दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

शेखर अघि सारेर एमाले नेतृत्वको सरकार रोक्ने प्रयास विफल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाललाई  शनिवार अचानक कांग्रेस नेता शेखर कोइरालाको यादले सतायो। त्यसैले उहाँले कोइराला लाई फोन गर्नुभयो बालुवाटारमा भेटका लागि निम्ता दिनुभयो।  धेरै अघि सम्म शेखरलाई याद नगर्ने  प्रचण्डले आफू सत्ताबाट हट्न लागेको बेला भने उहाँको  याद गर्नुको अर्थ थियो – सास भए सम्म आस रहिरहन्छ। सकेसम्म अनेक प्रयास गरेर भए पनि सत्ता टिकाउने खेलमा लाग्ने । यही खेलो मेलोमा प्रधानमन्त्रीले सम्झनु भयो  कांग्रेस सभापति इतर  नेता कोइरालालाई । 

प्रधानमन्त्री प्रचण्डले  कांग्रेस नेता डा. शेखर कोइरालासँग शनिवार लामो भलाकुसारी गर्नुभयो। भलाकुसारीको  सार थियो – एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिने । प्रचण्डले संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बनाए काँग्रेसलाई फाइदा हुने भन्दै कोइरालालाई उक्साउने प्रयास गर्नुभएको थियो।

संविधानको धारा ७६ (३) मा संसदमा ठुलो दलको हैसियतमा सरकार बन्ने व्यवस्था रहेको छ । ’प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ,’ संविधानको धारा ७६(३)मा भनिएको छ।

७६ (२)मा कुनै दलको बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउने प्रावधान छ भने ७६ (४)मा उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिने प्रावधान छ। स्रोतका अनुसार एमालेसँग सत्ता सहकार्य गर्नु उचित नहुने भन्दै प्रधानमन्त्री दाहालले उपधारा ३ अनुसार कांग्रेस नेतृत्वमै सरकार बनाउने आफ्नो अभियानमा सहयोग गर्न कोइरालासँग आग्रह गर्नुभएको थियो ।

तर संविधानको धारा १०० अनुसार लिने विश्वासको मतमा ७६ ( ३) आकर्षित हुन नसक्ने भन्दै कोइरालाले अस्वीकार गरेको बताइएको छ। 

प्रधानमन्त्री प्रचण्डले आफू स्पष्ट अल्पमतमा परेपछि पनि राजीनामा नदिनु र विश्वासको मत लिन्छु भनेर  एक साताको भए पनि समय लम्ब्याउनु कांग्रेस र एमालेबीच बन्ने सरकारमा छिर्के लाउने प्रयास भएको  बुझिएको छ। 

प्रधानमन्त्री प्रचण्डले कोइराला प्रयोग गरेर ओली नेतृत्वमा बन्ने सरकारको गतिमा छिर्के हान्ने प्रयास समेत सफल नहुने कांग्रेस तथा एमालेका नेताहरु बताउँछन् ।  

 

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १२ : ५६ बजे