नेकपा (एमाले) र नेपाली कांग्रेसले देशलाई राजनीतिक स्थिरता दिने र देशलाई अगाडि बढाउने सवालमा एक दशक अघि जारी भएको संविधानमा, निर्वाचन प्रणालीमा र राज्य संरचनामा देखिएका अड्चनसमेत हटाउने सहमति भएपछि काँग्रेस एमाले भिडाएर सत्तामा ढलिमली गर्ने माओवादीलगायतका केही साना दललाई सङ्कट आइलागेको छ । त्यसको प्रतिक्रिया स्वरूप कहिले बौरिँदै कहिले मुर्छा पर्दै गरेको ‘समाजवादी मोर्चा’लाई पुनः सक्रिय पार्ने कसरतमा लागेका छन् ।
नेपालको कम्युनिष्ट आन्दोलनमा समय-समयमा विभिन्न प्रयोग भइरहन्छन् । यो आन्दोलनमा कहिले भँगाला फुट्ने र कहिले भँगाला जोडिने भइरहन्छ । एकीकृत भइसकेको नेकपामा मिलेर बस्न नसकेका माओवादी सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अकारण एमाले विभाजन गरेका माधव नेपालको पहलमा समाजवादी मोर्चा गठन भएको थियो ।
मोर्चाको सुरुवाती घोषणामा जेसुकै लेखिएको भए पनि मोर्चाको प्रमुख उद्देश्य एमालेसँग पौंठेजोरी खेल्नु रहेको कहीकतै छिपेको छैन । आगामी दिनमा एक्लै हिँड्न सक्ने परिस्थितिको अन्त्य भएपछि अस्तित्वको लागि गरिएको यो उनीहरूको अन्तिम प्रयासको रूपमा पनि यसलाई लिन सकिन्छ । सहमति भएबमोजिम साँच्चिकै एमाले र काँग्रेसले मुलुकलाई निकास दिए भने माओवादी, रास्वपा र माधव समूह इतिहासको पानामा मात्र सीमित हुने अवस्था नआउला भन्न सक्ने स्थिति छैन ।
समाजवादी मोर्चाको मुख्य घटक नेकपा (माओवादी केन्द्र) र अरू संलग्न घटक आफैँ भीमकाय सङ्कटमा छन् । उनीहरूले लिएको विचारको कुरा गर्दा घ्यू व्यापारी तरबार व्यापारीको याद आउँछ । एक बाल्टी गोबरमाथि एकमाना घ्यू लेपन गरी बेच्न बजार पुगेको एक व्यापारीसँग काठको तरबार बनाइ त्यसमाथि फलामको लेपन लगाइ बेच्न आएको अर्को व्यापारीसँग भेट हुन्छ । उनीहरूबीच बिना मोलमोलाइ ‘घ्यू’ र ‘तरबार’ साटासाट हुन्छ ।
माओवादी केन्द्र आफूलाई माओवादी बताउँछ,वर्ग सङ्घर्षको कुरा गर्छ, माओले भनेझैँ निरन्तर क्रान्तिको कुरा गर्छ, वर्ग मित्र र वर्ग शत्रुको बखान गर्छ, श्रमजीवी सर्वहारा वर्गको मुक्तिको गफ दिन्छ, समाजवादतर्फ लाग्ने डिङ हाँक्छ तर व्यवहारमा कुर्सीको लागि भारतीय संस्थापन पक्षको गुलामी गर्छ, नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सुरु गरेका जन पक्षीय कामलाई भत्काउन र विद्रुपीकरण गर्न उद्धत रहन्छ । सो पार्टीको सार र रूपको बेमेल देखेर जनता हैरान छन् । उसको ‘जादुयी’ सङ्ख्या र चटकी स्वभावबाट वाक्क भइसकेका जनता वर्तमान दुई तिहाइ गठबन्धनबाट केही आशावादी बनेका छन् ।
