पूर्वप्रधानमन्त्री झलनाथ खनाल थप उपचारका लागि नयाँदिल्ली उडे

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि नर्भिक अस्पालमा उपचाररत खनाल थप उपचारका लागि नयाँ दिल्ली जान अस्पतालले दिएको सुझावअनुरुप उनलाई त्यसतर्फ लगिएको हो । खनाल नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली गएका हुन् ।

नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै थकान महसूस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिए पछि जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । यसअघि नेता खनाल कोभिड संक्रमित भएर घरमै आराम गरिरहेका थिए ।

भारत प्रस्थान गर्नुअघि एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता खनाललाई अस्पताल पुगेर भेटेका थिए । भेटका क्रममा पार्टी एकताबद्ध बनाउन महासचिव पोखरेललाई आग्रह गरेको पोखरेलको सचिवालयले जनाएको छ ।

नर्भिक अस्पतालमा रहँदा उनको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो ।

खनालमा ज्वरो उल्लेख्य घट्न सकेको थिएन । पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको अस्पतालले जनाएको छ ।  उनलाई मंगलबार एक पिन्ट रगतसमेत दिइएको थियो । हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो । २ पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको अस्पताले आज विज्ञप्ति जारी गर्दै भनेको छ ।

“दिल्ली उड्नुअघि पनि उहाँमा निरन्तर खोकी लागिरहेको थियो । शरीर समेत शिथिल देखिन्थ्यो । चिकित्सकहरुले कोभिड हुँदा उहाँलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन्,” विज्ञप्तिमा भनिएको छ, “मूलत नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताउनुभएको छ ।” 

डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत इन्फेक्सन देखिएको थियो ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  २ : ०७ बजे