दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रचण्डको अस्थिर चरित्रले काग्रेस र एमाले  गठबन्धन: ओली

काठमाडौँ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समर्थन हुँदा हुँदै  नेपाली काग्रेससंग नयाँ गठबन्धन बनाउन पहल गरेको थाहा पाएपछि बाध्य भएर नयाँ समीकरण गर्नुपरेको बताउनुभएको छ। 

 नयाँ बानेश्वरस्थित संसद भवनमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले काँग्रेससँग गठबन्धन गरेर नयाँ सरकार बनाउन परेको बिषयमा  विफिङ गर्दै यस्तो बताउनुभएको हो  । 

बैठकमा अध्यक्ष ओलीले नयाँ बन्ने सरकारले शिथिल भएको अर्थतन्त्रलाई गति दिने समेत बताउनुभयो । उहाँले  रोकिएका विकास निर्माणका कामलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न काँग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउनु परेको ब्रिफिङ गरेको  सांसद सूर्य ढकालले जानकारी दिनुभयो । 

अध्यक्ष ओलीले मुलुकमा जबजव मुलुकभित्र र बाहिरका तत्त्वले  राष्ट्रिय सङ्कट गराउन थाल्दछ तब तब कांग्रेस र एमालेबीच मिलेर मुलुकलाई अगाडि बढाएको इतिहास रहेको भन्दै २०४६ जनआन्दोलनको स्मरण गर्नुभयो । 

मुलुकमा देखिएको आन्तरिक समस्यालाई सम्बोधन गर्न र राष्ट्रिय   स्वतन्त्रता आन्दोलनलाई बलियो बनाउन राष्ट्रिय सहमतिको सरकार बनाउने निष्कर्षमा पुगेको उहाँको भनाईे थियो । 

प्रचण्ड सरकारलाई समर्थन गरिरहेको वेला हामीहरूलाई खबर नै नगरी काँग्रेससँग सरकार बनाउने कुरा गरिरहेको हुनाले हामीले बाध्य भएर काँग्रेससँग सरकार बनाउने निष्कर्षमा  पुगेको अध्यक्ष ओलीले बैठकमा जानकारी दिनुभएको  भनाई  उद्धित गर्दै ढकालले चक्रपथलाई बताउनुभयो । “नयाँ गठबन्धन हाम्रो कारणले होइन प्रचण्डको अस्थिर चरित्रको कारणले अहिलेको नयाँ गठबन्धन बन्न थालेको हो” अध्यक्ष ओलीले भन्नुभयो, “सत्ता गठबन्धन रहेका दलसँग छलफल परामर्श नगरी एकलै हिँड्ने प्रवृत्तिको कारणले नयाँ समीकरण बनाउने ठाउँमा हामी पुग्यो ।”

दीर्घकालीन असर नगर्न आग्रह

एमालेको संसदीय दलको बैठकले  सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गरेको छ । 

प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परिसकेको प्रचण्ड नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गरेको बताउनुभयो । 

 “सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता लिइसके । प्रधानमन्त्री अल्पमतमा परिसक्नु भएको छ । तर पनि सरकारले अझै पनि दीर्घकालीन निर्णयहरू गरिरहेको छ” उहाँले भन्नुभयो, “त्यसैले हामीले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नका सचेत गराएको छौ ।”

उहाँले प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिएर राष्ट्रिय सरकारको प्रक्रियालाई मार्गप्रसस्त गर्न आह्वान समेत गर्नुभयो ।  

प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ । 

नेपाली काङ्ग्रेसले स्थिर सरकार निर्माण गर्न गरेको निर्णयको स्वागत गरेको छ । 

“हाम्रो पहिलो माग प्रधानमन्त्रीलाई राजीनामा रहेको छ । उहाँले तत्काल राजीनामा दिनु भएन भने विश्वासको मतको विपक्षमा मतदान गर्दछौ ।” प्रमुख सचेतक बर्तौलाले भन्नुभयो । 

एमाले र कांग्रेसबीच अध्यक्ष ओलीको नेतृत्वमा नयाँ गठबन्धन सरकार बनाउने सात बुँदे सहमति गरेका छन् । 

प्रमुख सचेतक वर्तौलाले संविधानको धारा ७६ (२) अनुसार नै नयाँ गठबन्धन एमाले र काँग्रेसको सरकार बन्ने ठोकुवा गर्नुभयो । “दुई ठुला पार्टी मिलेर राष्ट्रिय सरकार निर्माण गर्ने भनेर भनिसकेपछि त्यो आधारबाट संविधानको धारा ७६ (२) अनुसार नै सरकार बन्दछ” उहाँले भन्नुभयो, “गण्डकी प्रदेशको सरकार पनि संविधानको धारा ७६ (२) अनुसारको सरकार हो ।”

एमाले प्रतिपक्ष बेन्चमा 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा एमाले प्रतिपक्षको सिटमा बसेको छ। असार १७ गतेदेखि नेपाली कांग्रेससँग सत्ता गठबन्धन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको एमाले आइतबार बसेको प्रतिनिधि सभा प्रतिपक्षी दलको बेन्चमा बसेको हो । यस अघि सत्ता पक्षको बेन्चमा बस्ने गरेको थियो। एमाले प्रचण्ड नेतृत्वको गठबन्धनमा सबैभन्दा  ठुलो दल हो। 

यसअघि बसेको एमाले बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो । 

 

​​​​​​​

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ४ : १० बजे