दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

देश अप्ठ्यारोमा परेको बेला कांग्रेस-एमाले सधैँ एक ठाउँमा आउँछन्- योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस- एमाले एक ठाउँमा आउने गरेको बताउनुभएकाे छ ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै भट्टराईले विगतमा देश अप्ठ्यारोमा परेको बेलामा कांग्रेस-एमाले एक ठाउँमा आउने गरेको स्मरण गर्दै अहिले पनि देश कठिन अवस्थामा भएकोले कांग्रेस-एमाले एक ठाउँमा आएको बताउनुभएकाे हाे ।

देश आर्थिक रुपमा संकटमा रहेको, संविधानका केही विषयलाई सुधार गरेर अगाडी जानुपर्ने परिस्थिति बनेकोले कांग्रेस-एमालेबीच सहकार्य भएको स्पष्ट गर्नुभएकाे छ ।

उहाँले पुष्पकमल दाहाल प्रचण्डलाई अवसर दिन आफूहरू सरकारमा लो-प्रोफाइलमा बसेर सहयोग गरेको बताउँदै प्रधानमन्त्रीले त्यस सहयोगलाई दुरुपयोग गर्दै राष्ट्रिय सरकार बनाउन पहल सुरु गरेको आरोप लगाउनुभयाे ।

उहाँले देशभित्र आत्मविश्वास बढाउन, संकटग्रस्त अर्थतन्त्रलाई लयमा ल्याउनका लागि, बिदेसिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न र अन्तर्राष्ट्रिय स्तरमा नेपालको बारेमा विश्वास बढाउन कांग्रेस- एमाले मिलेर काम गर्ने बताउनुभयाे ।

उहाँले प्रधानमन्त्री प्रचण्ड घोर अल्पमतमा रहेको बताउँदै संवैधानिक सर्वोच्चता स्वीकार गरेर राजीनामा गर्न आग्रह गर्नुभएकाे छ ।

प्रधानमन्त्रीले विश्वास गुमाइसकेको अवस्थामा यसै संसदबाट राजीनामा गर्नु नै सही निर्णय हुने बताउँदै असार २८ गते विश्वासको मत लिनुको कारण के हो ? भन्दै प्रश्न गर्नुभएकाे  थियाे ।

सचिव भट्टराईले रास्वपालाई प्रधानमन्त्रीको ढुंगामा किन बसेको भन्दै एक पटक सोच्न आग्रह गर्नुभयाे ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १ : ३३ बजे