दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बालेनलाई समिक बडालको सुझाव- ‘तपाईँ सच्चिनुस्’

काठमाडौँ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई सच्चिन आग्रह गर्नुभएको छ । मेयर बालेनको समर्थन गर्ने नाममा सामाजिक सञ्जालमा फेकआईडी बनाएर राज्यस्रोतको दुरूपयोग बढेको सन्दर्भमा युवा नेता बडालको चर्को टिप्पणी सार्वजनिक भएको हो ।

पछिल्लो समय बडालमाथि सामाजिक सञ्जालमा नियोजित रूपमा हमला भए पछि यसको प्रतिक्रिया दिँदै बडालले फेसबुकमा सुझावसहितको स्टाटस राख्नुभएको छ । बडालले केही दिन अघि सामुदायिक विद्यालयको खाजा शीर्षकमा मेयर बालेनको सचिवालय सदस्य कुमार बेनमार्फत अनियमितता भएको तथ्य पेस गर्नुभएको थियो ।

बडालको यो स्टाटससँगै विभिन्न नामको फेसबुक पेजबाट तीव्र हमला भएको हो । ती आईडीहरू खोलेर हेर्दा नक्कली रहेको पाइए पछि नियोजित हमला रहेको भन्दै बडालले सामाजिक सञ्जालमा लेख्नुभएको छ, 'मेयर सापका सल्लाहकार कुमार बेनजीको टिम महानगरको सचिवालयमा बसेर महानगरलाई भारत, युरोप, अस्ट्रेलिया, अमेरिकाको ठेगाना राखेर नेपालमा फेक पेज आईडीहरू बनाउने कारखाना बनाइरहनु भएको छ। के काठमाडौँ महानगरको मेयर बालेनजीको टिमको काम फेक आईडी मार्फत नेपाली जनतालाइ उल्लु बनाउने हो? कुमार बेनजी तपाइसँग जवाफ छ, यी आईडीहरु तपाईँले निर्माण गरेका आइडीहरु हुन् कि होइनन् ?'

त्यसो त यतिबेला सामाजिक सञ्जालमा बालेनको पक्षमा माहोल बनाउने नाममा यस्ता हर्कतहरू नियमित हुने गरेको छ । केही समय अघि कलाकार विशाल भण्डारीमाथि यस्तै खाले प्रहार भएको थियो । बालेनलक्षित टिप्पणी गरेका कारण विशालमाथि धेरै दिनसम्म सामाजिक सञ्जालमा यातना नै दिइएको थियो ।

यी घटनाहरू बालेनको सचिवालय सदस्य कुमार बेनबाट भएको ठोकुवा गर्दै बडालले आफू विद्यार्थी आन्दोलनमा जोडिएर खबरदारी गर्ने भूमिकामा भएकाले प्रश्न सोधेको उल्लेख गर्नुभएको छ । यसमा उत्तेजित हुनु पर्ने कुनै कारण नभएको भन्दै बडालले सचिवालयमा हुने गलत हर्कतको शीर्षकमा महानगरको पैसा खर्च भएकोमा चिन्ता समेत व्यक्त गर्नुभएको छ ।

मेयरको भूमिकामा भएकाले बालेन साहले जनताको समस्या पहिचान गर्ने र त्यसको समाधानको निम्ति महानगरको स्रोत परिचालन गर्नु पर्नेमा अन्यथा भएको भन्दै बडालले सुझाव दिनुभएको छ, 'मेयर साप, तपाईँ सच्चिनुस्।'

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ४ : ५७ बजे