सुनको मूल्यमा नयाँ कीर्तिमान

तनहुँका दुई पालिकामा विद्युत् सेवा अवरुद्व

तनहुँ । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिराले विद्युत् पोलमा क्षति हुँदा यहाँका दुई पालिकामा विद्युत् सेवा अवरुद्व भएको छ । 

विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले दिएको जानकारीअनुसार जिल्लाको म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका केही वडामा विद्युत् सेवा अवरुद्ध भएको हो । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा पहिराका कारण सातवटा विद्युत् पोल ढलेका कारण उक्त दुई पालिकामा विद्युत् सञ्चालन गर्न कठिनाइ भएको वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो । “म्याग्दे, शुक्लागण्डकी, व्यास र आँबुखैरेनी गाउँपालिकालगायत क्षेत्रमा गरी १५ भन्दा बढी विद्युत् पोल ढालेर क्षति पुगेको छ”, उहाँले भन्नुभयो ।  

व्यास नगरपालिका–१ र ३ जोड्ने बुल्दीखोलाले पोल बगाउँदा अवरोध भएको विद्युत् सेवा भने मर्मतपछि पुनः सञ्चालनमा आएको उहाँले बताउनुभयो । यसैगरी व्यास नगरपालिका–४ स्थित सिमलटार नजिक विद्युत् पोल ढालेर क्षति भएकामा मर्मत गरी छ घण्टापछि विद्युत् सेवा सञ्चालनमा ल्याइएको छ । 

ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काममा अवरोध भएको छ । सुरुङ खन्ने ठाउँमा बाढी पसेकाले पानी काममा अवरोध भएको तर क्षति भएका दुईवटा पोल परिवर्तन गरी विद्युत् सेवा भने सुरू भएको रेग्मीले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ९ : ३६ बजे