‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बेरोजागरलाई सिप सिकाउँदै बागमती युवापरिषद

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ की शर्मिला विक स्वरोजगार बन्ने सपना सँगालिरहेकी हुन्थिन् । परिवारको आर्थिक अवस्था कमजोर रहेको उनलाई स्वरोजगार बन्न केही गर्नुपर्छ भन्ने मनमा लागिरहन्थ्यो । तर के गर्ने, कता जाने, उनी अन्यौलमै थिइन् । अहिले उनी हेटौँडा १ चौकी टोलमा प्रदेश युवा परिषद् बागमतीले सञ्चालन गरेको ब्युटिशीयन तालिममा सहभागी भएकी छिन् । सीप सिक्दै गर्दा उनमा आत्मविश्वास भरिएको छ । पार्लर सञ्चालन गरेर उद्यमी बन्ने उनको योजना छ ।  

जोखिमयुक्त काम पुरुषले मात्रै गर्न सक्छन् भन्ने नेपाली समाजको आम बुझाई रहेको छ । तर चितवन राप्ती नगरपालिका वडा नम्बर ९ की प्रेमा तामाङलाई भने आफू पनि पुरुष सरह जोखिम उठाउन सक्छु भन्ने लाग्यो । उनले चितवनको वीरेन्द्र नगरमा बिल्डीङ्ग ईलेक्ट्रीशियन तालिम लिईन्। २० जना पुरुष सहभागी तालिममा उनी एक्लै युवती सहभागी भइन् । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाकी सुशीला घले पनि प्लबिङ्ग तालिम लिइरहेका २० जना सहभागी मध्य एकमात्रै महिला हुन् । उनीहरु उत्साह पूर्वक तालिममा सहभागी भए । अहिले उनीहरु गाउँघरमा बिजुली र प्लम्बिङ्गको काम गरिरहेका छन् ।

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १० का जितेन्द्र प्रधानले काभ्रे बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका छन् । कृषि कर्ममा रुचि भएका प्रधानले अहिले २ वटा टनेलमा तरकारी खेती गरेका छन् । बागमती प्रदेश युवा परिषदबाट बेमौसमी तरकारी खेती सम्बन्धी तालिम लिएका प्रधानले गोलभेड, काँक्रो अकबरे खुर्सानी फलाएका छन् । ५० हजार मूल्यका तरकारी बिक्रीका लागि तयारी अवस्थामा छन् । २२ जना युवाले यो तालिम लिएका थिए । तालिम लिएपछि उनमा थप हौसला बढेको छ । सीप भए स्वदेशमै बसेर उद्यमी बन्न सकिने प्रधानको बुझाई छ । 

स्वदेशमा काम गर्ने उपयुक्त वातावरण नदेखेर लाखाँै युवा रोजगारीका लागि बिदेशीएका छन् । युवालाई स्वदेशमै स्वरोजगार भई उद्यमशील बनाउन प्रदेश युवा परिषद् बागमतीले यस वर्ष प्रदेशका १३ जिल्लाका  ५ हजार युवालाई विभिन्न सीप मूलक तालिम प्रदान गरेको थियो ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का विकास घलान र बुद्धी बहादुर बोम्जनले अघिल्लो बर्सनै बागमती प्रदेश युवा परिषदले सञ्चालन गरेको कपाल काट्ने तालिम लिएका थिए । अघिल्लो वर्ष तालिम लिएका यी दुबै युवाले अहिले आफ्नो गाउँघरमा शैलुन व्यवसाय सञ्चालन गरेका छन् । बागमती प्रदेश सरकारले आर्थिक २०८१/०८२ को बजेटमै युवा सीप वर्ष घोषणा गरेको छ । युवालाई दक्ष जनशक्तिका रुपमा रुपान्तरण गर्न प्रदेश सरकारले यस आर्थिक वर्षमा १० करोड रुपैयाँ खर्च गरेको छ । तालिम सञ्चालन भएका ठाउँमा स्थानीय तहले सहकार्य र अनुगमन गरेका थिए  । यस वर्ष २६ वटा विधामा तालिम सञ्चालन भयो  । कुक वेटर, हाउसकीपिङ, बारिष्ठ, गार्भेन्ट एण्ड टेलरिङ, फेसन डिजाइनर, फर्निचर, प्लम्बीङ, बिल्डिङ ईलेक्ट्रीशियन, नर्सरी तथा गार्डेन व्यवस्थापन, ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता, ब्युटी पार्लर, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, मन्टेश्वरी, लगायतका तालिममा सहभागी युवाहरु सीप सिकेर स्वरोजगार बन्ने वातावरण तयार भएकोमा उत्साहित छन् । 

हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ५ का सुक बहादुर घलानले ईलेक्ट्रीशियन तालिम लिए । अब गाउँघरमै काम गरेर परिवार पाल्ने उनको योजना छ । सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ३ की नेहा श्रेष्ठले बागमती प्रदेश युवा परिषदबाट ब्युटी पार्लर लेभल वान तालिम लिएकी थिइन् । उनले पार्लर सञ्चालन गरिरहेकी छिन् । परिषद्ले सञ्चालन गरिरहेको लेभल टु तालिममा सहभागी श्रेष्ठमा अझै हौसला थपिएको छ । 

सीप सिकेका युवालाई पुँजीकै अभावमा काम गर्न असहज परिस्थिति सृजना नहोस् भन्दै उनीहरुलाई व्यवसाय सञ्चालनका लागि बागमती प्रदेश सरकारले टेवा पुँजी दिन ३ करोड बजेट छुट्याएको छ ।  सिप सिकेका युवालाई १५ हजार रुपैयाँ देखि २० रुपैयाँ उपलब्ध गराउन कार्यविधि बनाइएको छ । सीप परीक्षण गर्न बागमती प्रदेश युवा परिषदले सिटीभीटीसंग सम्झौता गरिसकेको प्रदेश युवा परिषद् बागमती उपाध्यक्ष सन्तोष चौलागाईले बताउनुभयो । तालिम लिएका युवाको सीप परीक्षण गरेर पास भएकाहरुलाई टेवा पुँजी दिने प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष चौलागाईले बताउनुभयो । सीप सिकेका युवा स्वदेशमै बसे उनीहरु स्वरोजगार बन्नेछन् । विदेश गएपनि सीपयुक्त युवाले अझै धेरै आम्दानी लिन सक्छन् । बागमती प्रदेशका सीप युक्त युवाले प्रदेशको समग्र विकासमा योगदान दिन सक्ने परिस्थिति निर्माण भएको छ ।  युवा र राज्यबीच सुमधुर सम्बन्ध स्थापित भएको उपाध्यक्ष चौलागाईले दाबी गर्नुभयो ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १२ : ०१ बजे