दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एमालेलाई फुटबाट जोगाउन नेता खनालको आह्वान

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई फुटबाट जोगाउन आह्वान गर्नु भएको छ । स्वास्थ्य उपचारका लागि आज भारतको नयाँ दिल्ली जानु अघि उहाँले आज विज्ञप्ति जारी गरी एकता सफलताको र फुट विनास बाटो भएकाले पार्टीलाई फुटबाट जोगाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।
रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी एकता जोगाउनुपर्ने उहाँको भनाइ छ । “पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्न सकेमा भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं,” उहाँले भन्नुभएको छ,“  त्यसैले टुट–फुट र विभाजन होइन एकता गराउने कार्यमा अगाडि बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु ।” 

उहाँले एमाले पार्टी सयौँ शहीदको बलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भूमिगत जीवनको सङ्घर्ष, त्याग र तपस्याको कारण सफलताको यो बिन्दूसम्म आइपुगेको उल्लेख गर्नुभयो ।  

पूर्वप्रधानमन्त्री खनालले   एमाले पार्टी देशको नेतृत्वदायी पार्टी बनोस्, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस् र बन्नेछ भन्ने अपेक्षा राखेको जनाउँदै भन्नुभएको छ, “तर जनताको चाहना र अपेक्षाविपरित हामीमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ ।” 

उहाँले देश, लोकतन्त्र र पार्टीको अहिलेको अवस्थाले आफूलाई अत्यन्तै चिन्तित बनाएको उल्लेख गर्दै विगतमा सबै मिलेर हासिल गरेका ठूला सफलतालाई स्मरण गर्न समेत आग्रह गर्नुभयो । 

“देशको बिथोलिएको वर्तमान राजनीतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । दलहरु विवाद र ध्रुवीकरणले विभाजन उन्मुख भएका छन्,” उहाँले भन्नुभएको छ, “त्यही अन्तर सङ्घर्षको पराकम्पन हाम्रो तत्कालीन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पर्यो र अहिले एमालेमा परिरहेको छ ।” 

नेता खनालले राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायित्वको खम्बाका रुपमा रहेका दलहरुभित्र विभाजन आउनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ति दुर्भाग्यपूर्ण अवस्था रहेको उल्लेख गर्नुभयो ।  

उहाँले सबै एकजुट भएर मुलुकका मुलभूत समस्या समाधान गर्न सबैलाई आग्रह समेत गर्नुभयो । देशका प्रमुख दलहरु र तिनका नेताहरुबीचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्ने उहाँको भनाइ छ ।  

उपचारपछि छिट्टै फर्कने
नेता खनालले भारतमा उपचारपछि आफू छिट्टै फर्कने विश्वास व्यक्त गर्नुभएको छ । “सफल उपचारपछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु,” उहाँले भन्नुभएको छ ।  

उहाँले उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण चिकित्सकको सल्लाहमा आफू आज उपचारका लागि  केही दिनका लागि देश बाहिर जान थालेको समेत जानकारी गराउनुभयो ।  

नेता खनाललाई आज अपरान्हे नेपाल वायु सेवा निगमको जहाजबाट भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका लागि लगिएको छ । 

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ६ : ०१ बजे