दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

पुरानो निर्वाचन क्षेत्रमा पूर्व राष्ट्रपति भण्डारी पुग्दा…

काठमाडौँ । ‘दिदी तपाईँ त सक्रिय राजनीतिमा आउनु पर्‍यो नि’,  एमाले बागमती प्रदेशसभा सदस्य उपेन्द्र पौडेलको यो भनाई आउनासाथ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जवाफमा मुस्कुराउँदै टाउको हल्लाउनु भयो ।

शनिबार जहरसिं पौवामा आयोजित कार्यक्रमको सन्दर्भ हो यो । आफ्नो पहिलेका निर्वाचन क्षेत्रमा पुग्दा र त्यहाँ कार्यक्रम चलिरहँदा पूर्व राष्ट्रपति भण्डारीमा एउटा अद्भुत आत्मीयता देखियो । अझ त्यहाँका स्थानीयले पूर्व राष्ट्रपति भन्दा पनि विगतमा झैँ ‘जनताकी छोरी विद्यादेवी भण्डारी‘ भनिरहँदा  उहाँ निकै भावुक देखिनुभयो । 

जहरसिं पौवामा आयोजित वृक्षारोपण कार्यक्रमको प्रमुख अतिथिको रुपमा निम्तो दिन जाँदा नै पूर्व राष्ट्रपति भण्डारीले राजनीतिक कार्यक्रममा भए नजाने बताउनुभएको थियो । तर, सबै दलका प्रतिनिधि सम्मिलित निम्तालु टोलीले जहरसिं पौवा सामुदयिक वन उपभोक्ता समिति र मदन भण्डारी प्रतिष्ठान शंखरापुरको आयोजनामा वृक्षारोपण कार्यक्रम रहेको बताए पछि भने उहाँ आउने निश्चित भएको हो । परिचित क्षेत्रबाट निम्तो आएकाले पूर्व राष्ट्रपति भण्डारीले चासो पूर्वक कार्यक्रमको बारेमा जानकारी लिनुभएको थियो ।

जननेता मदन भण्डारीको ७३ औँ जन्म जयन्तीको अवसर पारेर आयोजना गरेको कार्यक्रम भएकाले पनि उहाँ कार्यक्रम प्रति सकारात्मक हुनुहुन्थ्यो । तर, उहाँले फेरि टोलीलाई सोध्नुभएको थियो– ‘म त जान्छु । तर तपाईँहरु वृक्षारोपण मात्रै गर्नुहुन्छ कि त्यसलाई संरक्षण पनि गर्नु हुन्छ?'

निम्तालु टोलीले सबै रूखहरूको संरक्षण गर्ने प्रतिबद्धता जाहेर गरे पछि मात्रै उहाँले आफू कार्यक्रममा आउने आश्वासन दिनुभएको थियो।  

शनिबार उहाँ जहरसिं पौवा पुग्दा टाढाबाट सहभागी हुन आएका महिलाको हाउभाउ हेर्दा र कुराकानी सुन्दा लाग्थ्यो उनीहरु हिजोकै जनताको छोरी विद्यादेवी भण्डारी खोज्दैछन् । मुलुकको सबै भन्दा उच्च पदमा पुगेर आफ्नो कर्तव्य पूरा गर्नुभएको पूर्व राष्ट्रपतिलाई कुनै समय यही क्षेत्रले राष्ट्रिय राजनीतिमा ल्याएको भन्नेमा समेत स्थानीयले गर्व गरेका थिए । 

एमाले बागमती प्रदेशसभा सदस्य पौडेलले भन्नुभयो – धेरैपछि आज दिदीसँग ५० सालकै सांसद जस्तो भेट भयो ।   

भण्डारीले २०५० सालको उपनिर्वाचनमा यही क्षेत्रबाट जित्नु भएको थियो । मञ्चको भाषण र सहभागी वृत्तमा चलेको चर्चाबाट प्रष्टै बुझिन्थ्यो पूर्व राष्ट्रपति भण्डारीलाई धेरैले अझै सक्रिय भएको हेर्न चाहन्छन् । सधै सुख–दुःखमा साथ दिने एउटा सक्षम नारीलाई प्रत्यक्ष राजनीतिबाट गुमाउँदा कतै घाटा पो भयो कि ?

