दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एमाले अध्यक्ष ओलीको चौथो सत्तारोहण : झापा आन्दोलनदेखि बालुवाटारसम्म 

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चौथो पटक मुलुकको ४५ औँ  प्रधानमन्त्री बन्नु भएको छ । 
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिसकेपछि चौथो पटक प्रधानमन्त्री बन्नु भएको हो । 

एमाले अध्यक्ष ओली नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थनमा आज प्रधानमन्त्रीमा नियुक्ति हुनु भएको हो । 

पहिलो पटक नेकपा (माओवादी केन्द्र)को समर्थनमा उहाँ ०७२ असोज २४ गते प्रधानमन्त्रीमा नियुक्ति हुनु भएको हो । उहाँको शपथ ग्रहण असोज २५ गते भएको थियो । पहिलो पटक प्रधानमन्त्री हुनु भएका २०७३ साउन ९ गते व्यवस्थापिका–संसदमा सम्बोधन, प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो । 

यस्तै दोस्रो पटक अध्यक्ष ओली माओवादी केन्द्रकै समर्थनमा २०७४ फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट ४१ औँ प्रधानमन्त्रीको रूपमा शपथ लिनुभयो । एमाले र माओवादी केन्द्रबीच बनेको सरकार झन्डै दुई तिहाइको रहेको र ओली शक्तिशाली प्रधानमन्त्रीका रूपमा रहनु भएको थियो ।  उहाँ २०७८ वैशाख ३० गतेसम्म प्रधानमन्त्रीमा हुनुभयो । त्यसपछि नेकपा फुटेपछि उहाँ तेस्रो पटक वि.सं. २०७८ वैशाख ३० देखि २०७८ असार २९ गतेसम्म ठुलो दलको हैसियतमा उहाँ प्रधानमन्त्रीमा रहनु भएको थियो । 

२००८ फागुन ११ गते तेह्रथुम जिल्लामा बुबा मोहन प्रसाद ओली र मधुमाया ओलीबाट जन्मिनु भएका अध्यक्ष ओली यस पटक भने काँग्रेस र एमालेबीच सात बुँदे सहमति अनुसार उहाँ प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको हो । 

२०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नु भएका प्रधानमन्त्री ओली एमालेको दुई पटक पार्टी अध्यक्ष र एक पटक  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शक्तिशाली अध्यक्ष बन्नुभयो ।२०७५ जेठ ३ गते एमाले र नेकपा (माओवादी केन्द्र)बीच भएको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षमा निर्वाचित हुनुभयो ।

यस्तै २०७९ मङ्सिर १० गते भएको एमालेको १० औ राष्ट्रिय अधिवेशनबाट ओली पुन : एमालेको अध्यक्षमा निर्वाचित हुनुभयो । नेकपा एकतापछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल बीच कुरा नमिलेपछि र सर्वोच्च अदालतले पार्टी एकतालाई मान्यता नदिएपछि एमाले अलग पार्टी बन्यो । 

अध्यक्ष ओलीले पार्टीमा १५ वर्ष कार्यकारी पद चलाएका पार्टीका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै २०७१ साउन १ नवौँ राष्ट्रिय महाधिवेशनबाट  पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभयो । त्यसभन्दा अगाडि २०७० माघ २१ गते उहाँले एमालेकै अध्यक्ष रहेकै वेला झलनाथ खनाललाई हराउँदै संविधानसभा तथा व्यवस्थापिका संसद्को दलका नेतामा निर्वाचित हुनुभयो । 

छ पटक सांसदमा निर्वाचित र एकपटक हार

​​​​​​​प्रधानमन्त्री ओली छ पटक संसदमा निर्वाचित हुनुभयो भने एक पटक निर्वाचन हार बेहोर्नुभयो । पहिलो पटक प्रधानमन्त्री ओली २०४८ सालमा बहुदलीय व्यवस्था स्थापना पछिको पहिलो आम निर्वाचनमा झापा–६ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनुभयो । 

यस्तै २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधि सभामा पुन निर्वाचित हुनुभयो । प्रधानमन्त्री ओली २०५६ सालको निर्वाचनमा झापा–६ बाट प्रतिनिधिसभामा पुन निर्वाचित हुनुभयो । 

२०७० सालमा मङ्सिर भएको संविधानसभा सदस्यमा झापा–७ बाट  निर्वाचित हुनुभयो । यस्तै २०७४ साल र २०७९ मा भएको संसद्को निर्वाचनमा उहाँ झापा–५ बाट निर्वाचित हुनुभयो । दोस्रो जनआन्दोलनपछि भएको २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा पराजित हुनुभयो । 

२०२० सालमा तेहथुमबाट झापामा बसाई सराइ गर्नु भएका प्रधानमन्त्री ओली २०२३ सालमा मार्क्सवादी अध्ययन दलमा संगठित भएर कम्युनिष्ट बन्नुभयो । २०२५ सालमा पूर्णकालीन राजनीतिक कार्यकर्ताको रूपमा गतिविधिमा संलग्न हुनु भएका प्रधानमन्त्री ओली २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नु भएको सोही वर्ष झापामा पहिलो पटक गिरफ्तारी समेत पर्नुभयो । उहाँ  २०३० सालसम्म  १० पटक गिरफ्तार पर्दै  रिहा हुनुभयो । 

