दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

ओली अस्वस्थ भएपछि सचिवालय बैठक स्थगित, चिया गफपछि फर्किए नेताहरु

काठमाडौँ ।  मङ्गलवारका  लागि १ बजे तय भएको एमाले सचिवालय बैठक स्थगित भयो। धेरैले किन स्थगित भयो भनेर जिज्ञासा समेत राखे। कसैले राजनीतिमा कतै केही चलखेल पो भयो कि भन्ने सम्मका आशङ्का गरे। 

मङ्गलवार बैठकको निर्धारित समयमा सबै नेताहरु एमाले केन्द्रीय कार्यालयमा भेला भइसकेका थिए। तर एमाले अध्यक्ष केपी शर्मा ओली आउनु भएका थिएन। ओली नआउनु भएका कारण  बैठक कक्षामा प्रवेश नगरेका  सचिवालयका सबै सदस्यहरू उहाँ आउनुहुन्छ भन्दै पार्टी कार्यालयको ढोका बाहिर  आँखा दौडाएर  बसेका थिए। 

तर यही बीचमा अध्यक्षको सचिवालयबाट जानकारी आयो – आजको  बैठक स्थगित भयो । सबै नेताहरु अचानक बिना स्थगित भयो भनेर एक छिन त आश्चर्यमा परे । बैठक स्थगित भएको थियो  अध्यक्षको दाँतले धोका दिएका कारण ।  अध्यक्ष ओलीको सोमबार दाँत निकालिएको थियो। त्यसैको दुखाइले उहाँ अस्वस्थ भएको  नेताहरूलाई जानकारी प्राप्त भयो। 

बैठक स्थगित भएको जानकारी पछि उपलब्ध सचिवालय सदस्यहरू पार्टी कार्यालय परिसरको क्यान्टिन अगाडि भेला भए । उनीहरू अनौपचारिक तरिकाबाट  चियाको सुर्कोसँगै  एक घण्टा गफिए। 

एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले पार्टीका शीर्ष नेताहरुले चिया खाइरहेको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्न समेत भ्याउनु भयो  । 

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु प्रसाद पौडेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव लेखराज भट्ट नेताहरु पार्टी कार्यालयकै प्राङ्गणमा चिया खानु भएको थियो ।  पदाधिकारीसँगै लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल समेत सहभागी हुनुहुन्थ्यो । 

बैठक भोलि (असार २६ गते) ललितपुर, च्यासलस्थित पार्टी मुख्यालय बस्ने गरि सारिएको छ । 

आज बस्ने भनिएको सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, केन्द्रीय नेताहरूको कार्य विभाजन, सरकारमा पठाउने मन्त्रीको मापदण्ड लगायत बिषयमा छलफल गर्ने कार्यसूची रहेको थियो । 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  २ : ४८ बजे