कमला नदीमा फसेका छ जनाको सकुशल उद्धार

सिरहा । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदिमा फसेका चार जनाको सशस्त्र प्रहरीले मंगलबार सकुशल उद्धार गरेको छ ।

उद्धार गरिएकाहरु सोही ठाउँ बस्ने ५५ वर्षीय मनिया कापर, ५० वर्षीय सेवक साह, ३७ वर्षीय मोहम्मद हाकिम राई र ३५ वर्षीय अलादिन राई रहेका छन् । दाउरा लिन गएको अवस्थामा एक्कासी पानीको बहाव बढेपछि उनीहरु सो नदिको बीच भागमा फसेका थिए ।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले उनीहरुलाई ट्युब बोटको सहायताले सकुशल उद्धार गरेको हो । त्यसै गरी सोही नगरपालिका–२ स्थित कमला नदिको बीच भागमा फसेका दुई जनाको सशस्त्र प्रहरीले दिउँसो करिब २ बजे सकुशल उद्धार गरेको हो ।

धनुषा जिल्लाको कमला नगरपालिका–७ बस्ने ३० वर्षीय विष्णुदेव गोईत र २९ वर्षीय श्यामकुमार महतो वाई.बी.१५ डी ६५७० नम्बरको जेसीबीसहित पानी च्यानालाईज गर्ने क्रममा एक्कासी आएको बाढीको कारण सो नदिमा बीच भागमा फसेका थिए ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले रबर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो । उद्धार गरिएका दुवै जना उक्त जेसीबीका चालक तथा सह–चालक रहेका छन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ९ : ५३ बजे