आदिजस्ता ठाउँमा पंक्तिबद्ध भएका भोकाएका मानिसहरूलाई खाना वितरण गरिरहेको जानकारीश्रव्य दृष्य माध्यमबाट प्राप्त भइरहेकै छ । यसमहाव्याधिले पुनः एकपटक धर्भभकारीजस्ता परोपकारी संस्थाको आवश्यकता बोध गराएको छ । 

हाम्रो देश प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले बाढि, पहिरो, भूकम्प, आगलागीको चपेटामा पर्नुपरेको, कृषिको आधुनिकीकरण र व्यावसायीकरण हुन नसक्दा उत्पादन र उत्पादकत्वमा पछि परेको, भौगोलिक विकटताका कारणले सार्वजनिक वितरण प्रणालीलाई प्रभावकारी तुल्याउन नसकिएको, जलवायु परिवर्तनले उत्पादन तथा वितरणमा चुनौति थपेको, युवा जनशक्ति कामको खोजीमा थातथलोबाट पलायन भएकाले खेतीयोग्य जमिन बाँझै रहने प्रवृत्ति तीब्र बनेको तथा गरिबीको रेखामुनीको संख्या समेत उल्लेख्य रहेको परिवेशमा विपतमा परेकाकोखाद्य सुरक्षाकोप्रवन्धका निम्ति सम्बद्ध सबै पक्षले अतिरिक्त खाद्यान्न सञ्चय गर्नैपर्ने अवस्था रहेको छ । यस्ता यथार्थताहरूले पनि धर्मभकारीजस्ता संस्थाको आवश्यकता बढ्दै गएको महसुस हुन्छ । 

अर्को महत्वपूर्ण विषय त के पनि छ भने खाद्य अधिकारलाई संविधानले मौलिक अधिकारको रूपमा स्वीकार गरिसकेकाले र यस हकको कार्यान्वयन सम्बन्धी ऐन समेत जारी भएकाले सम्पूर्ण नागरिकलाई जस्तो सुकै बेलामा पनि खान पाउने परिस्थिति निर्माण गर्नु राज्यको दायित्व हुन आएको छ । त्यसैले आधारभूत मानव अधिकारको रूपमा रहेको खान पाउने अधिकारको सम्बद्र्धनका लागि पनि धर्मभकारी जस्ता संस्थाहरूको स्थापनामा जोड दिएर मानिसलाई भोकबाट बचाउन राज्यले सजकतासहित यथोचित ध्यान दिनु पर्दछ ।  

हाम्रो मुलुकमा वर्गीय विभेदका अतिरिक्त जातीय, लैङ्गिक तथा क्षेत्रीय विभेदसमेत अद्यापि कायमै रहेको हुँदामानिसले भोकमरी र अनिकालको सामना गर्नुपर्ने अवस्था हटिसकेको छैन । यहि परिवेश र परिस्थितिमा राज्यले संवैधानिक तथा कानूनी दायित्व प्रभावकारी रूपमा बहन गर्न नसक्ने अवस्थाउत्पन्न हुनु स्वभाविक हो । यस कारण पनि कल्याणकारी परोपकारी संस्थाहरूलाई पुनःस्थापित गर्दै र सुदृढ तुल्याउँदैअनिकाल तथा भोक निवारणका निम्ति सक्रियता, सहकार्य र सेवा बढाउनु पर्ने खाँचो रहेको छ । सबैलाई चेतना भया :
 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ८ : ४२ बजे