दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

‘संविधानको धाराबाटै सरकार बन्छ’

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले नेपाली कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार संविधानको धाराभित्रैबाटै नयाँ सरकार बन्ने बताउनुभएको छ ।

आजको प्रतिनिधिसभा बैठकको विशेष समयमा उहाँले कतिपय पार्टी र नेताले नयाँ बन्ने सरकारका विषयमा प्रश्न उठाएको भन्दै संविधानको सीमाभन्दा बाहिर गएर कुनै कार्य नगरिने स्पष्ट पार्नुभयो । “संविधानको धाराबाटै सरकार बन्ने हो, बालाजुको २२ धाराबाट बन्दैन । एमालेसहित होस् वा एमालेकै नेतृत्वमा सरकार बनोस्, हाम्रा आफ्नै मूल्य र मान्यता छन्, त्यहीअनुसार अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो । 

सांसद रिजालले वर्तमान प्रधानमन्त्रीले चारपटक विश्वासको मत लिइसकेकाले यस्तो किन भइरहेको छ भन्नेबारे उहाँले नै समीक्षा गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “वर्तमान प्रधानमन्त्री गतिशील मान्छे हुँ भन्नुहुन्छ तर व्यवहार हेर्दा त्यस्तो देखिँदैन । चारपटक यही थलोबाट विश्वासको मत लिइसक्नुभएको छ । छोटो समयमै यस्तो सहयात्री दलहरूका कारणले मात्रै भएको होला कि उहाँमा पनि केही कमजोरी होलान्, समीक्षा आवश्यक छ ।”

कांग्रेस सांसद डा आरजु राणाले विगत १० वर्षदेखि नेपालका हिमताल सुक्ने क्रम बढ्दै गएका र अनियमित वर्षाले बाढी बढिरहेको बताउनुभयो । हिमताल फुट्दा पनि ठूलो विपद् आउन सक्ने उल्लेख गर्दै उहाँले जलस्रोत मन्त्रालयले दीर्घकालीन योजना बनाउन जरूरी रहेको बताउनुभयो । डा राणाले भन्नुभयो, “जलस्रोत मन्त्रालयमा अहिले वेबसाईडमा जलस्रोत शाखा छ तर त्यहाँ केही पनि तथ्याङ्क छैन । हिमतालका बारेमा अध्ययन गराउन जरूरी छ ।” भूमिसुधार मन्त्रालयले जनताको सुरक्षाका लागि व्यवस्थित बस्ती बसाउन र खेती गर्ने योजना बनाउन अध्ययन आवश्यक रहेको उहाँको भनाइ छ । 

 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  २ : ५९ बजे