सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रवासी नेपाली मञ्च बहराइनको अध्यक्षमा गुरुङ निर्वाचित

बहराइन । प्रवासी नेपाली मञ्च बहराइनको अध्यक्षमा चन्द्र गुरुङ निर्वाचित हुनुभएको छ । सवल प्रवासी : समृद्ध नेपाल, सुखी नेपाली भन्ने मूल नाराका साथ यही जुलाई ५ तारिक सम्पन्न अधिवेशनले गुरुङको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

यसैगरी अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा थोमस कुलुङ, सचिवमा बीरेन्द्र बुढाथोकी, उपसचिवमा धनञ्जय जोशी र सुशिला गेलाल सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

यस्तै कार्यसमितिको सदस्यहरुमा लालबहादुर कटुवाल, सन्तोस थापा मगर, दिल्ली सुवेदी, बिमल खडका, बिश्व गुरुङ, भावना आचार्य पन्त, निमबहादुर बिक, सुशिला थापा र बिमल थापा मगर चयन हुनुभएको छ ।

अधिवेशनले प्रचार तथा प्रसारसहित ६ वटा बिभागसमेत गठन गरेको छ । जसअनुसार संघसंस्था तथा एनआरएनए समन्वयन बिभागमा भावना आचार्य पन्त, महिला बिभागमा सुशिला खत्री, प्रचार प्रसार बिभागमा निमबहादुर बिश्वकर्मा, श्रमिक बिभागमा बिमल थापा मगर, साँस्कृतिक बिभागमा सन्तोष तामाङ, र युवा तथा खेलकुद बिभाग प्रमुखमा चन्द्र सुब्बा गुरुङलाई प्रमुख तोकेको छ ।  

प्रवासी नेपाली मञ्च बहराइनका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षता तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वउपसभामुख डा. शिवमाया तुम्बाहाम्फे प्रमुख अतिथी रहनुभएको अधिवेशनको उदघाटन समारोहमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा बिशेष अतिथी हुनुहुन्थ्यो । 

यस्तै बिशेष अतिथी अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापासहितका मञ्चका नेताहरुले प्रवासी नेपाली मञ्चको उदेश्य, योजना र आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिकाबारे सबिस्तार ब्याख्या गर्नुभएको थियो ।

यस्तै उदघाटन समारोहमा नेपाली जनसम्पर्क समिति बहराइनका सभापति पदम सुन्दर गुरुङ, नेपाली जनप्रगतिशील मञ्च बहराइनका अध्यक्ष रामु काफ्ले, प्रवासी नेपाली समाज अध्यक्ष हिमलाल पाण्डे, बहराइन नेपाली एकता समाजका अध्यक्ष धनबहादुर कार्की, नेपाली क्लब बहराइनका अध्यक्ष दुतप्रसाद गुरुङ (दीपक), गैरआवासीय नेपाली संघ बहराइनका कोषाध्यक्ष दिपक कर्ण, आदिवासी जनजाति महासंघ बहराइनका अध्यक्ष बीरेन्द्र तुम्बापोसहित बहराइनस्थित क्षेत्रीय संघ सस्था, जातीय समाजका अध्यक्षहरुको पनि सहभागिता जनाउनु भएको थियो ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ५ : ३३ बजे