साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बहुजन समाज पार्टीका नेता आर्मस्ट्रङको हत्या आरोपमा आठ जना पक्राउ

नयाँदिल्ली । तल्लो जातका भारतीयको अधिकारको पक्षमा वकालत गर्ने एक राजनीतिज्ञको हत्या गरेको आरोपमा भारतमा शनिबार आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बहुजन समाज पार्टी (बसपा) का तामिलनाडु प्रदेश प्रमुख के आर्मस्ट्रङको शुक्रबार राति दक्षिणी शहर चेन्नईस्थित उहाँको घर नजिकै धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

इन्डियन एक्सप्रेस पत्रिकाका अनुसार तामिलनाडु राज्यको राजधानी चेन्नईस्थित आर्मस्ट्रङको घर नजिकै साथी र समर्थकसँग गफ गरिरहेका बेला मोटरसाइकलमा आएका छ जनाको एक समूहले आक्रमण गरेको थियो । 

आक्रमणपछि उनीहरूलाई कसैले हस्तक्षेप गर्नुअघि नै ती व्यक्ति भागेको बताइएको छ ।

आर्मस्ट्रङका धेरै समर्थकहरू उहाँको हत्याको विरोध गर्न र न्यायको माग गर्दै शनिबार साँझपख सडकमा ओर्लिएका थिए ।

चेन्नईका वरिष्ठ प्रहरी अधिकारी असरा गर्गका अनुसार प्रारम्भिक अनुसन्धानपछि आठ जना संदिग्धसँग सोधपुछ भइरहेको छ ।

आर्मस्ट्रङको बहुजन समाज पार्टी (बसपा) का राष्ट्रिय प्रमुख मायावतीले उक्त आक्रमण ‘अत्यन्त निन्दनीय’ भएको बताउनुभएको छ । 

“सरकारले दोषीलाई कडा कानुनी सजाय दिनुपर्छ,” उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । 

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले आर्मस्ट्रङको हत्यालाई दुःखद् र निन्दनीय घटना भन्दै प्रहरीलाई अनुसन्धान छिटो टुङ्ग्याउन आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : ०९ बजे