सुनको मूल्यमा नयाँ कीर्तिमान

उपत्यकाका नदीमा जलसतह बढेपछि करिडोरमा प्रहरी गस्ती

काठमाडौँ । अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय सतर्कतामा छन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र  जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ ।” 

उहाँले वाग्मती, विष्णुमती, मनहरा, हनुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिनुभयो । तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो बेलामा घटना भइहाल्न सक्छन्, त्यसलाई ध्यानमा राखेर टोली तयारी अवस्थामा छन्, कतैबाट सूचना आउनेवित्तिकै परिचालन हुन्छन् ।” वर्षाका कारण आज देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । कतै डुबान, कतै बाढी त कतै पहिराले प्रभावित पारेर प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १ : २८ बजे