एमालेमा भाग र सम्मान नपाएको निहुँमा एमालेबाट छुट्टिएका माधव नेपाल र झलनाथ खनालहरूले खोलेको नेकपा(एकीकृत समाजवादी) लगभग समाप्तिको चरणमा पुगेको छ । हिजो भ्रमवश एमालेबाट अलग बसेका धेरे नेता-कार्यकर्ता आफ्नो मूल घर फर्कने क्रमले तीव्रता पाएको छ । गत चुनावमा नेपाली काँग्रेस र माओवादीको भोटले संसद्मा केही सिट पाए पनि अब सो पार्टीको नेपाली राजनीतिमा स्पेस समाप्त भएको छ । न उसको वैचारिक स्पेस बाँकी रह्यो, न उसको साङ्गठनिक स्पेस नै । दसौँ महाधिवेशनको नाममा काठमाण्डौमा केही मानिस उतारे पनि तृणमूल तहमा उसको प्रभाव समाप्त भइसकेको छ ।
सदैव चटकीजस्तो लाग्ने नेत्रविक्रम चन्द ‘विप्लव’लाई धर्मेन्द्र बास्तोलालगायतका सबै नेताले छोडेपछि उनी प्रचण्डको शरणमा पुगेका हुन् । कुनै बेला उग्र माओवादी विप्लव आज मार्क्सवादका आधारभूत सिद्धान्तकै औचित्य समाप्त भएको बताउन थालेका छन् । ‘उग्रवामपन्थ अन्ततोगत्वा उग्र दक्षिणपन्थमा परिणत हुन्छ’ भन्ने भनाइलाई प्रचण्डपछि विप्लवले चरितार्थ गर्दैछन् । उनी सारत: प्रचण्ड स्कुलिङका नेता भएकोले उनले प्रचण्डको रणनीतिक गोटीको काम बाहेक केही गर्न सक्ने अवस्था छैन ।
कुनै पार्टी वा मोर्चा केही नेताले गाला जोडेर वा केही मानिस जम्मा गरेर बन्ने होइन । सत्ता वार्गेनिङ्को लागि उल्लिखित शक्तिको क्षणिक गठजोडले निरन्तरता नहुने निश्चित प्राय: छ । आफ्नो पार्टी बनाउन नसक्ने तर मोर्चा बनाउन दौडने विषय नेपालको वाम राजनीतिमा असफल सिद्ध भइसकेको छ । बरु तत्कालीन संयुक्त जनमोर्चाबाट सुरु भएको प्रचण्डको राजनीतिको समाजवादी मोर्चाबाट पूर्णविराम लाग्ने सम्भावना बढ्दै गएको छ ।
नेकपा(एमाले)ले ‘सुखी नेपाली, समृद्ध नेपाल’को जनताको चाहनालाई कार्यान्वयन गर्दै समाजवादको रोडम्याप तयार गरेको छ । तथाकथित समाजवादी मोर्चा यसको विपक्षमा छ । एनकेन प्रकारेण सत्तारोहण गरेर आफू वा आफ्ना आसेपासेको सात पुस्ता समृद्ध बनाउन लागेका यिनीहरूको मिलीभगत पानीको फोकासरह हुनेछ । यो वा त्यो ढङ्गले जनताबाट तिरस्कृत यस्ता पात्र र प्रवृत्ति मिलेर नेपालमा समाजवाद निर्माण हुन्छ भन्ने कल्पना गर्नु बेकारको कुरा हो। आकाश चाटेर अघाउने कल्पना जस्तै हो । र उनीहरूले मोर्चा बनाएर शासन सत्ताको बागडोर समालिरहन सकिन्छ भन्ने आकाङ्क्षा राख्नु त हुटिट्याउँले सगर थाम्छु भन्नु जस्तै हो ।बालुवामा पोखिएर बिलाएको तोरी पर्गेल्ने जस्तै कुरा हो ।
माओवादी ह्याङ्ओभर तथा अहम्को मति भ्रमबाट बाहिर आएर नेपालमा समाजवाद निर्माणमा पुष्पलाल र जननेता मदन भण्डारीको विचारको जगमा आफूलाई परिमार्जित र परिष्कृत गर्न सके प्रचण्ड नेतृत्वको ‘समाजवादी मोर्चा’को सार्थकता हुनेछ । अन्यथा, विनाशकाले विपरीत बुध्दि:।
प्रकाशित मिति : २७ असार २०८१, बिहिबार ४ : ०० बजे
प्रतिक्रिया