पोखरामा तालमा फसेका चार जनाको उद्धार, एक जना मृत फेला

पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुबेर फसेका एकै परिवारका ४ जनालाई असार २६ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

गुल्मी जिल्ला घर भई हाल पोखरा बस्दै आएका ५४ वर्षीय राम बहादुर अधिकारी, ३९ वर्षिया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारी वर्षाको कारण पानीको सतह बढेर घर पस्दा फसेका थिए । सो घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

यसैगरी सोही महानगरपालिकास्थित सहेलापाटा निवासी वर्ष ५१ का मन बहादुर थापाको जस्ताले छाएको १ तले कच्ची घर पहिरोले पुरिदा निजको छोरा २२ वर्षीय भीम बहादुर थापा बेपत्ता भएका थिए । उनको नेपाली सेना, सशस्त्र प्रहरी बल नं. २४ कालिका गण र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गर्दा बिहान ७ बजे मृत अवस्थामा फेला पारेको हो ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ४ : ०३ बजे