धरहराबाट उपत्यका नियाल्ने रहर

सोसल मिडिया व्यवस्थित गर्न सरोकारवालासँग काउन्सिलको अन्तरक्रिया 

काठमाडौं । ‘अनलाइन टिभी, (युट्युबलगायत सामाजिक सञ्जाल) र अनलाइन मिडियालाई कसरी व्यवस्थित गर्ने’ भन्ने विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरूले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने बताएका छन् । 

अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिल सबै पत्रकारको साझा संस्था भएकाले हरेक पत्रकार र मिडियाको स्वामित्व हुने बताउनुभयो । उहाँले सोसल मिडियाबाट आउने अडियो/भिडियो सामग्रीहरूमा पत्रकारिता भए/नभएकोबारे बुझ्न छलफल राखिएको बताउनुभयो । सत्यतथ्य सूचना र समाचारको सम्प्रेषणबाट समाजमा सकारात्मक सञ्चार गराउन इन्टरनेटबाट दिइने  सामग्रीलाई कसरी व्यवस्थित गराउने भन्ने सम्बन्धमा काउन्सिल गभ्भीर  भएको उहाँको भनाइ थियो ।   अध्यक्ष बस्नेतले सल्लाह, सुझावलाई ग्रहण गर्दै राज्यका निकायसँग समन्वय र सहकार्य सहित अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीले पत्रकार महासङ्घ र काउन्सिल मिलेर जारी गरेको आचारसंहिताभित्र रहेर गरिने पत्रकारिताबाटै ‘स्वच्छ, स्वस्थ, स्वतन्त्र मर्यादीत पत्रकारितामैत्री प्रेस काउन्सिल नेपाल’ निर्माण हुने बताउनुभयो । उहाँले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषणबाट मात्रै पत्रकारिता गर्नुपर्ने भन्दै सम्पादन बिना राखिएका सामग्री पत्रकारिताभित्र नपर्ने उल्लेख गर्नुभयो । 

बोर्ड सदस्य दीपक पाण्डेले पत्रकार र मिडिया के हो भन्ने कुरा बुझ्न आवश्यक भएको  भन्दै  सोसल मिडियाबाट पत्रकारिताको नाममा गरिदैँ आएका अभ्यासको निर्ममसमीक्षा गर्ने समय आएको बताउनुभयो । मिडिया सञ्चालन गर्दा धरौटी राख्नुपर्ने व्यवस्था हुनुपर्ने, भावनाको व्यापार पत्रकारिताभित्र नपर्ने भन्दै स्वतन्त्रताको उपभोगसँगै कर्तव्य पालना गर्नुपर्ने उहाँको भनाइ थियो । 

बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले काउन्सिलले आचारसंहिताको परिधिभित्र रहेर स्वस्थ पत्रकारिताको विकासको लागि मिडियालाई नियमन र निर्देशन गर्ने गरेको बताउनुभयो । पत्रकार भुवन केसीले सञ्चारकर्मी र पत्रकार फरक भएको भन्दै काउन्सिलको भूमिकाबारे प्रष्ट हुनुपर्ने बताउनुभयो । उहाँले  सोसल मिडिया र पत्रकारिता बेग्लै भएकाले सबै युट्युबरले पत्रकार नै बन्न खोजेको हो होइन बुझ्नु पर्ने बताउनुभयो । अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले  सोसल मिडियालाई जिम्मेवारी बोध गराउनुपर्ने, युट्युबलाई सङ्गठितगर्नुपर्ने, चौंथो पुस्ताको पत्रकारितालाई  सशक्त बनाउनुपर्ने  लगायतका धारणा राख्नुभयो । 

पत्रकार पवन पौडेलले सुन्दा उस्तै लाग्ने तर हिज्जे फरक हुने अनलाइनका नामका खोलिएका वेबसाइटले थप समस्या निम्ताउनेतर्फ सजग हुनुपर्ने बताउनुभयो । पत्रकार एवं सूचना प्रविधि विज्ञ विनोद भट्टराईले काउन्सिलले मिडियालाई गर्ने कारबाहीसार्वजनिक गर्नुपर्ने बताउनुभयो । कपुरबोट डटकमका सञ्चालक सन्तोष देउजाले युट्युबबाट हुने आम्दानीलाई वैधानिक गराएर करको दायरामा ल्याउनुपर्ने बताउनुभयो । अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्यालले इन्टरनेटको प्रयोगबाट विभिन्न एप्स र सञ्जालमा  आउने अडियो/भिडियो पत्रकारिताभित्र नपर्ने उल्लेख गर्नुभयो ।

कसैको घरभित्र पसेर व्यक्तिगत कुरा सार्वजनिक गर्नु पत्रकारिताको नैतिकताभित्र नपर्ने चक्रपथ डटकमका सम्पादक कविता अधिकारीको भनाइथियो । पत्रकार केपी ढुङ्गानाले सोसल मिडिया र मिडियामा भिन्नता रहेको भन्दै ४ बर्षको बालकलाई के सोध्ने, के नसोध्नेसम्मको ज्ञान नभई राखिने भिडियो, अनुमतिबेगर खिचिएको भिडियो, यौन्नजन्य भिडियोलगायतका सामग्री पत्रकारिताको मान्यताभित्र  नपर्ने स्पष्ट पार्नुभयो । 

डिजिटल मिडिया फाउन्डेसनका प्रवेश सुवेदीले समस्या हरेक क्षेत्रमा हुने काउन्सिलले सैद्घान्तिकरूपमा प्रष्ट भएर आ–आफ्नो कर्तव्य अघि बढाउन सुझाव दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले प्रविधिको विकाससँगै पत्रकारिताको क्षेत्रपनि फराकिलो बन्दै गएकाले समस्याहरू बढेको बताउनुभयो । उहाँले सामाजिक  सञ्जाललगायत इन्टरनेटका माध्यमबाटप्रकासन हुने  सामग्रीलाई पत्रकारिता भनेर अङ्गिकार गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गरेर निष्कर्ष निकालिने बताउनुभयो । 

 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ७ : ०३ बजे