उदयपुर सिमेन्टका महाप्रबन्धक न्यौपानेले ४ महिनामै गरे १४ बर्षदेखि हुन नसकेको काम

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको १४ बर्षदेखि हुन नसकेको साधारणसभा सम्पन्न भएको छ । उदयपुर सिमेन्ट लिमिटेडका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको पहलमा १४ बर्षदेखि हुन नसकेको काम चार महिनामै सम्पन्न भएको हो । 

यही जेठ ३० गते उद्योगको २० औं देखि ३३ औं बार्षिक साधारणसभा एकसाथ सम्पन्न भएको छ । साधारणसभामा सर्वसाधारण समेतलाई साधारण सेयर जारी गर्ने सम्बन्धमा विशेष र महत्वपूर्ण प्रस्ताव उपर छलफल भएको छ । उद्योगले ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २०० रुपैयाँ बराबरको साधरण सेयर निष्काशन गर्ने सम्बन्धमा छलफलका लागि प्रस्ताव अगाडि बढाएको महाप्रबन्धक न्यौपानेले बताउनुभयो । 

उद्योगको नाममा रहेको १ अर्ब ७२ करोड ५० लाख रुपैयाँ सावाँ र १ अर्ब ६६ करोड ९ लाख २० हजार २०० रूपैयाँ व्याज गरी जम्मा रू. ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २०० रकमलाई साधारण सेयर कायम गरी नेपाल सरकारको साँवा तथा ब्याज रकम राफसाफ गर्न छलफलको लागि विशेष प्रस्ताव गर्न लागिएको महाप्रबन्धक न्यौपानेको भनाई छ ।

उद्योगको हालको अधिकृत पुँजी ४ अर्ब रूपैयाँबाट बृद्धि गरी १० अर्ब कायम गर्ने विशेष प्रस्ताव साधारणसभामा लागिएको छ । त्यस्तै सभाले २० औं देखि ३०औं आर्थिक बर्षसम्मको सञ्चालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आ.ब. २०६४ देखि २०७७ सम्म आर्थिक बर्षको असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको सन्दर्भ आर्थिक बर्षको नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्नेलगायतका विषयहरुलाई साधारणसभामा छलफलका  गरेको छ ।

महाप्रबन्धक न्यौपानेले आफ्नो कार्यकालमा संस्था सुधारका लागि आफुसँग भएका सवै उपायको प्रयोग गरि नाफामुखी बनाउने बताउनुभयो ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : ५१ बजे