काठमाडौँ शुक्रबार पुष्पकमल दाहाल प्रचण्डको सरकार बिदाइ गरे लगतै एमाले नयाँ सरकार गठनको तयारीमा लागेको छ।
यसैको तयारी स्वरूप हिजो स्थगित भएको एमाले सचिवालय बैठक आजका लागि तय भएको छ।
आज बिहान ११ बजे ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
हिजो दिउँसो १ बजे बस्ने भनिएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दाँत उखालेको कारणले सन्चो नभएपछि आजको लागि सारिएको हो । सो बैठक सारिएपछि पार्टी मुख्यालयमा जम्मा भएका नेताहरु चिया गफ गर्दै फर्किएका थिए।
बैठकमा नयाँ सरकारमा पठाउने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको भूगोल अनुसारको जिम्मेवारी लगायतका बिषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
ठुला दुई दल कांग्रेस र एमालेबिच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ । अहिले ओलीले आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुँदा पार्टीका कस्ता नेतालाई मन्त्रीलाई बनाउनुहुन्छ भन्ने विषयले पनि चर्चा पाइरहेको छ ।
सरकारमा सहभागीताका लागि अघिल्लो पटक नयाँ अनुहारलाई अवसर दिने नीति लिएको एमाले अब उनीहरू मध्ये केहीलाई फेरि स्थान दिएर अन्य नयाँ पठाउने वा वरिष्ठताका आधारमा मन्त्री छनौट गर्ने भन्ने विषयमा ठोस कुनै नीति बनाएको छैन । आजको बैठकमा यस बिषयमा छलफल हुने बताइएको छ।
प्रकाशित मिति : २६ असार २०८१, बुधबार १० : ४० बजे
प्रतिक्रिया