दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

मन्त्री नपाएपछि ‘मुडफ्रेस’ गर्न हाइकिङमा योगेश

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै बेला ‘बैगुनी केटो’ को संज्ञा दिनुभएका सचिव योगेश भट्टराई वर्तमान सरकारमा मन्त्री नभए पछि ‘मुड फ्रेस’ गर्न हाइकिङमा निस्कनु भएको छ ।

मुलुकको ४५ ‍औँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएका ओलीले पद तथा गोपनीयताको सपथ लिनु अघि योगेश भट्टराई सञ्चार मन्त्री बन्ने व्यापक प्रचारबाजी भएको थियो । तर, मन्त्रिपरिषद् बिस्तार हुँदा सञ्चार मन्त्रीमा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले बाजी मार्नुभयो । त्यस पछि फुर्सदिलो हुनु भएका भट्टराई आइतबार बिहानै विष्णुमतिको मुहान विष्णुद्धारसम्मको यात्रामा निस्केको फोटो सामाजिक सञ्जालमा पोस्टाउनु भयो ।

बुढानिलकण्ठ मन्दिर–डाँडागाउँ–विष्णुद्धार–मुहानपोखरी हुँदै पुन: बुढानिलकण्ठ आइपुगेको र यात्रामा रमेश बराल सहयात्री बनेको उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

हरियो र पहेलो रंग मिसिएको ज्याकेट र कालो चश्मामा देखिनु भएका पार्टी सचिव भट्टराई फोटोमा आफूलाई विन्दास देखाउने प्रयास गर्नु भएको छ । तर, उहाँका निकटस्थ भने व्यापक प्रचारकाबीच मन्त्री नबनेपछि साथीसंगतिको जिज्ञासा छल्न र मुड फ्रेस गर्न हाइकिङ तिर लागेको बताउँछन् ।

त्यसो त हरेक शनिबार जसो सचिव भट्टराई दलबलसहित यस्तै यात्रामा निस्कने गर्नुहुन्छ । 'काठमाडौँ आसपासका डाँडाकाडाँमा कुनै गोरेटो बाँकी छैन होला, अब योगेश दाइको पाइला नपरेको,' उहाँको हाइकिङ टोलीमा बेलामौकामा सामावेश हुने एक सदस्य भन्नुहुन्छ– 'स्वास्थ्यप्रति अत्यन्तै सचेत भट्टराईको हिँडाईमोह गज्जबको छ।'

त्यसो त भट्टराईको मन्त्री पद पक्का बनेको हल्ला जति फेलिए पनि वास्तवमा उहाँ मन्त्री बन्ने सम्भावना अत्यन्तै कम थियो । उहाँभन्दा अघि कोशी प्रदेशबाट मन्त्री बन्ने लाइनमा निवर्तमान खानेपानी मन्त्री राजेन्द्र राई, पार्टीका पुराना तथा अवसर कमै पाएका राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल, झापाबाट दुई पटक प्रत्यक्ष निर्वाचित सांसद एलपी साँवा लिम्बु र मानवीर राई अघि हुनुहुन्थ्यो ।

तर, विषयवस्तु भन्दा व्यक्ति केन्द्रित प्रचारबाजीमा रमाउने 'चर्चाकारिता' ले एमालेभित्र पाकिरहेको मन्त्री भान्साको बासना थाहा पाउन सकेन । र, परिणाम आउँदा देवेन्द्र दाहाल र मिडिया नजरमा नपर्नुभएका मानवीर राईले ओली क्याबिनेटमा महत्वपूर्ण जिम्मेवारी पाउनुभयो । 

तीन वर्ष अघि परमादेशबाट सत्ता छोडाइनु भएका ओली अहिले जनादेशबाट सत्तामा फर्कनु भएको हो । इतिहास पल्टाउने हो भने, ओलीलाई अप्ठयारो परेको बेला योगेशले साथ दिएको भेटिँदैन । 

करिब साढे तीन वर्ष अगाडि राजनीतिक घेराबन्दी र सत्ता स्वार्थको घृणित खेलका बीच तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्न गरेको सिफारिस  राष्ट्रपतिद्वारा स्वीकृत हुँदा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहनु भएका योगेश भट्टराईले राजीनामा दिनु भएको थियो । भट्टराईले सिंहदरबारस्थित विकास समितिको हलमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको दृश्य अहिले पनि सामाजिक सञ्जालमा हेर्न पाइन्छ ।

त्यतिबेला पार्टीमा माधवकुमार नेपालको नेतृत्वमा ओलीलाई चरम घेराबन्दी गरि कामै गर्न नदिएपछि बोलाइएको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद् विघटनको प्रस्ताव राख्नु भएको थियो । प्रधानमन्त्रीको प्रस्तावमा तत्कालिन ऊर्जा मन्त्री वर्षमान पुन, कृषि मन्त्री घनश्याम भुसाल र पर्यटन मन्त्री योगेश भट्टराईले ओलीको उक्त प्रस्तावको तत्काल प्रतिवाद गरेको र विघटनको सिफारिस भएपछि भट्टराईसहितका सात मन्त्रीले सामूहिक राजीनामा दिनुभएको थियो ।

योगेश भट्टराईसँगै गिरिराजमणि पोखरेल, वर्षमान पुन, घनश्याम भुसाल, बीना मगर, शक्तिबहादुर बस्नेत, रामेश्वर राय यादवले राजीनामा दिनु भएको थियो । 

'काठमाडौँमा चुनाव हार्दा–हार्दा हैरान हुनुभएका भट्टराईलाई अध्यक्ष ओलीले नै ताप्लेजुङ पठाएर स्थानीय नेताहरूको असहमतिका बावजुत टिकट दिनु भएको थियो । ताप्लेजुङको चुनावी सभामा आफैँ पुगेर चुनाव जिताएर पठाए मन्त्री बनाउने उद्घोष गरेर अध्यक्ष ओलीले भट्टराईको जितलाई सुनिश्चिति गराउनुभएको थियो', यी घटनाक्रम नियाली रहनुभएका एक एमाले नेता वर्तमानसँग इतिहासको प्रसङ्ग सम्झँदै भन्नुभयो–'तर आफैँले थुप्रै असहजताका बीच मन्त्री बनाएको मान्छेले अप्ठयारो परेको बेलामा ओलीको साथ छोड्नुभयो । त्यसपछि नै चित्त दुखेर हुनसक्छ ओलीले भट्टराईलाई बैगुनी केटोको संज्ञा दिनुभयो ।’

वास्तवमा दुःख पर्दा आफूलाई साथ नदिने मान्छेलाई अहिले ओलीले मन्त्री बनाउन सम्भावना नै थिएन । 

टिकट दिँदा र मन्त्रीमा नियुक्त हुँदासमेत भट्टराई तत्कालिन एमालेको माधवकुमार नेपाल समूहमा हुनुहुन्थ्यो । अर्को समूहको भए पनि अध्यक्ष ओलीले रुचाइएको पात्र हुनुहुन्थ्यो भट्टराई । तर, भट्टराईलाई ओलीले गरेको विश्वास गरे पनि सोही अनुरुपको व्यहार नदेखाएकाले अहिले मिडियाले मन्त्री बनाए पनि उहाँको नाम खासै चर्चामै नआएको यथार्थ एमालेवृत्तमा चर्चा भैरहेको छ । 

 

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १ : १८ बजे