पूर्णकालीन नेताको रूपमा आन्दोलन परिचालनको लागि उहाँ २०२७ जेठ ९ गतेदेखि भूमिगत जीवन सुरु गर्नु भएका उहाँ २०२८ सालमा झापा आन्दोलन सङ्गठन कमिटीको प्रमुखमा मनोनीत हुनुभयो । 

मन्त्री ओली २०३० असोज २३ गते राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको जस्ता विभिन्न झुट्टा आरोपमा गिरफ्तार पर्नुभयो र उहाँ ४ वर्ष गोलघर सहित १४ वर्ष जेल सजाय भोग्नुभयो । 

२०३५ पुस ११ गते जेल मै रहँदा गठित नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनिवादी)को संस्थापक नेताको हैसियत प्राप्त गर्नुभयो । 
२०४४ असार ११ जेलबाट रिहा हुनु भएका प्रधानमन्त्री ओली सोही वर्ष पुस २ गते बसेको नेकपा (माले)को केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनयन हुनु भयो र लगतै लुम्बिनी अञ्चलको इन्चार्जको जिम्मेवारी वहन गर्नुभयो । 
प्रधानमन्त्री ओली २०४७ जेठ १ गते पार्टीको युवा संस्था– प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको संस्थापक अध्यक्ष हुनुभयो । अहिले प्रआयुसंघलाई राष्ट्रिय युवा संघ बनाइएको छ । 

प्रधानमन्त्री ओलीले २०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (मार्क्सवादी)बीच एकीकरणपछि बनेको नेकपा ९एमाले०को संस्थापक केन्द्रीय सदस्य बन्नुभयो । त्यसको दुई वर्षपछि २०४९ सालमा केन्द्रीय विदेश विभागको प्रमुखको जिम्मेवारी पाउनुभयो ।प्रधानमन्त्री ओली २०५० केन्द्रीय प्रचार विभागको प्रमुखको जिम्मेवारी सहित पोलिटब्युरो सदस्य निर्वाचित हुनुभयो । 

२०५१ साल मङ्सिर १४ गते पहिलो कम्युनिष्ट पार्टीका प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा गठित पहिलो तथा लोकप्रिय सरकारमा प्रधानमन्त्री ओली गृहमन्त्रीको रूपमा २०५१ देखि २०५२ नौ महिना हुनुभयो । यस्तै २०५१ सालमा पार्टी संसदीय विभागको प्रमुखको जिम्मेवारी पाउनुभयो । 

२०५४ माघ नेपालगंजमा भएको पार्टीको छैटौँ राष्ट्रिय महाधिवेशनमा उहाँले प्रस्तुत गर्नु भएको कार्यनीतिक प्रस्ताव अत्यधिक मतद्वारा पारित भएको थियो र सोही महाधिवेशनमा उहाँ स्थायी समिति सदस्यमा निर्वाचित र विदेश विभाग प्रमुखको जिम्मेवारी पाउनुभयो । प्रधानमन्त्री ओली २०५६–२०५९ सालसम्म प्रमुख प्रतिपक्षी दलको उपनेताको रूपमा संसदमा भूमिका निर्वाह गर्नु भएको थियो ।  

आफ्रो–एसियन पिपुल्स सोलिडारिटी अर्गनाइजेसन (एएपिएसओ)नेपाल का अध्यक्ष २०५७ मा हुनु भएका ओली अहिलेसम्म पनि हुनुहुन्छ ।  

एमालेको जनकपुरमा २०५९ माघमा भएको पार्टीको सातौँ राष्ट्रिय महाधिवेशनमा पार्टीको आन्तरिक लोकतान्त्रीकरण र बहुपदीय प्रणाली सुरु गर्ने प्रस्ताव उहाँले प्रस्तुत गर्नुभयो र उक्त प्रस्ताव अर्को महाधिवेशनसम्मको लागि स्थगित भयो । सोही महाधिवेशनबाट ओली स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुखमा पुन निर्वाचित हुनुभयो ।  

दोस्रो जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा पुनर्स्थापित सांसदद्वारा २०६३ वैशाखदेखि २०६३ चैतसम्म  बनेको सरकारमा उहाँ उपप्रधान मन्त्री तथा विदेश मन्त्रीमा नियुक्ति हुनु भएको थियो । पार्टीमा उहाँ २०६५–२०६६ केन्द्रीय पार्टी स्कुल विभाग प्रमुखको रूपमा काम गर्नुभयो । 

२०६५ साल फागुनमा बुटवलमा भएको आठौँ राष्ट्रिय महाधिवेशनमा उहाँले प्रस्तुत गर्नु भएको आन्तरिक लोकतान्त्रीकरण र बहुपदीय प्रणालीको स्थगित प्रस्ताव स्वीकृत भयो र सोही महाधिवेशनमा अध्यक्ष पदको प्रत्याशी, तत्कालीन अध्यक्ष झलनाथ खनालद्वारा पराजित हुनुभयो र उहाँ विदेश विभागको प्रमुखको जिम्मेवारी सहित स्थायी समितिमा निर्वाचित हुनुभयो ।  
 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ५ : ४६ बजे