‘नेशनल डे कन्सर्ट’ सम्पन्न

रौतहटमा छुरा प्रहार गरी युवकको हत्या, चार जना पक्राउ

 रौतहट । रौतहटको दक्षिणीभेग भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिकामा छुरा प्रहार गरी एक जना युवकको हत्या भएको छ ।

ईशनाथ ९ लवातना गाउँका कईममिया मन्सुरीको छोरा अन्दाजी वर्ष १८ को  सहबाज मिया आलमको पेटमा धारिलो हतियार छुरा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।

ईशनाथ २ औरेया स्थित गेट अगाडी आँपको बगैँचामा युवक घाइते अवस्थामा देखेर गए राती साढे ९ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमा शंकर गुप्ताको कमाण्डमा १० जना र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट औरेयाबाट इन्स्पेक्टर दिल बहादुर महराको कमाण्डमा ७ जनाको संयुक्त टोली ९ बजेर ३८ मिनेटमा घटना स्थलमा पुग्दा युवकको मृत्यु भइसकेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताएका छन्।

जघन्य किसिमले युवकको हत्याको प्रकृति हेरेर गरिएको खबर अनुसार रातिनै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरी सहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको थियो । 

प्रवक्ता गिरीका अनुसार मृतक आलमलाई गाउँकै केही साथीहरूले मंगलवार साँझ ७ बजे केही काम छ भनेर घरबाट बोलाएर लागेका थिए। त्यसपछि उनको पेटमा छुरा प्रहार गरी हत्या गरिएको थियो।

हत्यामा संलग्न रहेको आशंकामा चार जना लाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता गिरीले जानकारी दिइन्। पक्राउ परेका चारै जना मृतकका साथी हुन र उनीहरू लागुऔषध प्रयोगकर्ताको जस्तो देखिएकाले मृतक पनि प्रयोगकर्ता हुनसक्ने अनुमान गरिएको छ।

हत्याको कारण हालसम्म खुल्न नसकेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। भारतीय सीमामा सँग जोडिएको रौतहटका गाउँहरुमा लागुऔषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गएको पाइएको छ ।

गरिब तथा बिप्पन परिवारका आमा बाबु खेतबारीमा काम गर्न गएको समय उनको छोराहरू भारतीय बजार पुगेर त्यहाँबाट सस्तो नशालु ट्याबलेट देखि गाँजा समेत ल्याएर प्रयोग गर्ने गरेको स्थानीयहरूले बताएका छन्। लागुऔषध प्रयोगकै कारण पछिल्लो समयमा जिल्लामा आपराधिक क्रियाकलापमा वृद्धि भएको जानकारहरुले बताएका छन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ११ : १३ बजे