त्यसको जवाफ उहाँले बाहिर दिनु भएन । तर, कार्यक्रममा आयोजित सभामा बोल्दै उहाँले सबैलाई भावुक बनाउने जवाफ दिँदै भन्नुभयो– ‘तपाईँहरुले मलाई  ५० सालको उपचुनावमा माया गरेर जिताउनु भयो, तर म यस क्षेत्रको ५ महिना मात्र सांसद हुन,पाएँ । तत्कालीन प्रधानमन्त्रीले संसद् विघटन गरेर मध्यावधी चुनाव गराउनु भयो, त्यसपछि चुनाव क्षेत्र बढ्यो, यस क्षेत्रबाट पार्टीका सिनियर नेता मनमोहनले चुनाव लड्ने भएपछि मा २ नं क्षेत्रमा सर्नुपर्ने भयो ।'

उहाँको यो जवाफ सुनेपछि कार्यक्रम हलमा सहभागी धेरै भावुक देखिन्थे। 

भण्डारीले फेरि उनीहरुलाई सम्झाउँदै थप्नु भयो– तपाईँहरुको सुख–दुःखमा म सधैँ साथ छु, तपाईँहरुले के गर्नु भयो होला भन्नेमा सधैँँ चिन्ताले मलाई सताइरहन्छ ।  ५० सालको तपाईँहरुको सद्भाव सम्झेर म यहाँ आएकी हुँ । तर, अहिले धेैरै परिवर्तन भएछ । बाटो, खानेपानी, संञ्चारमा निकै प्रगति भएछ ।' 

त्यसै सन्दर्भमा उहाँले जहरसिं पौवाको आफ्नो पुरानो  अनुभव समेत सुनाउन भ्याउनु भयो । उहाँको अनुभव थियो–  चुनाव जितेपछि हामी धन्यवाद दिन यहाँ आएका थियौ, बाटो सजिलो थिएन । मुसलधारे पानी पर्‍यो, हामी निथ्रुक्कै भिज्यौँ । भिज्दै हामी पैदल हिँडेर साँखु पुग्यौँ, त्यसपछि भिजेका कपडामै गाडी चढेर घरमा पुग्यौँ ।' 
उहाँको यो भनाई सुनेपछि मंञ्चको बाँया तिर बसेकी शंखरापुर नगरपालिकाका उपमेयर सरिता श्रेष्ठका आँखाको डिलमा आँसु टिल्पिलाएको थियो । 

एमाले मात्र होइन कांग्रेसका नेताहरुको समेत भण्डारी राजनीतिमा आउनु पर्छ भन्ने अपैक्षा प्रकट भएको थियो । कार्यक्रममा बोल्र्द गणेशमान स्मृति पार्कका अध्यक्ष शंकर तिवारीले भण्डारीलाई क्षेत्रले मात्र होइन देशले नै खोजेको बताउनु भयो । 

कार्यक्रमका वक्ताका रुपमा आउनु भएका एमाले निर्वाचन क्षेत्र नं १ का अध्यक्ष कृष्ण बजागाईँले त पूर्व राष्ट्रपति भण्डारीलाई बिना हिच्किचाहट सक्रिय राजनीतिमा आउन अनुरोध गर्नुभयो ।  उहाँले भन्नुभयो ‘देशले तपाईँलाई खोज्यो, क्षेत्रले तपाईँलाई खोज्यो। यस बिषयमा नाई नभन्न्नु होला।’

उहाँले माथिल्लो पदमा पुगेपछि तल आउनु हुँदैन भन्ने मान्यता नराखेर सक्रिय राजनीतिमा आउन मिल्ने आधा दर्जन कारण र उदाहरणहरु पेस गर्नुभयो ।  उहाँले भन्नुभयो- 'योगप्रसाद उपाध्याय अन्तरिम कालमा गृहमन्त्री बन्नुभयो, तर पछि उहाँले राजदूत स्वीकार गर्नुभयो। मात्रिका कोइराला प्रधानमन्त्री बन्नु भएपछि पनि संयुक्त राष्ट्रसंघका लागि राजदूत बन्नु भयो। सिंगापुरमा धेरै पटक सरकार प्रमुख बन्नु भएका लि क्वान पछि राष्ट्र प्रमुखकै सल्लाहकार बन्नुभयो ।' 
 

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ११ : ३५ बजे