काठमाडौँ । फ्रान्समा आज आम निर्वाचनको दोस्रो र अन्तिम चरणको मतदान हुँदै छ । यस चुनावमा अति दक्षिणपन्थी पार्टीले जितको अपेक्षा गरिएको छ ।
पहिलो चरणमा अग्रता हासिल अग्रेको आधारमा मरिन ले पेन र जोर्डन बर्डेलाको चरम दक्षिणपन्थी पार्टी नेसनल र्याली (आरएन) ले सरकार बनाउने र नेशनल एसेम्बलीमा बहुमत ल्याउने अवसर पाएको छ ।
गत आइतबार भएको पहिलो चरणको संसदीय निर्वाचनमा नेशनल एसेम्बलीमा विजयी भएपछि सयौं प्रतिद्वन्द्वी उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका थिए । यसको उद्देश्य अन्य उम्मेदवारहरूलाई अति दक्षिणपन्थी पार्टीका उम्मेदवारहरूलाई पराजित गर्ने राम्रो मौका दिनु थियो ।
पहिलो चरणको अग्रता पछि, अध्यागमन विरोधी पार्टी नेशनल र्यालीका नेता मारिन ले पेनले भनिन्, 'म्याक्रोन समूह लगभग समाप्त भइसकेको छ ।'
नेशनल र्यालीका २८ वर्षीय नेता जोर्डन बर्डेलाले फ्रान्सेली जनताले मलाई भोट दिए भने म उनीहरूको प्रधानमन्त्री बन्न चाहन्छु भनेका थिए ।
फ्रान्सको ५७७ सिट भएको राष्ट्रिय सभामा पूर्ण बहुमतका लागि मारिन ले पेन र जोर्डन बर्डेलालाई २८९ सिट चाहिन्छ ।
युरोपेली संसदको चुनावमा राष्ट्रिय र्यालीको जितपछि राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक चुनावको घोषणा गरेका थिए ।
प्रकाशित मिति : २३ असार २०८१, आइतबार ११ : २७ बजे
प्रतिक्रिया