‘एउटै नाउरको सिकार गर्न २३ लाख’

निजी क्षेत्रमा २ खर्ब ४६ अर्ब ८० करोडले कर्जा  बढ्यो

काठमाडौं । चालु आवको ११ महिनामा निजी क्षेत्रमा प्रवाहित हुने कर्जा २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँले बढेको छ । यो अघिल्लो वर्षको तुलनामा ५.१ प्रतिशत बढी हो । 
अघिल्लो वर्षको जेठ मसान्तमा यस्तो कर्जा १  खर्ब ५७ अर्ब ३६ करोड रुपैयाँले बढेको थियो । त्यतिखेर यो वृद्धिदर ३.४ प्रतिशत रहेको थियो । राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले उक्त कुरा देखाएको हो । 
गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश ६३.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.५ प्रतिशत रहेको पनि सोही प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६२.६ प्रतिशत र ३७.४ प्रतिशत रहेको थियो । जेठसम्म निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.२ प्रतिशत, विकास बैंकहरुको ४.३ प्रतिशत र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.७ प्रतिशतले बढेको छ । 
२०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रूपमा रहेको छ भने ६८.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०८० जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ११.६ प्रतिशत र ६८.० प्रतिशत रहेको थियो । 
यस अवधिमा लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ९.७ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १३.७ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.८ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.५ प्रतिशतले बढेको छ । 
यस्तै प्रवाहित कर्जामध्ये आवधिक कर्जा १९.६ प्रतिशतले, नगद प्रवाह कर्जा २३.६ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ८.० प्रतिशत, मार्जिन प्रकृतिको कर्जा १४.२ प्रतिशत र ट्रष्ट रिसिट (आयात) कर्जा ७.२ प्रतिशतले बढेको छ । अधिविकर्ष कर्जा ४३.४ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुर्नवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा २१.२ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । 
जेठसम्ममा बैंकिङ प्रणालीमा रहेको निक्षेप ५ खर्ब १४ अर्ब ५७ करोड रुपैयाँ (९ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४ खर्ब ४५ अर्ब १३ करोड रुपैयाँ (८.८ प्रतिशत) ले बढेको थियो ।
१३ खर्ब २७ अर्ब रेमिटेन्स भित्रियो 
चालु आवको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । यो अघिल्लो वर्षको तुलनामा २२.७ प्रतिशत बढी हो । जेठ महिनामा मात्रै १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ भित्रिएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ प्रतिशतले बढेको थियो ।
चालु आवमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने संख्या बढेको कारण रेमिटेन्स बढेको हो । यसलाई सकारात्मक रूपमा लिइएको छ । चालु आवमा ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ । अघिल्लो वर्षमा श्रम स्वीकृति लिने संख्या ४ लाख ५९ हजार ४१५ र पुनः श्रम स्वीकृति लिने संख्या २ लाख ६० हजार २६२ रहेको थियो ।
यो अवधिमा बैंकिग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैकले भनेको छ । जेठ मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्धि भई चालु वर्षको ११ महिनामा १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ । 
राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई १७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा  १९३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ प्रतिशतले वृद्घि भई २ खर्ब १४ अर्ब ४२ करोड कायम भएको छ । २०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको पनि केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । 
 

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ११ : ०० बजे