दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

ओली अनि असार २८, त्यो घटना र यो संयोग

काठमाडौँ । अधिकांश ठूला घटनासँग विभिन्न संयोग जोडिएका हुन्छन्, कुनै रोचक हुन्छ कुनै घोचक ।

नेपाली राजनीतिमा भने तीन वर्षको अन्तरालमा एउटा अनौठो संयोग जुरेको छ, त्यो हो नयाँ प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पदको । यसमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि छुट्नुभएको छैन । 

२०७८ साल असार २८ अर्थात आज भन्दा ठीक तीन वर्ष अघि सर्वोच्च अदालतले परमादेशबाट ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर देउवालाई प्रधानमन्त्री नियुक्त गरेको थियो ।  तर यसपटक अवस्था भने फेरिएको छ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ मै विश्वासको मत लिने मिति तय गर्नुभयो र कुल ६३ मतमात्र प्राप्त गरी प्रधानमन्त्री पद गुमाउनु भयो  ।

यता एमाले अध्यक्ष ओली भने अनेक राजनीतिक उतारचढावको चरण पार गरी दुई तिहाई सांसदको समर्थनसहित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री पदमा दाबी पेस गर्न पुग्नुभयो । साथमा हुनुहुन्थ्यो काँग्रेस सभापति शेरबहादुर द‍ेउवा । 

सरसर्ती हेर्दा तीन वर्ष अघि असार २८ मा सत्ता गुमाउनु भएका ओलीको असार २८ बाटै प्रधानमन्त्रीमा कमब्याक हुने निश्चित भयो । 

तीन वर्ष अघि असार २९ मा देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । ओली भने असार ३० मा प्रधानमन्त्री पदमा नियुक्त हुने सम्भावना छ । यतिमात्रै होइन, त्यतिबेला ओलीलाई जुन सुकै मूल्यमा प्रधानमन्त्री पदबाट हटाउन लागि पर्नुभएका दुई मुल पात्र प्रचण्ड र माधवकुमार नेपाल अहिले सबै भन्दा कम प्रभावकारी देखिनुभएको छ । अब बन्ने सरकारमा समेत उहाँहरूको कुनै भूमिका हुने छैन । यो तीन वर्षे राजनीतिक यात्राले अहिले फरक कित्तामा रहनुभएका ओली र प्रचण्ड-माधवको पोजिसन फेरिदियो ।

नेपाली राजनीतिक इतिहासको पानामा अविस्मरणीय रहेको यो घटनाको स्मरणमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, 'तीन वर्ष अगाडिको त्यो असार २८, अनि आजको यो असार २८! समय बलवान छ ।'

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १० : ४३ बजे